समुन्द्रटार–त्रिशुली बी हब १३२ केभी प्रसारण लाइन सवस्टेशन उद्घाटन

समुन्द्रटार–त्रिशुली बी हब १३२ केभी प्रसारण लाइन सवस्टेशन उद्घाटन

६०० मेवा बढी विद्युत सिधै काठमाडौं ल्याउन सकिन्छ : शाक्य


इन्जिनियर्स नेपाल |  असार १९, २०७८,


engineersnepal.com

नुवाकोटमा निर्मित समुन्द्रटार त्रिशुली बी हब १३२ केभी प्रसारण लाइन तथा सव स्टेशनको शनिबार भर्चुअल उद्घाटन गरिएको छ । कुल २६ किलोमिटर लामो १३२ के.भी. डबल सर्किटको प्रसारण लाइन प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटरबाट उद्घाटन गरेका हुन् ।

नुवाकोटको समुन्द्रटार त्रिशुली बी हब १३२ केभी प्रसारण लाइन दुप्चेश्वर गाउँपालिकामा रहेको समुन्द्रटार सवस्टेशनदेखि किस्पाङ गाउँंपालिकामा रहेको त्रिशुली ३ बी हब सवस्टेशन कुल ८४ वटा टावर खडा गरी स्थापना गरिएको छ । 


ADVERTISEMENT

डबल सर्किटको यो प्रसारण लाईनबाट समुन्द्रटार सवस्टेशनलाई काठमाडौं उपत्यकाको मातातिर्थ सवस्टेशनमा मात्र नभई अन्य सवस्टेशनसँग समेत जोड्ने योजना रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

उनका अनुसार प्रसारण लाइबाट रसुवा र नुवाकोटमा उत्पादन भई त्रिशुली ३ बी हब सवस्टेशनमा प्राप्त हुने ६०० मेगावाट (मेवा) भन्दा बढी विद्युतलाई सिधै काठमाडौं ल्याउन ठूलो मद्दत पुग्ने छ । 

यसैगरी उद्घाटनको अवसरमा ओलीले आफ्नै उत्पादनबाट घरेलु विद्युत्को माग धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको बताए । ‘पहिले तालमेल नमिलेर आयोजना तयार भइसक्दा प्रसारण लाइन नहुने  लाइन तयार हुँदा वितरण गर्ने ठाउँमा सव लाइनहरु नहुने जस्ता कमजोरी थिए,’ उनले भने, ‘अब हामीले त्यस्तो नहोस् भन्नेमा ध्यान दिएका छौं ।’ 

नेपालले करिब ११० वर्षअघि उर्जा उत्पादन सुरु गर्दै दक्षिण एसियामै दोस्रो जलविद्युत उत्पादक देश बने पनि यस अन्तरालमा गर्नुपर्ने विकास भने नगन्य रहेको पनि प्रधानन्त्रीले उल्लेख गरे ।

पछिल्लो समय कुलेखानी जलविद्युत आयोजनाले देखाएको बाटो अनुरुप हालका वर्षहरुमा जलाशय युक्त आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको पनि जनाए ।

हाम्रो बहुआयामिक विकासको सन्दर्भमा उद्घाटित प्रसारण लाइन नयाँ उचाई भएको धारणा उनको थियो । यस्ता आयोजना नेपाली जनतामा आफ्नै ठाउँमा विकास गर्न सकिन्छ भन्ने भावना विकास हुनु र विदेश जाने लहरमा कमी आउनु खुसीको कुरा भएको पनि उनको दाबी छ ।



Your Comments