हेटौडामा इन्जिनियरले बनाए स्वाब संकलन गर्ने बुथ

हेटौडामा इन्जिनियरले बनाए स्वाब संकलन गर्ने बुथ


इन्जिनियर्स नेपाल |  बैशाख २, २०७७, मकवानपुर


#
engineersnepal.com

कोरोना परीक्षणका लागि स्वाब संकलन सहज र सुरक्षित बनाउन इन्जिनियरहरूले ‘टेस्ट बुथ’ निर्माण गरेका छन् । उक्त बुथ हेटौंडा–४ श्रमिक माविस्थित आइसोलेसन केन्द्रमा राखिएको छ ।

नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्वमहासचिव उमेश थानीको सहयोगमा इन्जिनियरहरू अनिल बानियाँ, प्रह्लाद उप्रेती र विक्रम खतिवडाले बुथ बनाएका हुन्।


ADVERTISEMENT

हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठसँगको सल्लाहमा तयार पारिएको बुथ उनीहरूले अस्पताललाई नै हस्तान्तरण गरेका छन्।

राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंले उपलब्ध गराएको डिजाइनमा बुथ बनाइएको टोलीले जनाएको छ।


‘हामीले चार दिन लगाएर बनाएका हौं। हेटौंडामा आवश्यक सामग्री नपाउँदा निर्माणमा केही ढिला भयो’, इन्जिनियर खतिवडाले भने, ‘पछिल्लो समय पीपीईको गुणस्तरमा प्रश्न उठिरहँदा स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राखेर टेस्ट बुथ बनाएका हौं।’ उनका अनुसार यस्तै बुथ दक्षिण कोरियामा पनि प्रयोग भइरहेको छ। 

बुथ निर्माणमा ९० हजार रुपैयाँ खर्च भएको र उक्त रकम साथीभाइबाटै उठाएको खतिवडाले बताए।

उनका अनुसार हावा आउजाउ गराउन फ्यानसमेत राखिएको बुथ पूर्णरूपमा वैज्ञानिक छ। रातको समयमा काम गर्न बत्ती जडान गरिएको छ। ‘बाहिरको हावासमेत नछिर्ने प्रमाणित गरेर मात्र प्रयोगमा ल्याएका हौं’, उनले भने।

हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले बुथको गुणस्तर राम्रो भएको भन्दै स्थानीय युवाले यसखाले सहयोग गरेकोमा खुसी व्यक्त गरे।

टेस्ट बुथले कोरोना संक्रमणको शंका लागेकाहरूको स्वाब संकलन र परीक्षणमा सहयोग पुग्ने हेटौंडा अस्पतालका चिकित्सक डा। राजु सेढाईंले बताए। आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले टेस्ट बुथबाट स्वाब संकलन गर्ने काम सुरु भइसकेको जानकारी दिए।

सुवास विडारीले लेखेको यो समाचार ईकान्तिपुरबाट साभार गरिएको हो ।



Your Comments