विदेशमा अध्ययन पुरा गरेर आएकालाई इन्जिनियरिङ परिषद्ले लाइसेन्स नदिएपछि...

विदेशमा अध्ययन पुरा गरेर आएकालाई इन्जिनियरिङ परिषद्ले लाइसेन्स नदिएपछि...

क्रेडिट आवर पुर्याउन थापाथली क्याम्पसमा विद्यार्थीको लर्को


इन्जिनियर्स नेपाल |  माघ २१, २०७६, काठमाडौं


#
engineersnepal.com

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) मा पुग्दा शिक्षा विभाग प्रमुख विदेशमा इन्जिनियरिङ शिक्षा पढेर आएका तर 'क्रेडिट आवर' नपगेका कारण लाइसेन्स लिनबाट बञ्चित विद्यार्थीहरुको फाइल पल्टाइरहेकी थिइन् । नेपालको शिक्षा प्रणाली र विदेशको नमिलेका कारण विदेशमा अध्ययन गरेका विद्यार्थीलाई नेपाल इन्जिनियरिङ परिषद्ले लाइसेन्स नदिएपछि लामो समयदेखि यो विषय विवादित बन्दै आइरहेको थियो ।

विद्यार्थीहरुले विदेशमा पास भएर आएपछि नेपालमा लाइसेन्स पाउनुपर्ने माग गर्दै अदालतमा मुद्धासमेत हालेका थिए । तर, अदालतले परिषद्को ऐनमा व्यवस्था भएअनुरुप विद्यार्थीले 'क्रेडिट आवर' पुर्याउनुपर्ने विषय जायज रहेको फैसला गर्यो ।


ADVERTISEMENT

साथै, यस विषयमा समाधानको बाटो खोज्नसमेत सम्बन्धित पक्षलाई सचेत बनायो । त्यसपछि आईओईको समन्वयममा क्रेडिट हावर नपुगेका विद्यार्थीका लागि नेपालमै अपुग विषयको क्रेडिट हावरका लागि पढाउने व्यवस्था भयो । जसअनुरुप हाल थापाथली क्याम्पसमा विभिन्न देशबाट पढाई सकेर आएका विद्यार्थीले 'क्रेडिट आवर'का लागि पुनः अध्ययन गरिरहेका छन् ।

तर, विदेशमा सिभिल इन्जिनियरिङको पढाई पुरा गरेर आएका सुरेश शाह आफूहरुमाथि अन्याय भएको बताउँछन् । पढाई पुरा गरेर आइसकेपछि पनि फेरि कक्षा कोठामै बसेर पढ्नुपर्ने व्यवस्था गmत रहेको उनको भनाई छ । ‘बरु यो समस्याको हल गर्नका लागि अन्य कुनै उपाय अपनाएको भए हुने । तीन वर्षअघि पढेको विषयलाई फेरि रिकभर गर्न गाह्रो हुन्छ ।

दुई–चार दिन पढेको भरमा परीक्षा दिँदा फेल भइयो भने हाम्रो यतिका वर्षको मेहनत सबै खेर जाने भयो’ उनी भन्छन् ।

किन हुन थाल्यो पढाई ?

हालै यरोपियन युनियनले इन्जिनियरिङको स्नातक कार्यक्रमलाई तीन वर्षमा झारेको छ ।। नेपाल इन्जिनियरिङ परिषद्को ऐन २०५५ र यसको नियमावली २०५७ मा कस्ता व्यक्ति इन्जिनियर हुन पाउने भन्ने स्पष्ट लेखिएको छ । जहाँ उल्लेख छ ‘नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा चार वर्षको स्नातक गरेको हुनुपर्ने छ र उसले प्राप्त गरेको उपाधिलाई परिषद्समक्ष पेश गर्नेछ ।

त्यो उपाधिमाथि छानबिन भई कारबाही हुँदा सही तथ्य हो भन्ने ठानेमा परिषद्को बहुमतले अनुमोदन गरेपछि उसलाई इन्जिनियर भनिने छ र उसले गर्ने पेशालाई इन्जिनियरिङ पेशा भनिने छ । 
ऐनमा स्पष्ट व्यवस्था भएकाले विदेशमा पढेर आएका धेरै विद्यार्थी इन्जिनियर हुनबाट बञ्चित थिए ।

धेरैजसो देशमा तीन वर्षे कोर्श छ । विद्यार्थीहरु दोस्रो वर्षदेखि भर्ना भएर पास आउट गरेर लाइसेन्सका लागि नेपाल आउँदा ऐनमा रहेको व्यवस्थाअनुसार ऊ इन्जिनियर हुन सक्षम हुँदैन । 

