नेपालका सुरुङमार्ग: नागढुंगाको निर्माण प्रगति उत्साहजनक, नेपाली जनशक्ति पनि तयार

नेपालका सुरुङमार्ग: नागढुंगाको निर्माण प्रगति उत्साहजनक, नेपाली जनशक्ति पनि तयार


इन्जिनियर्स नेपाल |  असार २७, २०७८,


engineersnepal.com

मुलुकमा कोभिड–१९ संक्रमण जोखिम बढेसँगै दुईपटक लकडाउन हुुँदा कतिपय राष्ट्रिय गौरवका आयोजना पनि थला परिरहेका बेला नागढुंगा सुरुङमार्ग निर्माण प्रगति भने उत्साहजनक देखिएको छ ।

कोरोना महामारीका कारण देशभर नै बन्दाबन्दी रहेको अवस्थामा जोखिम न्यूनीकरणका हरसम्भव उपाय अवलम्बन गरी निर्माणलाई निरन्तरता दिइएको छ ।अत्याधुनिक उच्च प्रविधिमार्फत आयोजनाले कामलाई तीव्रता प्रदान गरेसँगै कठिन समयमा पनि उपलब्धि हासिल गर्न सम्भव भएको हो ।


ADVERTISEMENT

निर्माण कार्यलाई तीव्ररूपमा अघि बढाउने सन्दर्भमा केही विदेशी तथा ५० नेपाली इञ्जीनियरसहित ६०० भन्दा बढी मजदुरको अहोरात्र परिचालनपछि हाल आयोजनाको समग्र भौतिक १५ दशमलव ९ र आर्थिक प्रगति २५ दशमलव ५५ पुगेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए । 

काठमाडौँको बलम्बुस्थित तोतीपाखाबाट शुरु भई धादिङको सिस्नेरीखोलामा पुगेर अन्त्य हुने मूल सुरुङ २५८ मिटर र सहायक सुरुङको प्रगति ४९९ मिटर पुगिसकेको छ । लकडाउनका कारण लक्ष्यमा पुग्न भएको ढिलाइ दुई महिनाभित्रै सम्बोधन हुने तथा विगतमा ६ मिटर खनिँदै आएकामा अहिले दुई सिफ्टमा कर्मचारी खटाएर दैनिक १२ मिटरसम्म सुरुङ अघि बढेको आयोजनाले संसदीय समितिलाई जानकारी गराएको छ ।

जग्गाको मुआब्जा रु. ६ अर्बसहित करिब रु. २२ अर्ब लगानी अनुमान गरिएको छ । २ दशमलव ६९ किलोमिटर लामो नागढुंगा सुरुङमार्ग वि.सं. २०८० वैशाख १३ (सन् २०२३ अप्रिल २६) अघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

कोरोना जोखिमलाई ध्यान दिँदै आयोजना परिसरमै ३२ शय्याको आइसोलेशन केन्द्र पनि बनाइएको छ । प्राविधिक तथा मजदुर गरी यसबीचमा आयोजनामा कार्यरत ८६ जनामा कोभिड–१९ देखिएपछि केही दिन काम प्रभावित भएको थियो ।

आयोजनाको शिलान्याससँगै राज्यले नेपाल सुरुङमार्गको युगमा प्रवेशको घोषणा गरेको सन्दर्भमा उक्त निर्माणको सफलताले आधुनिक सुरुङमार्ग बनाउने दिशामा स्वदेशी प्राविधिकलाई ठूलो हौसला प्रदान गर्ने छ । 

अहिले नै मुलुकमा सम्भावना देखिएका १७ सुरुङमार्गको पहिचान गरी भौगर्भिक अध्ययन गर्ने कार्य क्रमशः अघि बढिसकेको छ । हुन त आजभन्दा १०० वर्षअघि चन्द्रशम्शेर जबराकै पालामा थम्सन युनिभर्सिटीमा अध्ययन गरेर फर्किएका इञ्जीनियर डिल्लीजंग थापाले हेटौँडा नजिक चुरियामा निर्माण गरेको ७६१ फिट लम्बाइको सुरुङलाई नेपालको ऐतिहासिक सुरुङ मानिन्छ । 

