यांग्री र लार्केमा तत्काल कार्य गर्न निर्देशन, मेलम्ची सुरुङ परिक्षणमा १ महीना लाग्ने

यांग्री र लार्केमा तत्काल कार्य गर्न निर्देशन, मेलम्ची सुरुङ परिक्षणमा १ महीना लाग्ने


इन्जिनियर्स नेपाल |  जेठ २७, २०७८,


engineersnepal.com

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी सुरुङको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामा समेत तत्काल कार्य सुरु गर्न निर्देशन दिएका छन् । 
प्रधानमन्त्री निवास बालुवाटारमा विहिवार खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजना सम्बन्धी अद्यावधिक जानकारी लिएपछि उनले यस्तो निर्देशन दिएका हुन् ।

मेलम्चीपछि काठमाडौं उपत्यकामा यांग्री र लार्केबाट पानी ल्याउने तयारीका बिच प्रधानमन्त्रीले दुवै खोलाको पानी ल्याउन गृहकार्य थाल्न र आवश्यक प्रशोधन प्लान्टको कार्यसमेत तत्कालै थाल्न दिर्देशन दिए ।


ADVERTISEMENT

हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण भइरहेको छ । सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेको यांग्री र लार्केबाट १७ करोड १७ करोड लिटर पानी ल्याउने तयारी छ । 

यी दुवै खोलाको पानी थपिएपछि राजधानीमा कुल ५१ करोड लिटर पानी झार्न सकिने सरकारको दाबी छ । यसबाट उपत्यकामा पछि थप हुन जाने जनसंख्यालाई पनि पानी आपूर्ति गर्न सकिने अवस्था छ । 

राजधानीबासिको लामो समय अघिदेखिको सपना पूरा गर्दै गत चैत २१ गतेदेखि औपचारिक रुपमा मेलम्चीको पानी वितरण थालिएको थियो । यद्यपी परिक्षण भने चैत १५ गते गरिएको थियो । 

यसैगरी अहिले मेलम्ची खानेपानीको सुरुङ परिक्षणका लागि असार १ गतेदेखि सुरुङ खाली गराउने तयारीमा मेलम्ची खानेपानी विकास समिति रहेको छ । सोहीअनुसार पानी खाली गराउनेदेखि पानी पुनः सुरुङमा भर्नका लागि १ महिना लाग्ने भएको छ ।

प्राविधिक आवश्यकता अनुसार अब सुरुङको पानी पुरै खाली गरेर कुनै समस्या आए नआएको जाँच गर्ने र त्यसपछि फेरि पानी पठाउन थालिने छ । 
मन्त्रालयका अनुसार अब सुरुङलाई पूरै खाली गर्न  करिब १० दिन, परिक्षणका लागि केही दिन र  पुरै पानी भर्न १५ दिन गरी करिब एक महिना समय लाग्ने  छ । 

यसअवधिका लागि हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुरानै संरचना अनुसार पानी वितरण गरिने जानकारी मन्त्रालयका अधिकारीहरुले दिए । वर्षा सुरु भएपछि करिब ४ करोड लिटर थपिने भएकोले अहिलेकै क्षमतामा पनि राम्रैसँग चलाउन सकिने जनाइएको छ ।



Your Comments