अबको जोड पूर्वाधार विकासमा:  इ.कपिल आचार्य (अन्तर्वार्ता)

अबको जोड पूर्वाधार विकासमा:  इ.कपिल आचार्य (अन्तर्वार्ता)


इन्जिनियर्स नेपाल |  भदौ २२, २०७६, काठमाडौं


engineersnepal.com

युवा इञ्जिनियर कपिल आचार्य नेपाल इञ्जिनियर्स एसोसियसनको उप महासचिव पदमा कार्यरत छन् । गत मंसिरमा भएको एसोसियसनको निर्वाचनबाट अत्यधिक मतसहित सो पदमा निर्वाचित आचार्य एसोसियसनलाई नयाँ उचाईमा पु¥याउने अठोटसहित निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गर्न लागिपरेको बताउँछन् ।

आचार्यले नेपाल इञ्जिनियरिङ कलेजबाट ब्याचलर्स इन सिभिल इञ्जिनियरिङ (बिई सिभिल) र कन्स्ट्रक्सन मेनेजमेन्टमा एमएस्सी अध्ययन गरेका छन् । पूर्वविद्यार्थी नेतासमेत रहेका आचार्य आफ्नो अध्ययन पुरा गर्नासाथ विद्यार्थी राजनीति छाडेर व्यवसायिक ढंगबाट इन्जिनियरिङ पेसा अंगालेको बताउँछन् ।

चुनावी प्रतिवद्धता अनुसार नै इन्जिनियरहरुलाई बीमा पोलिसीमा सहभागी गराइएको, इञ्जिनियर्स एसोसियसनमा इञ्जिनियरहरुको आकर्षण बढाउने गरी एसोसियसनले कार्यक्रम गरिरहेको, इञ्जनियर्स स्टाफ कलेज खोल्ने र त्यसलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने प्रयत्न भइरहेको, नयाँ प्रविधि भित्र्याउन पहल गरिएको आचार्यको भनाई छ । आचार्यसँग इन्जिनियरहरुका समस्या, इन्जिनियर्स एसोसियसनका गतिविधि तथा आगामी योजनाबारे गरिएको कुराकानीको सम्पादित अंशः

तुलनात्मकरुपमा कमै उमेरमा नेपाल इन्जिनियर्स एसोसियसनको उपमहासचिव जस्तो जिम्मेवार पदमा पुग्नुभएको छ । कस्तो महसुस भएको छ ?

इन्जिनियर्स एसोसियसनको कुनै पनि पदमा पुग्नलाई कम्तिमा पाँच वर्ष एसोसियसनको सदस्य हुनुपर्ने विधानमा प्रावधान छ । म एसोसियसनको सदस्य भएको पाँच वर्ष भन्दा बढी समय भइसकेको छ ।

विगतका उपमहासचिव वा पदाधिकारी भन्दा कमै उमेर भएपनि मैले लिएको जिम्मेवारी वा मैले गर्ने व्यवहारका आधारमा आफूलाई कम उमेरको भएजस्तो महसुस मलाई हुँदैन । मैले लिएको जिम्मेवारी र गर्ने भूमिकामा कहीँ कम उमेरका कारण समस्या आएजस्तो पनि लाग्दैन । युवाहरुको काँधमा ठूलो जिम्मेवारी छ र युवाहरुले नै राज्य निर्माणको जिम्मा लिनुपर्छ । मैले पनि सोही जिम्मेवारी बोध गरेको छु ।

अहिलेको अवस्थासम्म पुग्न कत्तिको संघर्ष गर्नुपर्यो ? संघर्षअनुसारको फल प्राप्त भएको लाग्छ या लाग्दैन ?

एउटा भनाई छ नि, ‘कर्म गरौँ, फलको आश नगरौँ ।’ मान्छेले फलको आश नगरी कर्म गर्दै जाने हो । अन्य साथीहरु विद्यार्थी राजनीतिमा लागेपछि पटक–पटक निर्वाचनमा भाग लिने, विद्यार्थी राजनीतिलाई नै अगाडि बढाउन प्रयास गर्ने अनि सफल नभएपछि मात्रै अन्यत्र लाग्ने गर्नुहुन्छ ।

तर, मैले विद्यार्थी राजनीति स्वेच्छाले छाडेको हुँ । धेरै साथीहरुले विद्यार्थी राजनीतिलाई नै अगाडि बढाउन आग्रह गर्दागर्दै पनि म सधैं विद्यार्थी रहँदिन, त्यसकारण अब व्यवसायिक ढंगले अघि बढ्नुपर्छ भन्ने निष्कर्षका साथ ‘मास्टर्स डिग्री’ पुरा गर्नासाथ पेशागत रुपमा अघि बढें ।

पेशागत इमानदारिता, पेशासँग सम्बद्ध कार्यक्रममा निरन्तर जाने, बहस पैरवी गर्ने, आफूलाई सही लागेका कुराहरु राख्ने स्वभावका कारण मेरो समुदायले मलाई एसोसियसनको उपमहासचिव पदमा उठ्न आग्रह गर्यो र अत्यधिक मतका साथ अनुमोदन पनि ग¥यो । आफ्नो पेशागत इमानदारिता र समुदायको म प्रतिको विश्वासले यो स्थानमा पु¥याएको अर्थमा यसलाई लिएको छु ।
 
तपाईं इन्जिनियरका समस्या बुझ्ने र त्यसको समाधानका लागि पहल गर्ने निकायमा हुनुहुन्छ । समस्या र तिनको समाधानबारे के–कस्तो पहल गरिरहनुभएको छ ?

