रेल खरिदको १० महिनामा आज जनकपुर–जयनगर रेलवे ट्रयाकको गति परीक्षण हुँदै

रेल खरिदको १० महिनामा आज जनकपुर–जयनगर रेलवे ट्रयाकको गति परीक्षण हुँदै


इन्जिनियर्स नेपाल |  साउन ३, २०७८,


engineersnepal.com

नेपालले रेल खरिद गरेको १० महिनामा जनकपुर–जयनगर रेलको आज रेलवे ट्रयाकको गति परीक्षण गर्दैछ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्रयाकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम आज हुनेछ । उनले भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्रयाक स्पिड’ परीक्षण गरिने जानकारी दिए ।


ADVERTISEMENT

उनले भने, “ट्र्याक स्पिड परीक्षण रेल सेवा सञ्चालन गर्नुपूर्वको महत्वपूर्ण प्रक्रिया हो । स्पिड परीक्षण गर्दा रेलको स्पिड १२० किमी प्रतिघण्टा हुने भएकाले रेल्वे ट्र्याकमा सुरक्षा महत्वपूर्ण हुन्छ ।”

महाप्रबन्धक भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आज रेल्वे ट्र्याक वरपरका आम नागरिकलाई ट्र्याकमा मान्छे, गाई, भैँसी चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछाड्न र ट्र्याकबाट दूरी कायम गरिदिन अनुरोध गरेका छन् ।
परीक्षणका क्रममा ट्र्याक तथा स्टेशनहरुमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइनेछ ।

उनले भने, “परीक्षणका क्रममा रेल जयनगरबाट जनकपुर आउँदाजाँदा रेल्वे ट्र्याकमा कुनै समस्या नआएको अवस्थामा उक्त भारतीय रेल्वे कम्पनीले जनकपुर–जयनगर रेल्वे ट्रयाक रेल सेवा सञ्चालनका लागि उपयुक्त र सुरक्षित रहेको भन्दै नेपाल रेल्वे कम्पनी लिमिटेडलाई प्रमाणपत्र हस्तान्तरण गर्नेछ ।”

परीक्षणका विषयमा सूचना जारी भइसकेको र अवज्ञा गरी कुनै दुर्घटना भएमा व्यक्ति स्वयं जिम्मेवार हुने र कानूनअनुसार कारवाहीसमेत गरिने महाप्रबन्धक भट्टराईले बताए ।

सरकारले गत असोज २ गते ८४ करोड ६५ लाख रुपैयाँ लगानी भारतसँग रेल खरिद गरेको थियो । कोरोना, जनशक्ति व्यवस्थापन नहुँदा रेल ल्याएको लामो अवधिसम्म पनि सञ्चालन हुन सकेका थिएनन् । आजको परिक्षण सञ्चालनपछि उक्त रुटमा नियमित रेल चल्ने अपेक्षा गरिएको छ ।



Your Comments