स्वास्थ्य भवन निर्माणमा चरम लापरबाही, सम्झौता सकिएको ६ वर्षसम्म पनि बनेनन्

स्वास्थ्य भवन निर्माणमा चरम लापरबाही, सम्झौता सकिएको ६ वर्षसम्म पनि बनेनन्

५ जिल्लाका स्वास्थ्य भवन अलपत्र, ६ निर्माण कम्पनीसँग ठेक्का तोड्ने तयारी


इन्जिनियर्स नेपाल |  असार १४, २०७८,


engineersnepal.com

स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर र आयुर्वेद औषधालय बनाउने ठेक्का जिल्ला निर्माण कम्पनीले ती निर्माणाधिन भवनहरु अलपत्र छाडेका छन् । कतिपय स्वास्थ्य चौकी निर्माण सम्झौताअवधि सकिएको ६ वर्षसम्ममा पनि बनेका छैनन् ।

सम्झौता अवधिमा पनि भवन निर्माण सम्पन्न नगरेपछि अहिले सम्बन्धीत विभिन्न आयोजना इकाइहरुले सम्बन्धीत निर्माण कम्पनीहरुलाई स्पष्टीकरणका लागि ७ देखि १५ दिनको समय दिएकोे र यो अवधिमा स्पष्टीकरण नदिए ठेक्का तोड्ने सम्मको चेतावनी जारी गर्न थालेका छन् ।


ADVERTISEMENT

यस्ता विभिन्न ५ जिल्लामा बन्दै गरेका स्वास्थ्य भवनहरु समयमै निर्माण सम्पन्न नहुँदा अलपत्र परेका छन् । पाल्पा जिल्लामा एकिकृत भवन निर्माणसहित ४ वटा, स्वास्थ्य चौकी, पर्वतको एउटा, धनुषा, सर्लाही र महोत्तरी जिल्लामा बनाउने स्वास्थ्य चौकी तथा आयुर्वेद औषधालय, बर्थिङ सेन्टर बनाउने जिम्मा पाएका निर्माण कम्पनीले सम्झौता अवधिमा काम सम्पन्न गर्न सकेका छैनन् । 

यी संरचना निर्माणका लागि विभिन्न ६ वटा कम्पनी र शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतका विभिन्न इकाईहरुबीच सम्झौता भएको थियो । सोही अनुसार निर्माण नभएपछि र निर्माण कम्पनीले निर्माणमा चासो नदिएपछि सम्बन्धीत कार्यालयहरुले अहिले ७ दिने स्पष्टिकर माग गरी ठेक्का तोड्ने चेतावनी दिएका हुन् ।

विभागअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइ, रुपन्देहीले पाल्ला जिल्लामा बन्ने ४ वटा स्वास्थ्य चौकी भवन र एउटा एकिकृत भवन (मालपोत, घरेलु, नापी, तथ्यांक) निर्माण गर्ने कम्पनीलाई १५ दिने स्पष्टीकरण माग गर्दै चित्तबुझ्दो कारण नदिए ठेक्का तोड्ने चेतावनी दिएको छ ।

उक्त इकाइले असार ११ गते सूचना जारी गर्दै १५ दिनभित्र मुनासिव कारणसहित आयोजना कार्यालयमा उपस्थित हुन र निर्माण कार्य तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ । अन्यथा प्रकाशित सूचनालाई अन्तीम मानी ठेक्का सम्झौता रद्द गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ । 

उक्त आयोजना इकाइले ४ वटा स्वास्थ्य चौकी भवन निर्माण गर्न एउटै निर्माण कम्पनी भण्डार थोतुङ÷डि.एन.डी नेभी तान्सेनसँग २०७४ र २०७५ मा ठेक्का सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार यी भवनहरु सम्पन्न गर्ने म्याद सम्पन्न भइसकेको छ । 

पाल्ला जिल्लाका क्रमशः हुमिन, रहवास, दर्लामडाँडा, यम्घा स्वास्थ्य चौकी २०७७ चैत २ गतेसम्ममा सम्पन्न गर्नुपर्ने भए पनि सो कम्पनीले निर्माणाधिन भवन अलपत्र छाडेका छन् ।

यसैगरी एकिकृत भवन निर्माणको ठेक्का पाएको काठमाडौंको रबीना कन्स्ट्रक्सन प्रा.लि. स्वयम्भुले पनि सम्झौता अवधिमा निर्माण सम्पन्न गरेको छैन । उक्त भवन २०७७ मंसिर ११ मै सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म उक्त कम्पनीले भवन निर्माण गर्न सकेको छैन ।

यसैगरी पर्वतमा स्वास्थ्य चौकी बनाउने ठेक्का पाएको काठमाडौंको गजुरमुखी निर्माण कम्पनीलाई पनि सघन शहरी तथा भवन निर्माण आययोजनाले सम्पर्कमा बोलाएको छ ।

हालसम्म पनि भवन निर्माण कार्य सम्पन्न नभएको र निर्माण कम्पनीका प्रतिनिधिसँग पनि मोवाइल तथा पत्रमार्फत सम्पर्क हुन नसकेको भन्दै आयोजनाले सार्वजनिक सूचना नै निकाली सम्पर्कमा आउन भनेको छ । 

यसैगरी धनुषाको बटेश्वर आयुर्वेद औषधालय पनि निर्माण सम्झौता अवधि समाप्त भएको ६ वर्षसम्म पनि सम्पन्न नभएपछि विभागअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले ठेक्का तोड्ने तयारी गरेको छ । 

उक्त भवन २०७२ असार १३ गतेसम्ममा सम्पन्न गर्ने गरी इकाइ र निर्माण कम्पनी कर्णाली विल्डर्सबीच २०६९ असोजमा सम्झौता भएको थियो । उक्त कम्पनीले हालसम्म पनि सो भवन निर्माण गर्न सकेको छैन । 

यस्तै बग्दह बर्थिङ सेन्टर निर्माणको जिम्मा लिएको सुशील निर्माण सेवाले पनि २०७३ कात्तिकमा सम्पन्न गर्नुपर्ने भवन निर्माण गरिसकेको छैन भने महोत्तरीको विजलपुरा स्वास्थ्य चौकी पनि २०७७ साउनमा सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन । 

शंकरमालि यु.के.एन. जेभी काठमाडौंको कम्पनीले उक्त भवन बनाउने ठेक्का २०६७ साउनमा पाएको थियो । धनुषा इकाइले स्वास्थ्य भवन निर्माण सम्पन्न गर्न कम्पनीले कुनै चासो नदिएको भन्दै ७ दिनभित्र स्पष्टीकरण दिन र निर्माण पनि सम्पन्न गर्न निर्देशन दिएको छ, भने निर्माण सम्पन्न नभए ठेक्का तोड्ने पनि जनाएको छ ।



Your Comments