अख्तियारको ‘ट्रयाप’ मा किन पर्दैछन् इन्जिनियर !

अख्तियारको ‘ट्रयाप’ मा किन पर्दैछन् इन्जिनियर !

विज्ञ भन्छन् - भ्रष्टाचारको जड राजनीति


इन्जिनियर्स नेपाल |  साउन ११, २०७६, काठमाडौं


#
engineersnepal.com

#

काठमाडौं । ‘अख्तियारको हिरासत इन्जिनियरले भरियो’, ‘तीन दिनमा आठ र असारयता २० इन्जिनियर पक्राउ’, ‘१५ लाख घुससहित तीन इन्जिनियर पक्राउ ।’ 

केही दिन यता सञ्चारमाध्यममा आएका समाचारका हेडलाइन हुन् यी । पछिल्लो समय धमाधम इन्जिनियर तथा प्राविधिकहरु पक्राउ पर्न थालेपछि आर्थिक वर्षको अन्तमा किन धेरै इन्जिनियरहरु पक्राउ पर्छन ? यो बहसको विषय बनेको छ ।


ADVERTISEMENT

असारयता मात्रै दुई दर्जन भन्दा बढी इन्जिनियरलाई आयोगले पक्राउ गरिसकेको छ । उनीहरु प्रायः सबै बिल भुक्तानीको कमिसन लिने क्रममा पक्राउ परेका हुन् । 

घुस नदिएसम्म इन्जिनियरहरुले कामको मूल्यांकन गरिदिँदैनन् वा बिल भुक्तानी दिन आलटाल गर्छन् भन्ने आरोप सर्वत्र छ । केही दिन अघि कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका तीन इन्जिनियर घुससहित पक्राउ परे । इन्जिनियर कमल सिटौला, विश्वेश्वरप्रसाद साह, हरिप्रसाद चौधरीलाई आयोगले १५ लाख रुपैयाँ घुससहित बर्दियाबाट पक्राउ गरेको थियो ।

तारजाली भर्ने कामको योजनाको बिल रकम भुक्तानी गरेबापत उनीहरूले १५ लाख रुपैयाँ घुस मागेका थिए । घुस नदिई भुक्तानी नै नदिएपछि पीडित ठेकदारले अख्तियारलाई खबर गरेका थिए । त्यसपछि उनीहरू रंगेहात गिरफ्तार भएका थिए । 

यो एउटा उदाहरण हो, आयोजनाको बिल भुक्तानीका क्रममा प्राविधिकहरुले कसरी भ्रष्टाचार गर्छन् भन्ने । 

बिल भुक्तानी नै नगरिदिएपछि बाध्य भएर घुस खुवाउनै पर्ने बाध्यता हुने ठेकेदार तथा उपभोक्ता समितिका पदाधिकारीहरु बताउने गरेका छन् । तर, आयोजनाका ठेकेदार वा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिकहरुबीच कुरा मिलेन भने मात्रै घुस लेनदेनको कुरा बाहिर आउँछ, वा नियामक निकायले थाह पाउँछ । अन्यथा अनियमितता र आर्थिक लेनदेन प्रायः सहमतिमै हुने गर्दछ ।  
आर्थिक वर्षको अन्तिम महिनामा प्राविधिक मूल्याङ्कन लगायतमा हुने आर्थिक अनियमितताको अभियोगमा अख्तियारले निगरानी पनि बढाएको छ । 

किन धमाधम पक्राउ पर्दैछन् इन्जिनियरहरु ?

असार मसान्त यता विभिन्न साना–ठुला आयोजनाहरुको बिल फरफारक गर्ने क्रममा प्राविधिकहरुले गर्ने लोभका कारण उनीहरु पक्राउ परिरहेका छन् । अनियमित ढंगले काम गर्नु र त्यसलाई ढाकछोप गर्न घुसको लेनदेन गर्नु सामान्य जस्तै बनेको छ । त्यही क्रममा उजुरी वा सूचनाका आधारमा इन्जिनियरहरु पक्राउ परिरहेका छन् । 

तर, सबै इन्जिनियरहरु अनियमिततामा संलग्न भएकै आधारमा पक्राउ परेको नभई कतिपयलाई फसाउने गरिएको बताउँछन्–नेपाल इन्जिनियर्स एसोशियसन ३ नं प्रदेश अध्यक्ष नन्द बञ्जाडे । अनियमितता रोक्न खोज्दा पनि कैयौं ठाउँमा इन्जिनियरलाई फसाइएको उनको दाबी छ । 

योजनामा संलग्न अन्य पक्षको दबाव थेग्न नसक्दा पनि प्राविधिक वा तल्लो तहका कर्मचारीहरु अनियमित लेनदेनमा संलग्न हुने गरेको उनले बताए । यस्तै, फिल्डमा खट्ने कर्मचारीहरुलाई जीवन निर्वाहका लागि पर्याप्त तलब, सुविधाको व्यवस्था नगर्दा पनि भ्रष्टाचारमा उनीहरु संलग्न हुने गरेको उनको बुझाई छ ।

