अनुसन्धानलाई प्राथमिकता दिन सकेनौँ भने इन्जिनियरिङको उपादेयता पनि देखिँदैन : रामेश्वर रिजाल (अन्तवार्ता)

अनुसन्धानलाई प्राथमिकता दिन सकेनौँ भने इन्जिनियरिङको उपादेयता पनि देखिँदैन : रामेश्वर रिजाल (अन्तवार्ता)

प्रविधिको विकास दिन दुई गुणा, रात चार गुणा भइरहेको छ । तर, हामी एक दशकसम्म पाठ्यक्रम परिमार्जन नगरी बस्छौँ भने त्यसले देश, समाजको आवश्यकता परिपूर्ति गर्न सक्दैन ।


इन्जिनियर्स नेपाल |  फागुन १६, २०७६, ललितपुर


#
engineersnepal.com

एसोसिएसन अफ इन्जिनियरिङ कजेज नेपाल (एकोन) का पूर्वअध्यक्ष हुन्, रामेश्वर रिजाल । हाल उनी नेपाल इन्जिनियरिङ परिषद्को सदस्यको रुपमा छन् । नेपालको इन्जिनियरिङ शिक्षाको विकास तथा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका रिजालले लामो समयदेखि कान्तिपुर इन्जिनियरिङ कलेजमा प्रिन्सिपलको रुपमा कार्यभार सम्हालिरहेका छन् ।

उनै रिजालसँग इन्जिनियर्स नेपालका लागि सुदन पौडेलले इन्जिनियरिङ शिक्षाको वर्तमान अवस्था, शैक्षिक संस्थाहरुले प्रदान गरेको गुणस्तरता, नीति–निर्माणको तहमा देखिएका जटिलतालगायतका विषयमा कुराकानी गरेका छन्ः


ADVERTISEMENT

पछिल्लो पाँच वर्षमा इन्जिनियरिङ शिक्षाप्रति देखिएको विद्यार्थीको आकर्षणलाई कसरी लिनुहुन्छ ? सन्तोषजनक मात्र या फट्को मारेको छ ?

आकर्षण बढेकै मान्नुपर्छ । तर, पछिल्लो दुई वर्षदेखि नेपालमा पढ्नेभन्दा विदेश जानेको संख्या अलि बढेको देखिन्छ । नेपाली विद्यार्थीको इन्जिनियरिङ शिक्षाप्रतिको आकर्षण बढ्नुको सँगसँगै विदेशी विश्वविद्यालयप्रतिको आकर्षण पनि बढेको छ ।

विदेशी विश्वविद्यालयद्वारा सहयोग गरिएका कन्सल्टेन्सीले यसमा भूमिका खेलेका छन् । उनीहरुले नेपालमा इन्जिनियरिङ कलेजहरु राम्रा छैनन् । विदेशका राम्रा छन् भनेर गलत प्रचारप्रसार गरिरहेका छन् । समग्रमा भन्नुपर्दा विद्यार्थीको आकर्षणलाई सन्तोषजनक भन्दा माथि नै मान्न सकिन्छ ।

 

विश्वविद्यालयहरु पनि आफ्ना शैक्षिक संस्थाहरुलाई स्वायत्त छाड्नुपर्ने हो वा नियन्त्रण गर्नुपर्ने हो भन्नेमा प्रष्ट छैनन् । हामीले इन्जिनियरिङ कलेज चलाइरहेका छौँ । हाम्रो स्वायत्तताको सीमा कहाँसम्म हो ? नियन्त्रणको सीमा कहाँसम्म हो भन्नेमा हामी आफैँ प्रष्ट छैनौँ ।

 

नेपालको इन्जिनियरिङ शिक्षा कमजोर छ भन्ने भ्रम कसरी चिर्न सकिएला त ?

नेपालमा पढेका विद्यार्थी कुनै कुरामा कमजोर छैनन् । यो सबैले मनन गरेकै कुरा हुन् । र, हामीकहाँ उनीहरुको तुलना गर्ने त्यस्तो कुनै मापदण्ड छैन । इन्जिनियरिङ परिषद्को ऐन संशोधनका लागि अहिले संसद्मै छ । ऐनमा रहेको नयाँ व्यवस्थाअनुसार हरेक विद्यार्थीले इन्जिनियर बन्नका लागि लाइसेन्स परीक्षा दिनुपर्ने हुन्छ ।

परीक्षामा पास हुने विद्यार्थीको संख्या हेरेर विदेशमा पढेका र स्वदेशमा पढेका विद्यार्थीमा को बढी सक्षम छ भन्ने कुरा प्रष्ट हुन्छ । मलाई विश्वास छ, त्यसपछि नेपालकै विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्न थाल्नेछ ।

इन्जिनियरिङलाई गाह्रो विषय मानिन्छ । नियमित पास हुने विद्यार्थीको संख्या पनि कम छ । किन होला ?