यही समस्याको समाधानका लागि आईओईले २०७५ को चैतमा विभिन्न विश्वविद्यालय तथा शिक्षक संस्थाबाट इन्जिनियरिङ विषयमा तीन वर्षे र ल्याटरल इन्ट्रीबाट स्नातक उपाधी हासिल गरेर आएका विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसहरुमा अध्यापन गराउने व्यवस्था गर्न सम्बन्धित क्याम्पसलाई पत्र काट्यो ।

थापाथली इन्जिनियरिङ क्याम्पसमा पनि पत्र पठाएको थियो । सोहीअनुरुप थापाथलीले बैशाखबाट त्यो व्यवस्था लागू गर्यो । विगत ९ महिनादेखि हालसम्म थापाथलीमा ४० जना विद्यार्थी भर्ना भइसकेका छन् । 
गणित, केमेस्ट्री, फिजिक्स, मेकानिकल, कम्युटर, अप्लाइड साइन्स, इलेक्ट्रोनिक्स, मोकानिकल, इलेक्ट्रिकललगायतका विषयमा विद्यार्थीको 'क्रेडिट आवर' नपुगेको देखिन्छ ।

धेरै विद्यार्थीले विदेशमा यी विषय नपढी स्नातक उपाधि लिएका छन् । जब कि नेपालका सबै विश्वविद्यालयमा यी विषय पढाई हुन्छ । त्यसैले सबैलाई एकरुपतामा बाँध्न पुनः अध्ययनको व्यवस्था गरिएको आईओईकी शिक्षा शाखा प्रमुख बताउँछिन् । 

के हो समस्या ?

कुनै पनि विद्यार्थी इन्जिनियर बन्नका लागि कम्तिमा १२० 'क्रेडिट आवर' पढ्नुपर्ने विश्वव्यापी व्यवस्था छ । तर केही विश्वविद्यालयले १४५ 'क्रेडिट आवर' पुरा गर्नुपर्ने व्यवस्था गरेका छन् ।

नेपालमा हाल १४५ क्रेडिट हावरको व्यवस्था छ । त्यसैले विदेशबाट इन्जिनियरिङ पढेर आएका विद्यार्थीहरु 'क्रेडिट आवर' नपुगेका कारण नेपालमा आएर काम गर्नका लागि लाइसेन्स लिनबाट बञ्चित भएका छन् । 

हाल विदेशबाट पढेर आएका अधिकांश विद्यार्थीको २० देखि २६ सम्म क्रेडिट हावर कम देखिएको थापाथली क्याम्पस प्रमुख जनार्दन भट्ट बताउँछन् । उनका अनुसार धेरैजसो विद्यार्थीको २४ 'क्रेडिट आवर' नपुगेको देखिन्छ । 

क्रेडिट विषयअनुसार फरक–फरक हुन्छ । मेकानिकल इन्जिनियरिङ पढ्नेका लागि ८ क्रेडिट हावर छ भने फिजिक्स र केमेस्ट्रीमा ४ 'क्रेडिट आवर' हुन्छ । 

नेपालमा ओभरसियर गर्ने र विदेशमा गएर सिधै दोस्रो वर्षमा भर्ना हुने विद्यार्थीहरु क्रेडिट हावरको मारमा छन् । नेपालमा बस्ने विद्यार्थीले चार वर्ष पढ्नुपर्ने र विदेशमा पढ्ने विद्यार्थीले तीन वर्ष पढे पनि हुने व्यवस्था गर्दा शिक्षा नितीमा नै समस्या हुने हुँदा सबैलाई समान व्यवस्था गर्न क्रेडिट हावर अनिवार्य गरिएको परिषद् बताउँछ । तीन वर्षे कोर्शमा नेपालमा पढ्नुपर्ने सबै विषय समेटिदैन । त्यसैले 'क्रेडिट आवर' कम हुन आउँछ । 

भारतमा पढेर आएका विद्यार्थीको कुनै समेष्टरमा मात्र क्रैडिट हावर नपुगेको देखिन्छ भने अन्य देशका विद्यार्थीको प्रत्येक सेमेष्टरमा समस्या छ । उनीहरुको कुनैमा दुई त कुनैमा तीन 'क्रेडिट आवर' नपुगेको देखिन्छ । यस्ता विद्यार्थीको सवालमा भने अपुग क्रेडिटका लागि सोधपत्र तयार गरेर पेश गर्ने व्यवस्था मिलाइएको छ । 

शुल्क कति ?