दक्षिण एशियामै सुरुङ नभएका बेला बेलायती ढाँचामा निर्माण गरिएको त्यो नेपालको पहिलो सडक यातायातका लागि बनाइएको सुरुङ १० फिट अग्लो थियो । 
यद्यपि मुलुकमा सडकबाहेक खानेपानी, सिँचाइ र विद्युत् आयोजना समेतका लागि करिब २७५ किमी सुरुङ निर्माण भइसकेको छ तर सवारी साधन गुड्ने अत्याधुनिक सुरुङमार्गका रूपमा नागढुंगा रहने छ । 

नौबिसे–थानकोट सडकखण्डको पिपला घुम्ती उकाल्न र त्यहाँ सडक चौडा गर्न नमिल्ने धरातलीय अवस्थाले राज्यलाई नागढुंगा सुरुङ निर्माणका लागि बाध्य बनाएको हो । गह्राँै भारवहन लिएर आउने ट्रकलगायतका सवारी साधन त्यस स्थानमा बिग्रिएर अघि बढ्न नसक्दा अत्याधिक जाम भई हजारौँ यात्रुले दुःखकष्ट बेहोर्नु परिरहेको पृष्ठभूमिसँग नागढुङगा सुरुङ निर्माण सम्बन्ध गाँसिएको छ । 


सवारी जामबाट मुक्ति पाइने र हैरानी छल्ने विकल्पको सोचले अघि बढाइएको सुरुङ सञ्चालनमा आएसँगै यात्रामा समयका हिसाबले ४० मिनेट बचत र दूरीका हिसाबले साढे चार किमी कम हुनेछ ।

हिले जामले आक्रान्त भएर घण्टौँ कुर्नुपर्ने सबै समस्या हट्नेछ । त्यस सडकखण्डमा दैनिक गुड्ने १४÷१५ हजार सवारी साधनको ४० मिनेटका दरले समय बचत हुनेछ । मानिसलाई बचत भएको समयको मूल्य सदुपयोग गर्ने ठूलो अवसर प्रदान हुने छ । त्यहाँ भएको सवारीचापकै कारण विदेश यात्रामा रहने कयौँको हवाई उडान छुट्ने गरेको मात्र नभई एम्बुलेन्समा आएका गम्भीर प्रकृतिका बिरामीले सडकमै देहत्याग गर्नुपरेका घटना धेरै छन् ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने, ‘सुरुङ निर्माणपछि बिरामी बोकेका एम्बुलेन्स रोकिने छैनन् । बिरामीले समयमै अस्पताल पुगी उपचार पाउने र सही उपचार पाएर बच्ने सम्भावना प्रबल रहन्छ । मानिसको ज्यान पैसासँग तुलना हुन सक्दैन ।’

सुरुङ निर्माणपछि समय, तेल, पार्टपुर्जाका आयुका कारण यातायात साधन सञ्चालन खर्चको कमी मात्र होइन दुर्घटना जोखिम सम्भावना पनि न्यून हुनेछ । 
साढे नौ मिटर चौडाइको दुई लेन रहने सुरुङको भित्री भाग यातायातका साधन बिग्रिएमा त्यसको दायाँ–बायाँबाट गाडी चलाउन मिल्ने छ । 

सुरुङभित्र १५ वटा पङ्खा जडान गरिनेछ । उक्त सुरुङको सफल निर्माणसँगै प्रविधि हस्तान्तरण र सीपयुक्त जनशक्ति तयार गर्न सिकाइका हिसाबले पनि कोसेढुङ्गा सावित हुने महानिर्देशक थापा बताउछन् । अप्रत्यक्षरूपमा नागढुंगा सुरुङ निर्माणका क्रममा रोडा, ढुंंगा, गिट्टी, सिमेन्ट र फलाम उपलब्ध गराउने व्यवसायीलाई काम मिलेको छ । रासस
 



Your Comments