इन्जिनियरिङ भनेकै गाह्रो विषय हो । यो प्राविधिक पनि हो र प्रयोगात्मक पनि हो । किताबको सैद्धान्तिक ज्ञानका आधारमा मात्र विद्यार्थीहरु सक्षम हुँदैनन् । आफूले पढेको ज्ञानलाई उसले प्रयोगशालामा व्यावहारिकरुपमा पनि प्रयोग गरेको हुनुपर्छ । त्यो हिसाबले इन्जिनियरिङ शिक्षा सजिलो विषय होइन ।

अहिले हरेक परिवारमा एक व्यक्तिलाई इन्जिनियर हुनु छ । कतिपय आफ्नै रुचिले त कति आमाबुबाको चाहनाले । जो विद्यार्थी आफ्नै रुचिबेगर इन्जिनियरिङ पढ्न आउँछ, उसले सोचेभन्दा फरक पाउँछ । मिहिनेत गर्दैन, अनि फेल हुने सम्भावना बढ्छ । तर, जो व्यक्ति आफ्नै रुचिले आएको हुन्छ, उसको हकमा यो लागू हुँदैन ।

 

कतिपय इन्जिनियरहरु नन इन्जिनियरिङ कामका लागि पनि विदेश गइरहेका छन् । त्यसका लागि हामीले पनि देशभित्रै विकास निर्माणको काममा गति दिनुपर्छ ।

 

तपाईंले प्रयोगात्मक शिक्षाको कुरा गर्नुभयो । तर, हाम्रा विश्वविद्यालयहरुमा विद्यार्थीका लागि पर्याप्त प्रयोगशालाहरु छैनन् । भए पनि गुणस्तरीय छैनन् । हाम्रो शिक्षा प्रणाली आफैँ सैद्धान्तिक ज्ञानमा केन्द्रित छ । यस्तोमा विद्यार्थीले कसरी आफ्नो ज्ञानलाई व्यवहारमा उतार्न सक्छन् ?

सबै इन्जिनियरिङ कलेजहरुमा प्रयोगाशालाहरु छन् । प्रयोगशाला छैनन् भन्ने कुरा भ्रम मात्र हो । इन्जिनियरिङ परिषद्ले कलेजहरुको हकमा विभिन्न मापदण्डहरु तोकेको छ । त्यसमध्ये प्रयोगशाला पनि एक हो ।

उसले नियमन गरेर सम्बन्धित विषय सुहाउँदो आवश्यक प्रयोगशाला छ भनेमात्र अध्यापनका लागि स्वीकृति दिने हो । इन्जिनियरिङ शिक्षाका लागि चाहिने प्रयोगशालाहरु सबैले राखेका हुन्छन् । तर, कुन गुणस्तरको भन्ने कुरामा चाहिँ फरक हुन सक्छ । शैक्षिक प्रयोजनका लागि राखिएका प्रयोगशालालाई गुणस्तरहीन भन्न मिल्दैन । किन कि ती प्रयोगशालाहरु व्यापारिक प्रयोजनका लागि राखिएका होइनन् ।

पाठ्यक्रममा रहेका केही प्राविधिक जटिलताका कारण विद्यार्थीहरुले कलेजमा पढेको कुरा फेरि ट्रेनिङ सेन्टरहरुमा गएर सिक्नुपर्ने बाध्यता छ । यस्तो किन भइरहेको छ ?