थापाथली क्याम्पसले यस्ता विद्यार्थीको पढाईका लागि कति शुल्क लिने भनेर एउटा निर्देशिकासमेत बनाएको छ । यसरी अध्ययन गर्ने पर क्रेडिट तीन हजार, भर्ना शुल्क दुई हजार, पाँच हजार लाइब्रेरी डिपोजिट, १ सय ७५ रुपैयाँ आइडी कार्ड र परीक्षा शुल्क आईओईले तोकेको तिर्नुपर्ने छ । 

हाल क्रेडिट हावर नपुगेका विद्यार्थीले थापाथलीमा रेलुलर विद्यार्थीहरुसँगै पढिरहेका छन् । शुल्क पनि हाल थापाथलीका रेगुलर विद्यार्थीले तिरिरहेको हिसाबले लिइएको छ । 'क्रेडिट आवर'का लागि आउने विद्यार्थीले प्रयोगात्मक परीक्षा भने दिनु पर्दैन । सम्बन्धित विषयमा कुन वर्षको 'क्रेडिट आवर' नपुगेको हो त्यसकै आधारमा परीक्षा दिनुपर्छ । 

अन्यौलता हट्यो

थापाथलीमा 'क्रेडिट आवर' पुरा गर्नका लागि पढाई हुने भएपछि लामो समयदेखि अन्यायमा परेका विद्यार्थीले ठूलो राहत महसुस गरेका छन् । सन् २०१४ मा भारतको उत्तराखण्ड टेक्निकल विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक गरेर आएका राजुबाबु यादव लामो समयदेखि तनाबमा थिए ।

हातमा स्नातकको प्रमाणपत्र हुँदाहुँदै पनि लाइसेन्ट नपाएपछि उनलाई दिनरात पीडा हुन्थ्यो । इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरेका उनको २२ 'क्रेडिट आवर' पुगेको छैन ।

‘मेरो पाँच वर्ष त्यत्तिकै लस भयो’ राजुबाबुले इन्जिनियर्स नेपालसँग गुनासो पोखे, ‘विदेशमा पास भएर आइसकेपछि पनि लाइसेन्स नदिने व्यवस्थाका कारण मेरो करियरमै धक्का लाग्यो । लामो समय हामीहरुले संघर्ष गर्यौँ । तर, केही भएन । अहिले फेरि पढेर परीक्षा दिनुपर्छ भनिएको छ ।’ पढ्ने व्यवस्था गरिएको विषयलाई भने उनी सकारात्मक रुपमै लिन्छन् ।

थापाथली क्याम्पस प्रमुख भट्ट भन्छन्, ‘लामो समयदेखि अन्यायमा परेका, सरकारी सेवामा जागिर खान नपाएका, जागिर खाएर प्रमोसन हुन नसकेका विद्यार्थीका लागि राहत भएको छ । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ ।’

त्यसोभए युरोपको उपाधि गलत त ?

युरोपमा १२० क्रेडिट हावर पढेर आएको विद्यार्थीले नेपालमा लाइसेन्स नपाउने हुँदा कतिपयले इन्जिनियरिङ परिषद्को ऐनमाथि प्रश्नसमेत उठाएका छन् । विदेशमा पढेको विषयमा 'क्रेडिट आवर' नपुगेका कारण पुनः थापाथलीमा अपुग क्रेडिट हावरका लागि पढिरहेका विद्यार्थी सानी खनाल प्रश्न गर्छन्, ‘त्यसो भए युरापको डिग्री गलत होत  ?’ 

उनको प्रश्नमा थापाथली क्याम्पस प्रमुख भट्ट भन्छन्, ‘हामीले उनीहरुको डिग्री गलत भनेकै छैनौँ । हामीले हाम्रो विश्वविद्यालयको नीति–नियममा भएको व्यवस्थालाई मात्र फलो गरेका हौँ ।’

विश्वकै उत्कृष्टमा पर्ने हङकङ विश्वविद्यालयमा तीन वर्षे इन्जिनियरिङ कोर्श पढेर आएका दुई विद्यार्थीले पनि अहिले थापाथलीमा 'क्रेडिट आवर'का लागि पढिरहेका छन् ।

युरोप, हङकङर भारतसँगै अमेरिका र अष्ट्रेलियामा पढेर आएका विद्यार्थीमा समेत यस्तो समस्या देखिएको आईओई शिक्षा विभाग प्रमुख बताउँछिन् । 

इन्जिनियर्स नेपाल मासिक पत्रिकाबाट:



2 Comments

madhav paudel

Feb. 7, 2020, 3:50 a.m.

Thulo thulo project ko lagi bahir dekhi engineer bolainx tyo ni double salary ma but hami tei engineer le padheko syllabus and credit pura garera auada credit pugen re wow re wow Nepal education system .Ranked wise compare garer hernu ni Nepal ko TU vs Hami after diploma 3 yrs bachelor gareko university .😡😡😡😡

Bibek

Feb. 5, 2020, 7:46 a.m.

2 barsa +2 padeyra BE garey---6yrs 3 barsa diploma padeyra BE garey----6yrs Time ta engineering ko 6yrs nai ho ni padnu padney SLC sakyesi.. All over world ma diploma garey si BE 3 YRS kai huncha except nepal

Your Comments