इन्जिनियरिङ क्षेत्रमा थुप्रै समस्याहरु छन् । जुन समस्यालाई राष्ट्रकै समस्यासँग जोड्नुपर्छ । इन्जिनियरिङ क्षेत्र राज्यकै एउटा अंग भएकाले राज्यका समस्याले यो क्षेत्रलाई पनि प्रभावित पार्छ । अहिलेसम्म हामी राजनीतिक आन्दोलन र परिवर्तनमा सामेल भयौँ । त्यसले गर्दा हामीले इन्जिनियरहरुलाई देशका लागि आवश्यक विकासमा पूर्वाधार निर्माणलगायतका कार्यमा प्रतिबद्ध भएर लगाउन सकेका छैनौँ ।

जसले गर्दा इन्जिनियरहरुबाट राखिएको अपेक्षा पुरा हुन सकेको छैन । त्यसको मूल कारण भनेको विगतमा भएका राजनीतिक आन्दोलन र त्यसले पारेको सामाजिक, सांस्कृतिक प्रभावका हो । 

अहिले इन्जिनियरिङ समुदायका साथीहरुले आफूले भनेजस्तो काम नपाइरहेको भन्ने थुप्रै गुनासाहरु पनि आइरहेका छन् । इन्जिनियरको संख्या आवश्यक भन्दा बढी उत्पादन भएको भन्ने पनि यदाकदा सुनिन्छ । यद्यपी यो विषयमा अहिलेसम्म कसैले अध्ययन गरेको छैन । कुनै पनि सरकारी वा गैरसरकारी निकायले यसको अध्ययन नगरेका कारण हाम्रो आवश्यकता के हो ?

कुन क्षेत्रका इन्जिनियरको के कति आवश्यकता हो ? भन्ने प्रष्ट हुन सकेको छैन । बढी भएको क्षेत्रलाई कम गर्नुपर्ने वा कम भएकोलाई बढाउनुपर्ने हुन्छ । यसबारे अध्ययन नभएकाले अनेकन समस्याहरु उत्पन्न भएका छन् ।

राज्यले लिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारालाई पुरा गर्न इन्जिनियरहरुको पुर्वाधार विकासमा महत्वपूर्ण भूमिका हुन्छ । यसमा राज्यले नै सही ढंगको नीति लिनुपर्छ । हामीले इन्जिनियर्स एसोसियसनका तर्फबाट राज्यलाई घचघच्याउने काम गरिरहेका छौँ । 

इन्जिनियरहरुको ‘ब्रेन ड्रेन’ को समस्यालाई कसरी लिनुभएको छ ?

इन्जिनियरहरु देश बाहिर जानै नहुने भन्ने होइन । बाहिर गएर सिप सिकेर फर्कनु राम्रो कुरा हो तर, यहाँबाट बुबाआमाले कमाएको सम्पत्ति लगेर बाहिर पढ्ने र उतैतिर पलायन हुने कुरासँग हाम्रो सहमति छैन । राज्य वा आम जनताको पनि यस्तो अपेक्षा हुँदैन । बाहिर गएर पढेर नयाँ ज्ञान, सिप वा नयाँ प्रविधि सिकेर नेपालमा ल्याएर प्रयोग गर्न थाल्नु भने राज्यका लागि फाइदाजनक कुरा हो । 

इन्जिनियरिङ क्षेत्रमा दुई खालको प्रवृद्धि छ, पहिलो बाहिर गएर पढ्ने र उतै सेटल हुने । दोस्रो बाहिरबाट अध्ययन गरेर फर्कने र नेपालको विकास निर्माणमा सहयोग गर्ने । यसका लागि राज्यले बाहिर अध्ययन, पेसा, व्यवसाय गरिहेका ब्यक्तिका लागि देशमा आकर्षित गर्नुपर्छ ।

उनीहरुले पाउने सेवा सुविधा तथा काम गर्ने वातावरण पनि त्यसरी नै निर्माण गर्नुपर्छ । नेपाल इन्जिनियर्स एसोसियसनले आफ्ना सदस्यहरुलाई त्यही ढंगको ‘स्कुलिङ’ गरिरहेको छ । बाहिर गएका इन्जिनियरहरुलाई पनि स्वदेश फर्कन हामीले प्रोत्साहन गरिरहेका छौँ र सम्बन्धित देशका इन्जिनियरिङ एसोसियसनहरुसँग समन्वय पनि गरिरहेका छौँ । 

इन्जिनियरिङ क्षेत्रमा अनावश्यक राजनीति हाबी भयो भन्ने जनगुनासो सुनिन्छ । यस्तो किन भइरहेको होला ?