विद्यार्थी आफूले जानेको, सिकेको कुरामा अझ अब्बल हुनका लागि विभिन्न तालिमहरु आवश्यक हुन्छन् । विद्यार्थीले आफ्नो चाहनाअनुसार नै त्यस्ता कक्षाहरु लिन्छन् भने हामीले आपत्ति जनाउनुपर्ने त्यस्तो कुनै कारण छैन । तर, यसलाई हाम्रो शिक्षामा कमी भएका कारण उनीहरु तालिम केन्द्रहरु धाउँछन् भन्ने कुराको रुपमा भने बुझ्नुहुँदैन । यसो गर्दा गलत अर्थ लाग्न सक्छ ।

 


अहिलेका विद्यार्थीहरु ह्विममा बढी चल्छन् । भूकम्पपछि सिभिल इन्जिनियरिङको ह्विम बढी चल्यो । विद्यार्थीहरु सिभिल भन्दै कुदे । त्योभन्दा अगाडि इलेक्ट्रोनिक्स नै आकर्षणको रुपमा थियो । अहिले पनि भारतमा इलेक्ट्रोनिक्सलाई एक नम्बरमा राख्छन् ।

 

इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल विषयमा स्कोप राम्रो हुँदाहुँदै पनि विद्यार्थीहरुको यसतर्फ आकर्षण कम छ । किन होला ?

अहिलेका विद्यार्थीहरु ह्विममा बढी चल्छन् । भूकम्पपछि सिभिल इन्जिनियरिङको ह्विम बढी चल्यो । विद्यार्थीहरु सिभिल भन्दै कुदे । त्योभन्दा अगाडि इलेक्ट्रोनिक्स नै आकर्षणको रुपमा थियो । अहिले पनि भारतमा इलेक्ट्रोनिक्सलाई एक नम्बरमा राख्छन् । देशले सञ्चार र अटो क्षेत्रमा प्रगति गरिरहेका बेला यी विषय पढेका इन्जिनियरको माग बढ्दै छ ।

त्यसैले इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल विषयको बजारमा राम्रो स्कोप छ । ढिला–चाँडो विद्यार्थीहरुले यो कुरा बुझ्दै जान्छन् । घरको ढोका मोबाइलबाट खोल्ने, पानी तान्ने पम्प मोबाइलबाटै बन्द गर्ने प्रविधिको विकास भइरहेका बेला उनीहरुको आवश्यकता हामी कल्पना पनि गर्न सक्दैनौँ । 

हाम्रा उद्योगहरुमा काम गर्ने प्राविधिक जनशक्ति अझै विदेशबाट मगाउनुपरिरहेको छ । हामीसँग भएका प्राविधिक जनशक्ति विदेश पलायन भइरहेका छन् ? यसलाई कसरी रोक्ने ?

हामी अहिले पनि प्रविधिमा विदेशसँगै निर्भर छौँ । उसले हामीलाई प्रविधि दिँदा त्यसका विज्ञहरु पनि सँगसँगै पठाउँछ । त्यसैगरी हाम्रा इन्जिनियरहरु पनि काम गर्न विदेश जान खोज्छन् । विदेशकै सपना देखिरहेका हुन्छन् । अहिले हामीले इन्जिनियरका दुई कुरामा जोड दिइरहेका छौँ ।

एउटा भनेको राष्ट्रियस्तरमै विद्यार्थीले प्रवेश परीक्षा दिनुप¥यो र त्यो पास गरेका विद्यार्थीलाई मात्र विदेश जाने सुविधा दिनुप¥यो । त्यसो ग¥यो भने योग्य विद्यार्थीमात्र विदेश जान्छन् । अहिले त यहाँ आर्टस्, कमर्स पढेका विद्यार्थी पनि विदेश गएर इन्जिनियरिङ पढिरहेका छन् र यहाँ आएर दर्ता नभएर धोका पाइरहेका छन् ।

अर्को, इन्जिनियरिङ परिषद्ले लिने परीक्षा पास नगरी काम गर्न नपाउने भनेपछि नेपालमा पढेका विद्यार्थीहरु जति यहाँको परिवेशसँग साक्षात्कार हुन्छन्, विदेशमा पढेकाहरु त्यति हुँदैनन् । कतिपय इन्जिनियरहरु नन इन्जिनियरिङ कामका लागि पनि विदेश गइरहेका छन् । त्यसका लागि हामीले पनि देशभित्रै विकास निर्माणको काममा गति दिनुपर्छ । हाम्रो अर्थतन्त्र पानीजस्तै हो । बग्यो भने सङ्लो हुँदै जान्छ, जम्यो भने गन्हाउन थाल्छ । अहिले हाम्रोमा गन्हाउने समस्या छ । बगाउनतिर लाग्नुपर्छ ।

आईओईअन्तर्गतको प्रवेश परीक्षा बोर्डले इन्जिनियरिङ अध्ययनका लागि प्रवेश परीक्षा दिने विद्यार्थीले अब ड्रइङ विषयको परीक्षा दिनुपर्ने व्यवस्था खारेज गरेको छ । यसले निजी इन्जिनियरिङ कलेजहरुमा विद्यार्थी संख्या बढाउने अपेक्षा गर्न सकिन्छ, होइन ?

