सरकारले इन्जिनियरलाई देशभित्रै राख्ने वातावरण बनाउनुपर्छः ईं ध्रुव थापा (अन्तर्वार्ता)

सरकारले इन्जिनियरलाई देशभित्रै राख्ने वातावरण बनाउनुपर्छः ईं ध्रुव थापा (अन्तर्वार्ता)

२० वर्षभित्र सिमेन्ट उद्योगमा स्वदेशी इन्जिनियरको वर्चस्व हुन्छ


इन्जिनियर्स नेपाल |  पुस २४, २०७६, काठमाडौं


#
engineersnepal.com

#

विगत ३३ वर्षदेखि इन्जिनियरिङ क्षेत्रमा सक्रिय छन्, इन्जिनियर ध्रुव थापा । नेपाल सिमेन्ट उत्पादक संघमा पुनः सर्वसहमतबाट थप तीन वर्षका लागि अध्यक्षमा नियुक्त भएका उनी अझै पनि इन्जिनियरिङका विद्यार्थीकोे रुपमा आफ्नो परिचय दिन रुचाउँछन् । आफ्ना दुई छोराछोरीलाई पनि इन्जिनियरिङ नै अध्यापन गराई स्वदेशमै बस्न प्रेरित गराएका थापा विदेशिएका युवायुवतीलाई केही वर्ष फिल्डमा खटिएर काम गरे मुलुकभित्र नै राम्रो आम्दानी गर्न सकिने सुझाव दिन्छन् । उनी इन्जिनियरर्स एसोसिएसनमा प्रोफेसनल डेभलपमेन्ट र इन्जिनियर्सहरुको हकहितका लागि काम गरेका व्यक्तित्व हुन् । २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणले इन्जिनियरहरुलाई पहिलोपटक समाजसँग प्रत्यक्ष जोडिएर काम गर्ने मौका दिएको उनको बुझाई छ । उनै थापासँग इन्जिनियर्स नेपाललले गरेको कुराकानी:

संघको दोस्रो कार्यकालमा पनि तपाईं नै अध्यक्षमा सर्वसहमत निर्वाचित हुनुभएको छ ? तपाईंका आगामी योजनाहरु के छन् ?
सिमेन्ट उद्योगलाई दीगो रुपमा सञ्चालन गराउनु नै अबको योजना हुनेछ । नेपालका उद्योगहरुको इतिहास हेर्दा राम्रोसँग सञ्चालनमा आएका उद्योगहरु कालान्तरमा नराम्रोसँग मासिएका उदाहरण हामीमाझ छन् । विभिन्न कारणले त्यस्ता उद्योगहरु बन्द भएका छन् । नीतिगत र अस्वस्थ प्रतिस्पर्धाका कारण उद्योगहरु बन्द हुुने अवस्थामा पुगे । २०४६ यता हेर्ने हो भने औद्योगिक क्षेत्रमा सफल मानिएको गलैंचा उद्योग अहिले दयनीय अवस्थामा छ । गार्मेन्ट, पश्मिना, वनस्पति घिउजस्ता राम्रोसँग सञ्चालन भएका उद्योग ‘कोल्याप्स’ नै भए । त्यसैले यी औद्योगिक उत्पादनको अवस्थालाई मूल्यांकन गरी सिमेन्ट उद्योेगलाई दीगो बनाइराख्ने चुनौती अब सिमेन्ट उत्पादकहरुमाझ छ । सिमेन्ट उद्योगलाई स्थायित्व दिन उत्पादन दीगो र बजार व्यवस्थापनमा ध्यान दिनुपर्छ । आन्तरिक खपत र निर्यातमा मेरो जोड हुन्छ ।


