पुनर्निर्माणमा सम्वद्ध ३ हजार प्राविधिकले सिंहदरबार घेराऊ गर्ने

पुनर्निर्माणमा सम्वद्ध ३ हजार प्राविधिकले सिंहदरबार घेराऊ गर्ने


इन्जिनियर्स नेपाल |  असार १०, २०७८,


engineersnepal.com

राष्ट्रिय पुननिर्माण प्राधिकरणअन्तर्गत रहेर पुनर्निर्माणमा कार्यरत ३ हजारभन्दा बढी प्राविधिकहरुले शुक्रबार सिंहदरबार घेराऊ गर्ने भएका छन् । उनीहरुले प्लेकार्ड र ब्यानरसहित सिंहदरबार घेराऊ गरी संयुक्त रुपमा राजीनामा बुझाउने जानकारी दिएका हुन् । 

शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरी राष्ट्रिय पुननिर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले ३ हजार बढी प्राविधिकहरुले सिंहदरबार घेराऊ गरी राजीनामा बुझाउने जानकारी दिएको हो । 


ADVERTISEMENT

समितिका अध्यक्ष अविनाश अमरले सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुबिधाहरुबाट पूर्ण बञ्चित गराइएको भन्दै राजीनामा दिन वाध्य भएको बताए ।
उनले भने, ‘हाम्रो ११ असारबाट राष्ट्रिय पुननिर्माण प्राधिकरणसँग सम्बन्ध विच्छेद हुन्छ र आन्दोलनबाट माग पूरा गराउनका लागि पछि हट्दैनौं ।’

समितिले आन्दोलनका विभिन्न कार्यक्रम समेत घोषणा गरेको छ । जसअनुसार भोलि शुक्रवार राजीनामा दिने कार्यक्रम रहेको छ । ३२ जिल्ला अन्तर्गतका सम्पुर्ण प्राविधिकहरुको राजिनामा केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा राजीनामा दिने भएका हुन् । 

अध्यक्ष अमरले यसअघि ४ हजार प्राविधिकहरुले एकमुस्ट राजिनामा उद्घोष गरेपछि मात्र सम्पुर्ण माग पुरा भएको स्मरण गर्दै फेरी पनि आन्दोलनमा जान प्राधिकरणले बाध्य बनाएको बताए । ‘नेपालको प्राविधिक इतिहासकै सबैभन्दा ठुलो सफल आन्दोलन गरिसकेको समुहलाई पुनः आन्दोलनमा जान प्राधिकरणले बाध्य बनाएको छ,’ उनले भने ।

कार्यक्रममा महामारीको समयमा प्राविधिकहरुलाई पुगेको क्षतिको विवरण र क्षतिपुर्तिको सरकारसँग माग गरिएको छ । नेपाल एशोसियसन बाग्मती प्रदेशका सभापति नन्द बन्जाडेले पुनर्निमाण महाअभियानलाई सकाउनु पुर्व नै बेरोजगार बनाउने षड्यन्त्रको भत्र्सना गर्दै हामी बाध्य भएर आन्दोलन गर्न परेको गुनासो गरे ।

उनले असार ११ गते ब्यानर र प्लेकार्ड सहित ३ हजार बढीको संख्यामा सिंहदरबार घेराउन गर्ने र यसको औपचारिक जानकारी महानगरीय प्रहरी वृत सिंहदरवारलाई ३ दिन अघि नै दिएको बताए । 

प्रोगेसिभ इन्जिनियन एशोसियन नेपालका सचिव सन्जिब रोक्काले समितिले २०७२ साल बैशाख १२ गतेको महाविनाशकारी भुकम्प र त्यसपश्चातको पराकम्पनले देश र देशवासी संकट परेको बेला सरकारको आह्वानमा प्राधिकरण अन्तर्गत रही नेपालको पुननिर्माणलाई अगाडी बढाएको बताए । 

उनले देश र जनताका हितका लागि इन्जिनियरिङ जनशक्तिको सिप र दक्षता खेर जान नदिन र विदेसिन बाध्य नपार्न उचित व्यवस्थापन गर्न सरकारलाई दबाब दिनुपर्ने उल्लेख गरे । 



Your Comments