भूमिगत विद्युत् प्रसारण लाइन निर्माण अभियान निराशाजनक

भूमिगत विद्युत् प्रसारण लाइन निर्माण अभियान निराशाजनक



engineersnepal.com

काठमाडौंका सडकमा भूमिगत विद्युत् प्रसारण लाइन निर्माण अभियान सुरु गरे पनि प्रगति निराशाजनक रहेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ फागुन मा तामझामसहित महाराजगन्जबाट काठमाडौंको विद्युत् प्रणालीलाई भूमिगत गरी स्वचालित गराउने अभियान सुरु गरेका थिए। 


ADVERTISEMENT

ठेक्का सम्झौता अनुसार म्याद सकिन ६ महिनाबाँकी रहँदा भूगिगत प्रसारण लाइन निर्माणको काम  २७ प्रतिशत मात्रै सकिएको छ। 

सरकारले अस्तव्यस्त र लथालिंग अवस्थाका बिजुलीका पोल र नांगा तार व्यवस्थित गर्ने योजना अनुसार भूमिगत विद्युत् प्रसारण लाइन निर्माण शुरु गरेको थियो। 

नेपाल विद्युत प्राधिकरणले सन् २०१९ को मार्चमा भारतीय ठेकेदार कम्पनी केइआई इन्ड्रस्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो। सम्झौता अनुसार १४ कात्तिक २०७८ भित्रै निर्माण सम्पन्न गर्नुपर्छ। 

नेपाल विद्युत् प्राधिकरणका प्रसारण लाइन आयोजनाका निर्देशक नवराज ओझाले रत्नपार्क र महाराजगन्ज दुवै खण्डको हालसम्म करिब २७ प्रतिशत काम भएको बताए।

‘एकातर्फ कोभिड १९ को महामारी, अर्कोतर्फ सडक विभागले सडक खन्ने अनुमति नदिँदा काम रोकिँदै आएको छ,’ आयोजना निर्देशक ओझाले भने, ‘सरकारी निकायबीच समन्वय नहुँदा भूमिगत विद्युतीय प्रसारण लाइन निर्माणको काम प्रभावित भइरहेको छ।’

प्राधिकरणका प्रवक्ता मदन तिमिल्सिनाले कोभिड १९ संक्रमणको जोखिम बढेसँगै भूमिगत प्रसारण लाइन निर्माण कार्यले गति लिन नसकेको बताउँछन्।

एसियाली विकास बैंकको सहुलियत ऋण र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सञ्चालित यस आयोजनाको कुल ठेक्‍का सम्झौता रकम सात अर्ब छ। 

महाराजगन्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरू बालुवाटार, बूढानीलकण्ठ, टोखा, गोंगबु, महाराजगन्‍ज, आदि स्थानमा करिब २५० किलोमिटर ११००० भोल्टेजको भूमिगत लाइन तथा करिब ४०० किलोमिटर ४०० भोल्टेजको भूमिगत लाइन निर्माणको साथै करिब २५० किलोमिटर अप्टिकल फाइबर बिछ्याउने लक्ष्य राखिएको थियो।

सोमध्ये हालसम्म एक सय ४४ किलोमिटर एचडिपिई पाइप राखिएको छ। त्यसैगरी, ११ केभीको ५२ किलोमिटर एक्सएलपिई केबल राखिएको छ। कुल २९ सय ९८ मध्ये हालसम्म २ सय ८५ वटा एलटी प्लानल जडान गरिएको छ। 

महाराजगन्ज खण्ड जस्तै रत्नपार्क खण्डमा पनि २५ प्रतिशतभन्दा धेरै भौतिक प्रगति भएको छ। रत्नपार्क वितरण केन्द्रको भौतिक प्रगति २७ प्रतिशत छ।  

 



Your Comments