विद्यार्थी संख्या बढाउनकै लागि मात्र यसो गरिएको भने होइन । इन्जिनियरहरुले प्रवेश परीक्षामा योग्यताको परीक्षा दिने हो । त्यो भनेको उनीहरुको कक्षा ११ र १२ मा पढेको विषयको योग्यता जाँच गर्ने हो । तर, उनीहरुले पढ्दै नपढेको ड्रइङ विषयको परीक्षण गर्नु कसरी न्यायोचित हुन्छ ? त्यो प्राविधिक जटिलताका कारण हटाएको हो भन्ने लाग्छ । अहिले अब्बल विद्यार्थीले पनि ड्रइङमा कमजोर भएका कारण विभिन्न अवसरबाट वञ्चित भइरहेको थियो । अब त्यो समस्या हल हुन्छ र त्यसले विद्यार्थी संख्यामा प्रभाव पार्छ भन्ने पनि मलाई लाग्छ ।

सी ग्रेडको पनि समस्या छ । गणित, केमेस्ट्री, फिजिक्स् मा अब्बल विद्यार्थीको नेपाली वा अंग्रेजीमा सी ग्रेड आउँदा उसले इन्जिनियरिङ शिक्षाका लागि प्रवेश परीक्षा दिन पाउँदैन । यो समस्यालाई कसरी लिनुभएको छ ?

इन्जिनियरिङ पढ्ने विद्यार्थीको भाषामा अब्बल त हुनैपर्छ । किनभने शिक्षण सिकाइ भनेकै भाषामा भर पर्ने कुरा हो । विद्यार्थीले कक्षामा शिक्षकले पढाएकै बुझ्दैन भने उसले के सिक्छ भन्ने कुरा रहन्छ नै ।

अर्को कुरा गणित, केमेस्ट्री र फिजिक्स् विषयमा ट्यालेन्ट विद्यार्थी अंग्रेजी र नेपालीमा पनि ट्यालेन्ट नै हुन्छ जस्तो मलाई लाग्छ । फेरि सी ग्रेडभन्दा कम आउने विद्यार्थीले देशको विकासको मेरुदण्ड मानिने इन्जिनियर बन्न सक्छ कि सक्दैन भन्ने प्रश्न पनि आउँछ । यसले गर्दा माथि हामीले कुरा गरेजस्तै विद्यार्थीको पास संख्यामा प्रभाव पर्छ ।

कलेज सञ्चालकहरु इन्जिनियरिङ कलेजको विद्यार्थी भर्ना कोटा पूर्ति नहुनुमा आईओईको प्रवेश परीक्षाप्रणालीमा कमजोरी छ भन्ने आरोप लगाउनुहुन्छ । कमजोरीहरु के–के हुन् र कसरी सुधार गर्न सकिन्छ ?

प्रवेश परीक्षामा हामी बायोलोजीका विद्यार्थीलाई परीक्षा दिन दिँदैनौँ । बायोलोजीको विद्यार्थीले पनि इन्जिनियरिङ अध्ययनका लागि प्रवेश परीक्षा पास गर्छ भने हामीलाई आपत्ति हुनुपर्ने देखिँदैन । भर्ना प्रणालीमा पनि समस्या छ । जुन पूर्णरुपमा आईओईको नियन्त्रणमा छ । समयसीमाका कारण पास भएको योग्य विद्यार्थीले पनि एकपटक अवसर गुमायो भने फेरि भर्ना हुन पाउँदैन । यसलाई अलिक लचक बनाउनुपर्छ भन्ने हामीलाई लाग्छ ।

वर्तमान अवस्थाको इन्जिनियरिङ शिक्षाको समग्र प्रणालीमा सुधारको आवश्यकता कति छ ?