तर, फिल्डमा खट्ने कर्मचारी वा प्राविधिकहरुले गरेको सानोतिनो लेनदेनलाई देखाएर माथिल्लो तहका राजनीतिज्ञ र कर्मचारीहरु चोखिने गरेको उनले बताए । फिल्डमा हुने भ्रष्टाचारको स्रोत उपल्लो तह रहेको उनको आरोप छ । 

बञ्जाडेका अनुसार अनियमितता र भ्रष्टाचारमा राजनीतिज्ञ र उच्च प्रशासनिक कर्मचारीहरु नै संलग्न हुन्छन् । भ्रष्टाचार पिरामिड शैलीमा माथिदेखि तल सम्मै छ । तर, सँधै समातिन्छन्– फिल्डमा खट्ने कर्मचारीहरु । र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता नियामक निकायहरु पनि फिल्डमा खट्ने सामान्य कर्मचारीलाई समात्ने र उच्च तहका ब्यक्तिहरुको संरक्षण गर्ने गरेको उनको आरोप छ । ‘जबसम्म माथिल्लो तहबाट भ्रष्टाचार नगर्ने प्रतिवद्धता हुँदैन, सानातिना घुसखोरीलाई समातेर कहिल्यै भ्रष्टाचार अन्त हुँदैन’ उनले भने ।

‘सामान्य जीवनशैली भएका राजनीतिज्ञहरुको हैसियत कसरी एकाएक असामान्य भइरहेका छ ? किन उनीहरुको जीवनशैली पारदर्शी छैन ?’ बञ्जाडे प्रश्न गर्छन, ‘छानबिन र अनुसन्धान त्यहाँबाट सुरु गर्नुपर्छ ।’ 
नेताहरुको खल्तीबाट योजना आउनु र बिस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बिना नै योजनामा रकम उपलब्ध गराउनु भ्रष्टाचारको मूल जड रहेको बञ्जाडे बताउँछन् । यस्तै, उपभोक्ता समितिबाट काम गराउनु तथा उपभोक्ता समितिमा विभिन्न तहका राजनीतिज्ञ बस्नु भ्रष्टाचारको अर्को कारण रहेको उनको बुझाई छ ।

‘जब नेताका खल्तीबाट योजना पर्छन् र डीपीआर बिना नै योजनामा रकम बिनियोजन गरिन्छ, भ्रष्टाचार त्यहीँबाट सुरु हुन्छ ।’ उनी भन्छन्, ‘उपभोक्ता समितिले अनुगमन गर्ने हो । अनुगमन गर्ने निकाय नै योजना कार्यान्वयनमा लाग्छन् र त्यसमा पनि राजनीति गर्नेहरुको संलग्नता हुन्छ भने त्यहाँ भ्रष्टाचार निश्चित छ ।’

अख्तियारको ‘ट्रयाप’ मा इन्जिनियरहरु 

असार यता अख्तियारको नियन्त्रणमा करिब दुई दर्जन इन्जिनियरहरु पक्राउ परेका छन् । ति मध्ये अधिकांश अहिले पनि अनुसन्धानका क्रममा अख्तियारकै हिरासतमा छन् । यद्यपी अख्तियारले कतिजना इन्जिनियरहरुलाई नियन्त्रणमा लिएको छ, सार्वजनिक गर्न नमिल्ने अख्तियार जनाउँछ । हिरासतमा रहेका बाहेक पनि ठुलो संख्यामा इन्जिनियरहरुमाथि निगरानी राखिएको र अनुसन्धानका क्रममा रहेको बताइन्छ । 

पछिल्ला केही दिन यता समातिएका इन्जिनियर तथा प्राविधिकहरुको संख्या हेर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यतिबेला प्राविधिकहरुमाथि कडा निगरानी गरिहेको बुझ्न सकिन्छ । तर, आयोगका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइराला इन्जिनियरहरुलाई नै तारो बनाएको भन्ने कुरालाई अस्वीकार गर्छन् । अख्तियारलाई प्राप्त हुने सूचना र उजुरीका आधारमा अख्तियारले विभिन्न क्षेत्रका कर्मचारीलाई नियन्त्रणमा लिने र अनुसन्धान गर्ने उनको भनाई छ । इन्जिनियर मात्रै नभई अन्य कर्मचारी, शिक्षक, प्रहरी लगायत अख्तियारको हिरासतमा रहेको उनले सुनाए ।