ADVERTISEMENT

नेपालको सिमेन्ट उद्योगमा काम गर्ने प्राविधिकहरु विदेशबाट ल्याउने गरिएको छ । नेपालमा दक्ष प्राविधिकहरु नभएको अवस्था हो या अन्य कुनै कारण छन् ?
खासगरी नेपाली सिमेन्ट उद्योगको उच्च तहमा नेपाली प्राविधिक तथा इन्जिनियरहरु कमै मात्रामा छन् । भए पनि हामीले खोजेजस्तो जनशक्तिको अभाव छ । समग्रमा भन्नुपर्दा नेपालमा यस स्तरमा इन्जिनियरहरु नै छैनन् भन्दा हुन्छ । अर्काेतर्फ नेपालमा ब्रेन ड्रेनलाई रोक्न सकिएकोे छैन । साथै यस्ता प्राविधिकहरु उत्पादन गर्न समय लाग्छ । तत्काल हुने कुरा भएन । 
कुनै एक सिमेन्ट उद्योगमा राम्रो इन्जिनियर उत्पादन गर्न १० देखि १५ र २० वर्षसम्म समय लाग्न सक्छ । नेपालको सिमेन्ट उत्पादनको इतिहास हेटौंडा र उदयपुर सिमेन्टसँग जोडिएको छ । यी दुई उद्योगबाट उत्पादन भएका जनशक्तिहरु न्यून संख्यामा छन् । त्यहाँबाट रिटायर्ड भएकाहरु निजी क्षेत्रका केही सिमेन्ट उद्योगमा कार्यरत छन् । नेपालका सिमेन्ट उद्योगमा हाल २० वर्षदेखि काम गरेका सिनियर इन्जिनियरहरु छन् । केमिकल, मेकानिकल, इलेक्ट्रिकल इन्जिनियरहरु २० देखि २५ वर्षसम्म काम गरेका छन् । अब त्यस लेभलमा पुग्न समय लाग्छ । विस्तारै यो क्षेत्रमा नेपाली प्राविधिक जनशक्तिहरु आउँदै छन् । सकेसम्म नेपाली प्राविधिक जनशक्ति नै प्रयोग गरिएको छ । 

नेपाली इन्जिनियरहरुमा यो क्षेत्रमा काम गर्ने उत्सुकता कस्तो पाउनुभएको छ ?
अहिले तल्लो तथा जुनियर लेभलमा रहेका इन्जिनियरहरुले काम गर्न रुचाएको पाइएको छैन । यो निकै दुःखको कुरा हो । त्यसका विभिन्न कारणहरु हुन सक्छन् । नेपालमा अलिक बढी पढे÷लेखेकाहरु बाहिर जाने संस्कार नै बसेको छ । बीई (ब्याचलर्स अफ इन्जिनियर) पढेकाहरु नेपालमा काम पाइँदैन भनेर विदेशिन हतारिन्छन् । सिमेन्ट उद्योगहरु सहर बजार तथा सुगम स्थानमा हुने उद्योग होइनन् । नेपालमा बसे पनि दुर्गम तथा कारखाना भएको स्थानसम्म जाने इन्जिनियरहरु कम मात्रामा छन् । औद्योगिक वातावरण हुँदा धूलो पनि बढी हुने हुन्छ । २४ घण्टा नै सञ्चालन हुने उद्योग भएकाले सिफ्टमा काम गर्नुपर्ने हुन्छ । यसले गर्दा पनि कम आकर्षित भएको हुनसक्छ । 
सिमेन्ट उद्योगमा बढी मिहिनेत तथा फिल्डमै गएर काम गर्नुपर्छ । खट्नैपर्छ । तर इन्जिनियरहरु यसो गर्न रुचाउँदैनन् । केही वर्ष मिहिनेत गर्ने हो भने यो क्षेत्र आम्दानीको पनि राम्रो स्रोत बन्न सक्छ । त्यसका लागि सुरुमा खटिनैपर्छ । इन्जिनियरिङ भनेको अनुभव नै हो । सुरुमै २० वर्षको अनुभव भएका व्यक्तिको जति सुविधा खोज्नुहुँदैन । 

सिमेन्ट उद्योगमा स्वदेशी प्राविधिक तथा इन्जिनियरहरुको वर्चस्व कायम हुन अझै कति समय लाग्ला ?
हालकै अवस्थामा १०० देखि २०० सम्म इन्जिनियरहरु तत्काल नै खपत हुनसक्ने अवस्था छ । उद्योगहरु बढ्दै जाँदा नेपाली सिमेन्ट उद्योगमा इन्जिनियरहरु खपत हुन्छन् । एउटा सिमेन्ट उद्योगमा कम्तीमा पनि २० केमिकल इन्जिनियरहरु खपत हुुन्छन् । अहिले काठमाडौं युनिभर्सिटीले केमिकल इन्जिनियरिङ पढाउन सुरु गरेको छ । २-३ ब्याच आइसकेको छ । केमिकलमात्र नभएरु अन्य इन्जिनियरिङको स्कोप पनि धेरै छ । 
इन्जिनियरहरु उत्पादन गर्न बाहिरबाट प्रोफेसरहरु ल्याएर अध्यापन गराएको अवस्था छ । इन्जिनियरिङको अध्ययनको क्रम पनि बढेकाले अबको ५ देखि १० वर्षमा नेपाली इन्जिनियरहरु यो उद्योगमा आउनेछन् । तर यसका लागि समय लाग्छ । अबको २० वर्षमा मात्रै नेपाली सिमेन्ट उद्योगमा स्वदेशी इन्जिनियरहरुको वर्चस्व हुनेछ, विदेशी कामदारहरु ल्याउनुपर्नेछैन । 