गाउँ घरमा सानोतिनो झै–झगडा भयो भने पनि ‘यहाँ राजनीति घुस्यो’ भन्ने हाम्रो चलन छ । त्यो के हो भने राजनीतिलाई हामीले गलत ढंगबाट हेर्यौं  भन्ने मलाई लाग्छ । हामीले एसोसियसनको ५७ औँ स्थापना दिवसमा एउटा राजनीतिक बहस नै गरायौँ । कार्यक्रमको एउटा सेसनमा पूर्वप्रधानमन्त्रीसहित विभिन्न दलका युवा नेताहरुलाई बोलाएर बहसमा सहभागी गरायौँ । 

हामीले राजनीतिलाई नराम्रो ढंगबाट मात्रै हेर्दै आयौँ । राजनीति केवल दलीय कुरा मात्रै होइन । नीतिहरुको राजा पनि हो । हामीले जतिसुकै बहस, छलफल, कार्यक्रम गरेपनि राम्रो नीति बनेन भने त्यसको अर्थ हुँदैन । त्यसकारण राजनीति हुनुपर्छ । तर, त्यो विकास, निर्माण, सुसाशन र समृद्धिका लागि हुनुपर्छ । कसैको पद प्राप्ति वा कसैको ब्यक्तिगत वा गुटगत स्वार्थका लागि हुनु हुँदैन ।

पार्टीगत आस्था हरेकको आ–आफ्नो हुन्छ । हामीले नीतिगत कुरामा, चेतनामा, हिजो प्रयोग गरेका कुरा र आजको आवश्यकता आदी कुरामा बहस गर्ने हो । अहिलेको नयाँ प्रविधिको विकास र बदलिँदो परिस्थितिमा हाम्रो अबको नीति कसरी अगाडि बढ्ने भन्ने कुरामा बहस हुन जरुरी छ । सकारात्मक नीतिगत बहसलाई अन्यथा लिनु हुँदैन ।

इन्जिनियर्स एसोसियसनको आगामी योजना के–कस्ता छन् ?

तत्काल नयाँ योजना भन्दा पनि हामीले निर्वाचनको समयमा गरेका प्रतिवद्धता पुरा गर्ने प्रयत्न गरिरहेका छौँ । हामीले इन्जिनियरहरुको बीमा कार्यक्रमलाई महत्वका साथ उठाएका थियौँ । त्यो कामलाई अहिले अन्तिम चरणमा पुर्याएका छौँ । करिब १२ हजार १ सय इन्जिनियरहरु बीमा पोलिसीमा सहभागि भइसकेका छन् । छुटेकाहरुका लागि म्याद थपिएको छ ।

त्यसैगरी इन्जिनियरिङ हाइड्रोको विषयलाई अगाडि बढाएका छौँ । इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको पनि अन्तिम चरणमा छौँ । सम्भवतः स्टाफ कलेज गठनका लागि मन्त्रालयले ऐन संशोधन गर्न संसदमा पेश गर्ने क्रममा छ । अहिलेसम्म इन्जिनियरिङ स्टाफ कलेजको कुरा मात्रै उठेको थियो । तर अब, स्टाफ कलेज मात्रै होइन, यसलाई रिसर्च सेन्टरका रुपमा पनि अगाडि बढाउनुपर्छ भन्ने उद्धेश्यका साथ इन्जिनियरिङ एसोसियसनले यसलाई ‘इन्जिनियरिङ स्टाफ कलेज तथा रिसर्च सेन्टर’ का रुपमा अगाडि बढाएको छ ।

यस्तै, पूर्वाधार विकासका लागि पनि हामीले राष्ट्रियस्तरका बहस, छलफलहरु चलाएका छौँ । जस्तो कि हामीले निजगढ विमानस्थलको बारेमा बहस चलायौँ । सिक्टा सिंचाई आयोजना नेपालीहरुको पञ्चायत कालदेखिको सपनाको आयोजना थियो । त्यसमा केही समस्याहरु आएपछि कतिपय मानिसहरु त्यसलाई तुहाउने खेलमा लागेका थिए । तर, हामीले कमजोरी सच्याउँदै नयाँ ढंगले अगाडि बढाउनुपर्छ भन्ने प्रयत्न गर्यौं र मन्त्रीजीलाई यसबारे कन्भिन्स पनि गर्न सक्छौँ । त्यसकै परिणामस्वरुप सरकारले काम अगाडि बढाएको छ ।

यसैगरी, हामीले इन्जिनियरिङ क्षेत्रका समस्याहरु सुन्नका लागि ‘इन्जिनियरिङ सभा’ गर्ने गरेका छौँ । यसरी इन्जिनियरहरुका गुनासोहरु सुन्ने र सम्बन्धित निकायसँग छलफल गरेर समस्याको समाधान गर्ने प्रयास पनि भइरहेको छ ।
 



Your Comments