सुधार त अनावश्यक भन्नै मिल्दैन । ठूलो लगानी र सुधारको आवश्यकता छ । हाम्रो स्रोत, साधन र क्षमताका हिसाबले भ्याएसम्म हामीले गरिरहेका छौँ । म इन्जिनियर हुँदा शिक्षा मन्त्रालयले देशभरबाट छात्रवृत्तिमा अध्ययनका लागि १५ जनाको कोटा छुट्याएको हुन्थ्यो । त्यतिबेला छात्रवृत्ति पाउने व्यक्ति अनौठो हुन्थ्यो ।

अहिले कसैले इन्जिनियर बन्न चाहेका स्वदेश तथा विदेशमा पाउने छात्रवृत्ति कोटा सयौँको संख्यामा छ । त्यसैले अवसरको ढोका धेरै फराकिलो भएको छ । अब हामीले ध्यान दिनुपर्ने कुरा भनेको गुणस्तरमा हो । नेपालमा पढेका इन्जिनियरले विश्वको जुनसुकै कुनामा गएर पनि राम्रै गरेका छन् । देशको नाम र शान राखेकै छन् । यसमा पनि अझ सुधार गर्नु आवश्यक छ ।

विकास गति र प्रविधिको विकाससँगै पाठ्यक्रमहरु परिमार्जन हुँदै जानु आवश्यक छ । तर, हाम्रोमा एक दशक अघिदेखि इन्जिनियरिङ पाठ्यक्रम परिमार्जन हुनसकेको छैन । यसले दक्ष प्राविधिक जनशक्ति उत्पादनका कस्तो असर पार्छ ?

एकदमै ठूलो असर पार्छ । यो विषय हामीले उठाइरहेका पनि छौँ । प्रविधिको विकास दिन दुई गुणा, रात चार गुणा भइरहेको छ । तर, हामी एक दशकसम्म पाठ्यक्रम परिमार्जन नगरी बस्छौँ भने त्यसले देश, समाजको आवश्यकता परिपूर्ति गर्न सक्दैन । तर, हाम्रोमा त्यो भइरहेको छैन । साधन, स्रोत र मान्छेको इच्छाशक्तिको कमीले हुनसक्छ । प्रविधिको परिवर्तन र विकाससँगै पाठ्यक्रमलाई पनि परिमार्जन गर्दै लानुपर्ने कुरामा भने कुनै दुईमत छैन । 

पाठ्यक्रम त परिमार्जन होला । तर, प्रविधियुक्त पाठ्यक्रम पढाउने प्राध्यापक त पुरानै पाठ्यक्रमको ज्ञान भएका हुनुहुन्छ । यो समस्या कसरी समाधान गर्न सकिएला ?

प्राध्यापकहरुले पनि चुनौतीको सामना गर्न सक्नुपर्छ । इन्जिनियरिङ भनेकै खोज र अनुसन्धानको विषय भएकाले उहाँहरुले नयाँ प्रविधिको खोज गर्दै त्यसबारे आफू अपडेट हुनु आवश्यक छ ।

प्राध्यापकहरु आफ्नो पुरानो नोट बोकेर बसिरहने, विज्ञान र प्रविधिले भने फट्को मारेर धेरै अगाडि पुगिसक्ने हुनथाल्यो भने त्यो प्राध्यापकलाई विद्यार्थीले आफैँ अस्वीकार गर्छन् । त्यसैले प्राध्यापकहरु पनि पाठ्यक्रम र प्रविधिको विकाससँगै अपग्रेड हुँदै जानु आवश्यक छ । 

इन्जिनियरिङ शिक्षाको क्षेत्रमा वर्तमान अवस्थामा देखिएका मुख्य समस्या र चुनौतीहरु के हुन् जस्तो लाग्छ तपाईंलाई ?

सबैभन्दा मुख्य समस्या भनेको नीतिगत अस्पष्टता नै हो । सरकारले विश्वविद्यालहरुलाई स्वतन्त्र छाड्ने हो वा नियन्त्रण गर्ने हो भन्ने नीति लिइसकेको छैन । कहिले नियन्त्रण गर्न खोजेजस्तो देखिन्छ भने कहिले स्वायत्त छाड्न खोजेजस्तो । विश्वविद्यालयहरु पनि आफ्ना शैक्षिक संस्थाहरुलाई स्वायत्त छाड्नुपर्ने हो वा नियन्त्रण गर्नुपर्ने हो भन्नेमा प्रष्ट छैनन् । हामीले इन्जिनियरिङ कलेज चलाइरहेका छौँ ।