नयाँ पुस्ताका इन्जिनियरहरु विदेशिने क्रममा छन् । यहाँ भएका इन्जिनियरहरु पनि संघर्षरत छन् । यस्तो अवस्थामा तपाईंले भनेजस्तो २० वर्षमा स्वदेशी उद्योगमा स्वदेशी इन्जिनियरको वर्चस्व कायम गर्न सकिएला र ?
इन्जिनियरिङ क्षेत्रमा लामो समयदेखि काम गरी विज्ञता हासिल गरेका व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरुले आफ्तो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । आफूसँग काम गर्नेहरु तथा अन्य सम्बन्धितलाई ‘मोटिभेट’ गर्नुपर्छ । इन्जिनियरिङ पढेर सहरमै बस्ने भन्ने हुँदैन । दुर्गम भेगको अवस्था तथा देश परिस्थिति पनि बुझ्नुपर्छ । सरकारले पनि इन्जिनियरलाई देशभित्रै राख्ने वातावरण बनाउनु पर्छ । इन्जिनियरहरुले नेपालमा प्रशस्त मात्रामा काम पाउने वातावरण बन्नुपर्छ । नेपालको विडम्बना कस्तो छ भने योजनाले इन्जिनियर पाएका छैनन् भने इन्जिनियरले योजना पाउनसकेका छैनन् । 
अहिले नेपालमा इन्जिनियरिङ पेसा लागत इस्टिमेट गर्ने विषयमा केन्द्रित भइसकेको छ । इन्जिनियरिङ डिजाइन भन्ने कुरा नै नेपालबाट हराउन थालिसकेको छ । प्रोजेक्टलाई इञ्जिनियरिङ गर्ने, डिजाइन र सुपरभिजन गर्ने हो भने त्यसलाई गुणस्तरीय बनाउँदै तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्छ । तर यस्तो हुँदैन । यसरी इञ्जिनियरको काम अहिले निकै सीमित भएको छ । फिल्ड तथा साइटमा जाने र समय बिताउने प्रचलन नै हराउन थालिसकेको छ । एउटा इन्जिनियरले सरदर वर्षमा एउटा प्रोजेक्टलाई ८ मिनेट समय दिन पाउने अवस्था देखिएको छ । यी यावत् समस्यालाई समाधान गर्न हामी सक्रिय हुनुपर्छ । वर्चस्व कायम गर्न अवश्य सकिन्छ ।

राज्यले इन्जिनियरहरुको दरबन्दी नै कम खुलाउँदा यस्तो समस्या देखिएको हो कि ?
हो । अहिले मुलुकभित्र आवश्यक पर्ने इन्जिनियर तथा प्राविधिकको दरबन्दी नै कम छ । प्रशासनिक क्षेत्रको मात्रै दरबन्दी सिर्जना गरेर हुँदैन । कुन निकायमा केको आवश्यकता हो त्यसलाई पनि मध्यनजर गर्नुपर्छ । यस्तो नहुँदा कुनै पनि आयोजनाहरु समयमै सम्पन्न भएका छैनन् भने गुणस्तरका पनि छैनन् । प्रशासनिक कर्मचारीभन्दा १० गुणा बढि प्राविधिक जनशक्तिको दरबन्दी हुनु अहिलेको आवश्यकता हो । काठमाडौंकै हेरौं, एउटा वडामा १ इन्जिनियर मात्रै छन् । उसले घरको नक्सापास गर्न ३ देखि ४ पटकसम्म जानुपर्छ । त्यहाँ मात्रै होइन, सडक, ढललगायत पनि हेर्नुपर्छ । काठमाडौंका एउटै वडामा ५ भन्दा बढी इन्जिनियर चाहिन्छ भने ओेभरसियर पनि चाहिन्छ । गाउँपालिकामा पनि कम्प्युटर अपरेटर आवश्यक हुन्छ भने इलेक्ट्रोनिक इन्जिनियर चाहिने हुन्छ । तर त्यसतर्फ सरकारले चासो दिएको पाइँदैन । 
इन्जिनियरहरुले इन्जिनियरिङ काउन्सिलको स्वीकृतिविना तथा लाइसेन्सविना काम गर्न पाउने अवस्था छैन । तर नगरपालिकामा काम गर्नेले त्यहाँको नियुक्तिपत्र पाएर काम गर्न पाउने अवस्था छ । यस्तो विषयलाई नीतिगत रुपमा नै सुधार गर्नुपर्छ । आयोजनाहरुको प्रकृति हेरी दरबन्दी खुला गराउनुपर्छ र इन्जिनियरहरुलाई साइटमा खटाउनुपर्छ । 

