ठूला पूर्वाधार आयोजनामा अनावश्यक बहस उचित नहुने

ठूला पूर्वाधार आयोजनामा अनावश्यक बहस उचित नहुने

पुर्वतयारी देखि नै स्थानीयबासीलाई पर्याप्त सूचना दिन जोड


इन्जिनियर्स नेपाल |  साउन ५, २०७८,


engineersnepal.com

पूर्वाधार क्षेत्रका विज्ञ र राजनीतिज्ञले पूर्वाधार परियोजनामा अनावश्यक राजनीति गर्न नहुने बताएका छन् । महाकाली, गण्डक र अरुणलगायत ठूला पूर्वाधारमा घरेलु राजनीति र सार्वजनिक संवाद विषयक कार्यक्रममा उनीहरुले आर्थिक सम्वृद्धिका लागि ठूला पूर्वाधार विकास अपरिहार्य भएको बताउँदै यसमा अनावश्यक बहस गर्न नहुने बताएका हुन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले पोलिसी आन्ट्रपेनर्स इंक (पीइआई)सँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा पूर्वाधार विकास गर्दा पुर्वतयारीको क्रममा परियोजनाबारे जनतालाई बुझाउने र जानकारी दिने तथा अपनत्व बढाउनेतर्फ भने पर्याप्त काम हुनुपर्ने बताए । सो अवसरमा पूर्वअर्थमन्त्री डा.रामशरण महतले पूर्वाधार विकासलाई राजनीतिक रुपमा नहेरी राष्ट्रको हितलाई ध्यानमा राखेर आयोजना सञ्चालन गरिनुपर्नेमा जोड दिए । 


अरुण तेस्रो पञ्चायतकालमै अध्ययन भएको भई २०४८ मा सरकारले विश्व बैंक र एशियाली विकास बैंकबाट एक अर्ब रुपैयाँ अनुदान प्राप्त गरी सञ्चालन आउन लागेका भए पनि तत्कालीन प्रमुख प्रतिपक्षी दलले रोकेको उनको भनाई थियो । सार्वजनिक निकायबाट लगानी असम्भव भएमा निजी क्षेत्र र वैदेशिक लगानी ल्याउनुपर्ने बताउँदै प्रतिष्पर्धात्मक रुपमा परियोजना दिँदा नेपालले ठूलो फाइदा लिन सक्ने बताए । 


ADVERTISEMENT

 

अरुण तेस्रो र माथिल्लो कर्णालीमा सरकारले धेरै निःशुल्क ऊर्जा र सेयर पाएको उल्लेख गर्दै उनले बुढीगण्डकीलाई विना प्रतिष्पर्धा दिन खोजिनु गलत भएको बताए । नेपाल दक्षिण एशियाकै स्वच्छ ऊर्जाका लागि प्रमुख स्थान भएकोले नेपालको ऊर्जा विकासलाई विशेष महत्व दिनुपर्ने बताए । राष्ट्रिय योजना आयोगकी पुर्वसदस्य डा. बिमला राई पौडेलले पूर्वाधारका आयोजनामा प्रतिष्पर्धामा ठेक्का भनिए पनि स्वस्थ रुपमा काम हुन नसकेको बताइन् । 


“विद्यार्थीकालमा म पनि अरुण तेस्रोका विरुद्ध नारा लगाएर हिँडेँ, अहिले एमसिसीका विरुद्ध त्यस्तै भइरहेको छ, मलाई पनि एमसिसी पास गरिस् भने मार्छु भन्ने सन्देशसमेत प्राप्त गरेँ, यस्ता विषयमा सरकारले सार्वजनिक रुपमा सही जानकारी गराउनुपर्छ”–उनले भनिन् । 

सत्तामा हुँदा र सत्ता बाहिर हुँदा राजनीतिक नेताहरुमा एउटै परियोजनाबारे पक्ष र विपक्ष हुने प्रवृत्ति विकासका लागि ठूलो घातक भएको उनले टिप्पणी थियो ।  लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्तले पूर्वाधार आयोजनामा निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताए । 

निजी क्षेत्रमार्फत र प्रतिष्पर्धात्मक रुपमा परियोजना अघि बढाउँदा यसले लगानी आकर्षण गर्न सहयोग पुग्ने उनले बताए । ठूला परियोजना अघि बढाउन सबै सरकारी निकायबीचको समन्वय महत्वपूर्ण हुने उनको तर्क थियो । 

ठूला परियोजनाहरुबारे पुर्व तयारी देखिनै स्थानीयबासी, सर्वसाधारण, नीति निर्माता, राजनीतिक लगायत सबै सरोकारवालाहरुलाई पर्याप्त मात्रामा सही सूचना दिनुपर्ने बताउँदै परियोजना निर्माण गर्दा त्यसबाट अर्थतन्त्र हुने फाइदा, रोजगारी सिर्जना, प्रतिफल लगायतमा विशेष ध्यान दिनुपर्ने बताए ।  

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) का पुर्व उपाध्यक्ष कुमार पाण्डेले विदेशी लगानी ल्याउने, नल्याउने लगायतका विषयमा सरकारमै अन्योलता रहेको बताए । उनले पूर्वाधार निर्माणलाई वार्गेनिङ गर्ने थलोको रुपमा विकास गर्न नहुने बताए । ठूला पूर्वाधार आयोजनाप्रति नेपालमा नकारात्मक धारणा बढी रहेको बताउँदै विकास निर्माण पूर्ण रुपमा प्राविधिक विषयक भएकोले यसलाई राजनीतिभन्दा पनि आर्थिक र सामाजिक फाइदाको दृष्टिकोणले हेर्नुपर्ने उनले बताए । 

सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै पूर्व सहसचिव एवं पूर्वाधारविद् कमल पाण्डेले ठूला परियोजना अघि बढाउँदा उच्चस्तरको नेगोशेसन क्षमता, निजी क्षेत्रको भूमिका, राजनीतिक प्रतिवद्धता, स्रोतको उपयोगितामा समावेशीता, अनुगमन प्रणाली लगायत महत्वपूर्ण हुने बताए ।



Your Comments