हाम्रो स्वायत्तताको सीमा कहाँसम्म हो ? नियन्त्रणको सीमा कहाँसम्म हो भन्नेमा हामी आफैँ प्रष्ट छैनौँ । यी समस्याले गर्दा सोहीअनुसारको चुनौतीहरु छन् । कहिलेकाहीँ मन्त्रीज्यूहरुले तपाईंहरु ७ वर्षपछि गैरनाफामुखी हुनुपर्छ भनिदिनुहुन्छ । त्यसैले नेपालका इन्जिनियरिङ कलेजहरुको भविष्य के हुने भन्ने कुरा अझै अन्योल छ । 

इन्जिनियरिङ परिषद्को दायराका विषयमा के भन्न चाहनुहुन्छ ? यसको दायरा अलि फराकिलो नभएको हो कि भन्ने लाग्दैन ?

परिषद्ले अहिले शिक्षालाई बढी प्राथमिकतामा राखेको छ । उसले समेट्नुपर्ने इन्जिनियरिङ क्षेत्र भनेको त शिक्षामात्र होइन । कन्सल्टेन्सी, कन्स्ट्रक्सन, उत्पादन उद्योगहरुलाई पनि समेट्नुपर्छ भन्ने मलाई लाग्छ । शिक्षालाई मात्र प्राथमिकतामा राख्दा इन्जिनियरहरुको पेशागत मर्यादा कायम राख्न सकिँदैन कि भन्ने आशंका छ ।

तपाईंहरुले इन्जिनियरिङ र प्रविधि विषयक अन्तर्राष्ट्रिय सम्मेलन गर्नुभयो । त्यसबाट विद्यार्थीहरुले के फाइदा भयो ?
यदि हामीले अनुसन्धानलाई प्राथमिकता दिन सकेनौँ भने इन्जिनियरिङको उपादेयता पनि देखिँदैन । हामीले अन्तर्राष्ट्रिय सम्मेलन गर्नुको अर्थ पनि विद्यार्थीहरुलाई अनुसन्धानमा सम्मेलित गराउनु हो । उनीहरु अनुसन्धान गर्छन्, पेपरहरु लेख्छन्, त्यसमा डिस्कस गर्छन् । देश–विदेशबाट आएका विज्ञले त्यसमा कमेन्ट गर्छन् । त्यसले गर्दा विद्यार्थीको ज्ञानको अभिवृद्धि हुन्छ । त्यो हिसाबले हामीले प्रत्येक वर्ष यस्तो सम्मेलन गर्ने गर्छौँ । 

विद्यार्थीहरुले इन्जिनियरिङ शिक्षाका लागि कान्तिपुर इन्जिनियरिङ कलेज किन रोज्ने ? तपाईंहरुका विशेषता के छन् ?

ठूलो परिसर र सुरुदेखि आफ्नै भौतिक संरचना भएको हामी नेपालकै पहिलो इन्जिनियरिङ कलेज हौँ । प्रयोगशालाहरु राम्रा छन् । अहिलेसम्म हामी कहाँ पढेर पास आउट भएका विद्यार्थीहरुको प्रस्तुति ‘आउटस्ट्यान्डिङ’ छ । सहरी होहल्ला, भीडभाडभन्दा हामी टाढा छौँ । त्यसैले पठनपाठनका लागि हामीले राम्रो वातावरण बनाइदिएका छौँ । प्राध्यापकहरु विज्ञ हुनुहुन्छ । यी र यस्तै कारणहरु त हुन् नि ।

विद्यार्थीहरुलाई तपाईंको केही सल्लाह–सुझाव पनि छ कि ?

सबैभन्दा पहिला विदेशमा एकदमै राम्रो हुन्छ स्वदेश खत्तम हो भन्ने मान्यताभन्दा माथि उठ्नु जरुरी छ । क्षमता भएको विद्यार्थीलाई हरेक ठाउँमा अवसर छ ।

जसको क्षमता छैन र प्रयत्न पनि गर्दैन उसले विदेश जाँदैमा केही गर्न सक्दैन । त्यसैले आफ्नो क्षमतालाई स्वदेशमै प्रयोग गरेर देश निर्माणमा आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्छु । हामी अरुको सबै राम्रो देख्छौँ, आफ्नो सबै नराम्रो देख्छौँ, यो गलत प्रवृत्ति हो । 
 



Your Comments