यसका लागि इन्जिनियर्स एसोसिएसनको भूमिका कस्तो हुनुपर्ला ?
अहिले चुनौती बढिरहेको छ । समयसँगै अलि बढी प्रभावकारी भएर अघि बढ्नुपर्छ । उम्मेदवारी दिँदा जिम्मेवारीअनुुसार समय दिन्छु, इन्जिनियरहरुको पक्षमा काम गर्छु भन्ने मनसायका साथ जानुपर्छ । पद लिएर मात्रै हुँदैन । त्यहाँ जानु भनेको यो क्षेधका लागि केही दिन नै हो, आफ्नो व्यक्तिगत फाइदाका लागि केही लिन होइन । त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा भनेको सकारात्मक सोच हो । सोच राम्रो भयो भने काम पनि राम्रै हुन्छ । यसतर्फ उहाँहरुले ध्यान दिनुपर्छ ।

नेपाल सिमेन्टमा आत्मनिर्भर हुँदै गर्दा गुणस्तर कायम चुनौतीपूर्ण बन्दै आएको देखिन्छ । यसतर्फ तपाईंहरुले कत्तिको ध्यान दिनुभएको छ ? 
सिमेन्टमा नेपाल आत्मनिर्भर भइसकेको अवस्था छ । अबको चुनौती भनेकै गुणस्तरीय उत्पादन र सुलभ वितरण हो । गुणस्तर भनेको निरन्तर रुपमा सुधार गरिँदैै लैजाने विषय हो । हामी यसमा सचेत छौं । संसारमा भइरहेका नयाँ–नयाँ इनोभेसन र नयाँ गुणस्तरका मापदण्डहरुलाई आत्मसात् गर्दै अघि बढ्ने नै हो । संसारमा सिमेन्टमा भइरहेको अहिलेको अनुसन्धान भनेको सिमेन्टको गुणस्तर बढाउने, मूल्य घटाउने र यसको उत्पादनबाट हुने प्रदूषण कम कसरी गर्ने भन्ने विषयमा नै हो । 
हामीले नेपाल नापतौल तथा गुणस्तर विभागसँग पनि सिमेन्टको गुणस्तरका विषयमा समय–समयमा छलफल तथा सुझावहरु लिने र दिने काम गरिरहेका हुन्छौं । एनएस चिह्नलाई समयसापेक्ष परिवर्तन गर्न दबाब दिइरहेका छौँ । नेपालको सिमेन्टमा भारतको जस्तै गुणस्तर कायम गर्न भनिएको छ । लाइमस्टोन सिमेन्टहरु, पीपीसी सिमेन्टलगायतमा गुणस्तर कायम गर्न भनिएको छ । सिमेन्टमा हाल कायम गरिएको मापदण्डलाई समयसापेक्ष छिटोछिटो परिर्वतन गर्दै जानुपर्छ । नेपालमा भएको सिमेन्टमा गुणस्तरको खासै समस्या छैन । मुख्य कच्चा पदार्थ चुनढुंगा राम्रो गुणस्तरको छ भने सिमेन्टमा उच्चतम प्रविधिको प्रयोग छ । यति हुँदाहुँदै पनि अब नेपाली सिमेन्ट उद्योगीले सिमेन्टको गुणस्तर र मूल्य कम गराउने विषयमा रिसर्च गर्न बजेट छुट्याउनुपर्छ । गुणस्तरको विषय समयसापेक्ष सुधार हुँदै जानुपर्छ ।