‘घुससहित रंगेहात पक्राउ परेकालाई हामीले हिरासतमै राखेर अनुसन्धान गर्छौँ’ प्रवक्ता कोइरालाले ईन्जिनियर्स नेपाल सँग भने, ‘अन्य कैयौँमाथि पनि अनुसन्धान भइरहेको छ । उनीहरु विभिन्न क्षेत्रका राष्ट्रसेवक कर्मचारीहरु हुन् ।’

भ्रष्टाचारको जडः राजनीति

फिल्डमा खटिने कर्मचारीहरु अनियमित आर्थिक लेनदेनका कारण पक्राउ पर्ने र बद्नाम हुने गरेको भएपनि भ्रष्टाचारको मुख्य जड राजनीति रहेकोमा विज्ञहरु एक मत देखिन्छन् । 
नेपाल सरकारका पूर्व सचिव भिम उपाध्याय नेपालमा नीतिगत तहमै भ्रष्टाचार हुने भन्दै फिल्डमा हुने रकमको लेनदेन त्यसैको उपज भएको बताउँछन् ।

उनको बुझाईमा नेपालमा भ्रष्टाचार र अनियमिता नभएको कुनै ठाउँ नै छैन । त्यसकारण प्राविधिक कर्मचारीहरु संलग्न विकास निर्माणका आयोजनाहरुमा अनियमितता हुनु पनि स्वभाविकै हो । अहिले असार मसान्तमा धेरै योजनाहरु फरफारक हुँदा अनियमिता पनि बढेको र इन्जिनियरहरु पक्राउको दर पनि बढेको उनी बताउँछन् ।

फिल्डमा खटिएका कर्मचारीको लेनदेनलाई मात्रै निगरानी गर्नु ‘रोगको निदान गर्न छोडेर रोगीको मात्रै उपचार गर्नु जस्तै’ भएको उनको भनाई छ । भ्रष्टाचार अन्त गर्न योजना छनौटदेखि कै सिस्टम परिवर्तन गर्नुपर्ने उनको भनाई छ । 

यस्तै, भ्रष्टाचारको जड राजनीति नै भएको ठोकुवा गर्दै प्रधानमन्त्री संस्था मात्रै भ्रष्टाचार नगर्ने हो भने आधा भ्रष्टाचार घट्ने बताउँछन्– एसोशियसनका ३ नं प्रदेश अध्यक्ष नन्द बञ्जाडे । 

उनी भन्छन्, ‘प्रधानमन्त्री कार्यालय सही भए मन्त्रालय भ्रष्टाचार गर्न डराउँछ र मन्त्रालय सही भए कर्मचारीतन्त्र हच्किन्छ । त्यसकारण भ्रष्टाचार निर्मुल पार्न माथिल्लो तह नै प्रतिवद्ध हुनुपर्छ ।’
तर, तल्लो तहमा हुने अनियमितता रोक्न र इन्जिनियरहरु पक्राउ पर्ने वा बदनाम हुने दर कम गर्न के गर्ने त ? 

दुबै इन्जिनियरहरु भन्छन्, ‘फिल्डमा खटिने कर्मचारीलाई जीवन निर्वाहका लागि पर्याप्त सेवा सुविधा दिने । कतिपय प्राविधिकहरुले अनियमितता रोक्न खोज्दा जबर्जस्ती फसाइने गरेकोले निष्पक्ष अनुसन्धान गर्ने ।’

तर, अनियमितता र भ्रष्टाचारको जड नीति निर्माण तहमै भएकाले सुधार पनि त्यहीँबाट गर्नुपर्ने उनीहरुको सामूहिक बुझाई छ ।
 



2 Comments

ABC

July 28, 2019, 6:04 p.m.

Nepal Government ko niyam anushar Contractor le aafno engineer rakhera site supervision tatha bill banaunu parne ho. Government engineer ko kaam site verify garera , bill forward garne matra ho. Tara 99 % contractor ko aafno engineer chhaina. Tei bhaera badhyata bas government engineer le site supervision ra bill banaunu parne hunchha. Contractor le site supervision ra bill banaye bapat government engineer lai P.C. % Paisa dina aauchha. Ra ghoosh riswat bhanera fasaune garchhan.

Er Tularam sharma

July 27, 2019, 4:49 p.m.

सरकारले जम्मा योजना खर्च को आधारमा Engineers fee भनेर छुट्याईदिने र Top level " zero corruption " को concept मा अगाडि बढ्ने , यसपछि पनि Quality, quantity मा compromise भै भ्रस्टाचार गरेमा हामीलाई मृत्युदण्ड दिए हुन्छ। तर छापामार सैलिमा ईमान्दार र कर्तव्यनिष्ठ इन्जिनियरहरुलाई फसाउने, बदनाम गर्ने, प्रगती देखाउन ब्यक्तिलाई पैसा दिन लगाएर रङ्गेहात भनेर बदनाम मात्रै गर्ने हो भने त्यस्को सबै क्षतिपूर्ती राज्य ले दिनुपर्छ । ##अती भो##

Your Comments