सिमेन्टको उत्पादन लागत बढी हुँदा ग्राहकले सुलभ मूल्यमा सिमेन्ट उपभोग गर्न पाएको अवस्था छैन । यस्तो अवस्था कहिलेदेखि अन्त्य हुन्छ ?
उत्पादन बढेसँगै गुणस्तर र सस्तो तथा सुलभ मूल्यमा उपभोक्ताले सिमेन्ट पाउनुपर्छ भन्नेमा सबै सहमत छौँ । मूल्य कसरी घटाउने भन्ने विषयमा सिमेन्ट उत्पादकहरुको तर्फबाट हुुने काम भइरहेको छ । तत्कालका लागि उद्योगीका तर्फबाट मूल्य घटाउन सकिने अवस्था छैन । भारतको गुणस्तरको मापदण्ड यहाँ कायम भयो भने पीपीसी सिमेन्टको मूल्य अझै २० देखि ३० रुपैयाँ सस्तो पर्न जान्छ । यसैगरी लाइमस्टोनको सिमेन्ट प्रयोगमा आयो भने पनि सस्तो गर्न सकिने आधार हुन्छ । कम क्लिंकर प्रयोग हुने भएमा मूल्य घटाउन सकिन्छ । विश्वमा सिमेन्टकोे गुणस्तर नघटाई सिमेन्टको लागत घटाउनेजस्ता प्रविधि आइसकेका छन् । त्यस्ता प्रविधिको प्रयोगमा नेपाल पनि अग्रसर हुनपर्छ । सरकारले कर बढाउने र जहाँ पनि कर लगाउने प्रचलन बन्द गर्नुपर्छ । सिमेन्टको उपभोेक्ता मूल्य कम गर्न सरकारले पनि सहुलियत दिनुपर्छ । 

सिमेन्टमा वैदेशिक लगानी भित्र्याउने विषयमा सिमेन्ट उत्पादकहरु त्यति उत्साहित देखिँदैनन् । किन ?
सिमेन्टमा वैदेशिक लगानी भित्र्याउन पाइँदैन भनेको हुँदै होइन । सिमेन्टमा वैदेशिक लगानी आवश्यक छैन भन्न खोजेको हो । यहाँ स्वदेशी लगानी नै पर्याप्त मात्रामा भएको छ । अहिले नै यो उद्योगमा लगानी बढी भइसकेको छ । अहिले भएका उद्योगले १० वर्षको माग धान्न सक्छन् । सरकारले पनि उद्योगहरु संरक्षण गर्नुपर्छ । तथ्यांक तथा डाटाबेस बनाएर काम तथा लगानीका लागि सूचना प्रवाह गर्नुपर्छ ।

अहिले तपाईंहरु सिमेन्टको आन्तरिक खपतमा मात्र केन्द्रित हुनुहुन्छ या निर्यातका लागि पनि केही गर्दै हुनुहुन्छ ?
समृद्ध नेपालः सुखी नेपाली नारालाई साकार बनाउन सरकार लागिपरेको छ । यसलाई साकार पार्न पूर्वाधार विकासमा तीव्रता आउन जरुरी छ । कंक्रिट सडक बढाउनुपर्छ । कंक्रिट सडकमा जाँदा खपत बढ्नुका साथै ४० वर्षसम्म टिकाउ हुन्छ । मर्मतसम्भार खर्च पनि अत्यधिक कम पर्न जान्छ । विटुमिन ल्याउन विदेशिने रकम रोकिन्छ भने आन्तरिक सिमेन्ट उद्योगहरु फस्टाउँछन् । कंक्रिट सडक बनाउँदा २० प्रतिशत इन्धन बचत हुन्छ । सुरक्षित र दिगो संरचना तथा आवास निर्माणमा पनि सिमेन्टको प्रयोग बढाउन सकिन्छ । नीतिगत सुधार गर्दै उत्पादन भएको सिमेन्टकोे आन्तरिक खपत बढाउन सरकारी स्तरको भूमिका महत्वपूर्ण हुन्छ । साथै, सिमेन्टको खपत बढाउन निर्यातको पाटो पनि महत्वपूर्ण छ । निर्यातका लागि हामीले हरसम्भव प्रयास गरिरहेका छौँ ।
 

इन्जिनियर्स नेपाल म्यागजिनबाट



Your Comments