इन्जिनियरहरु जागिरे मानसिकताबाट माथि उठ्नुपर्छः ई.प्रा. हिरेन्द्रमान प्रधान (अन्तर्वार्ता)

इन्जिनियरहरु जागिरे मानसिकताबाट माथि उठ्नुपर्छः ई.प्रा. हिरेन्द्रमान प्रधान (अन्तर्वार्ता)


इन्जिनियर्स नेपाल |  भदौ १५, २०७६, काठमाडौं


#
engineersnepal.com

#

ई.प्रा. हिरेन्द्रमान प्रधान चार दशकदेखि इन्जिनियरिङ क्षेत्रमा कार्यरत छन् । लामो समय केन्द्रीय क्याम्पस पुल्चोकमा प्राध्यापन गरेका उनी पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराको क्याम्पस प्रमुखसमेत बने । त्रिभुवन विश्वविद्यालयको योजना महाशाखामा काम गरेका प्रधानसँग बीचमा एक बर्ष राष्ट्रिय योजना आयोगको सदस्यका रुपमा काम गरेको अनुभव पनि छ । 

लामो समयसम्म नेपालको इन्जिनियरिङ शिक्षालाई नजिकबाट नियालेका प्रधान अहिले भने काठमाडौं इन्जिनियरिङ क्याम्पस (केइसी)का अध्यक्ष तथा प्रिन्सिपल छन् । उनी इन्जिनियर्स एसोसिएशनको ३२ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा लोकतान्त्रिक समूहको नेतृत्व गर्दै अध्यक्ष पदको उम्मेदवार पनि थिए । तर, निर्वाचनमा पराजित भए ।


ADVERTISEMENT

नेइएमार्फत इन्जिनियरिङ क्षेत्रमा केही परिवर्तन गराउँछु भनेर कस्सिएका उनी हालको इन्जिनियरिङ एशोसिएसनको टिमले गरिरहेको कामको मुल्याङ्कन कसरी गरिरहेका छन् ? विभिन्न समसामयिक विषयमा प्रधानसँग गरिएको कुराकानीको सम्पादित अंशः 

तपाईं नेइएको अध्यक्षमा उठेर पराजित हुनुभयो । निर्वाचित टिमको कामको मुल्याङ्कन चाहीँ कसरी गरिरहनुभएको छ ?

नेइएको टिमको कामलाई मैले नजिकबाट हेरेको छैन । जितेपछि टिमले सबै इन्जिनियरको हकहितका लागि काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । आगामी दिनहरुमा यसको परिणाम बाहिर पक्कै आउनेछ । नेइएको कामको समिक्षा इन्जिनियरहरुले नै गर्ने छन् । 

यसको मतलब नेइएको अहिलेको टिमले गरेको काम तपाईंलाई चित्त बुझेको छैन ?

नेइएले इन्जिनियरका सबै समस्या सरकारलाई बुझाउन सकेको भए इन्जिनियरले स्थानीय तहमा छैटौं तहमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने थिएन । इन्जिनियरहरु व्यवस्थापनमा अब्बल हँदा हुँदै पनि प्रशासनिक कर्मचारीभन्दा तल्लो तहमा बसेर काम गर्ने कुराप्रति सअहमति जनाउँदै राम्रोसँग अगाडि सार्नुपर्ने थियो । नेइए केवल दुई–चार जनाका लागि राजनीतिक नियुक्ती खान आफ्नो प्रोफाइल बढाउने थलो बनेको छ । यस्तो सोचले इन्जिनियरिहरुको आवाज कमजोर  हुँदै जाने सम्भावना छ । 

तपाईं आफै पनि कुनै पार्टीको विचार समूहको नेतृत्व गर्दै चुनावमा उठ्नु भयो । अहिलेको तपाईको कुरा र चुनावमा उठ्दाको सन्दर्भले त मेल खाँदैन नि ?

राज्यका सबै क्षेत्रमा राजनीतिक प्रभाव हटाएको भए त समस्या हुँदै हुँदैनथ्यो नि । त्यहाँ गएर पनि दुई चार वटा काम गर्ने उदेश्य थियो मेरो । इन्जिनियरलाई व्यावसायीक बनाउनुपर्ने छ । हामी आठौं तहमा इन्ट्री मागिरहेका छौं तर, छैठौमा बस्नु परेको छ । तलब निजामति कर्मचारीसँग बराबर छ । यस्तो पनि हुन्छ ? यो विषयमा सम्पूर्ण इन्जिनियरहरुले आवाज उठाउन सक्नुपर्छ । 

सेवा–सुविधा कम हुँदा इन्जिनियर धेरैतिर काम गर्न बाध्य छन् । सरकारकै इन्जिनियर पनि कन्सलट्यान्ट भएर अन्यत्र काम गरिरहेका छन् । एउटा व्यक्तिले एकतिर काम गर्दा पो शतप्रतिशत नतिजा दिन सक्छ ।

यो समस्या कसरी हटाउने सकिन्छ ? उपाय पनि बताइदिनुस् न ?

सरकारले एउटा इन्जियिरलाई आवश्यक समान किन्ने, बालवच्चा सहज ढङ्गले पालनपोषण गर्न, पढाउन सक्ने गरी सेवा–सुविधा दिनु पर्छ । जो जुन स्थानमा छ, त्यहिँ राम्रो गर्ने वातावरण बनाउन सक्नुपर्छ ।

नेइएमा बसेर राजनीति गर्ने प्रबृत्तिका कारण पनि धेरै कुरा बिग्रिएको छ । इन्जिनियरले राजनीति गर्ने भए नेइए छाड्नुपर्छ । दुई वटा डुङ्गामा गोडा राखेर कुनै गन्तव्यमा पुग्न सकिँदैन । यो अभ्यास गर्न सक्दा मात्रै परिणाम आउँछ । शिक्षामा राजनीति गरेर देश विकास हुन्छ त ? हुँदैन । 

नेइएकै पहलमा बीमा, स्टाफ क्याम्पसको अवधारणालगायतका राम्रा काम पनि सुरु भएका छन् । यसलाई तपाईंले कसरी लिनुभएको छ ?

बीमा कार्यक्रम एकदम राम्रो सुरुवात हो । इन्जिनियरिङ स्टाफ क्याम्पसको विषय पनि अगाडि बढेको छ । यो एकदम सान्र्दभिक कुरा हो । इन्जिनियरले कसरी काम गर्ने भन्ने जान्नका लागि ट्रेनिङहरु पनि चाहिन्छ । कतिपय देशमा इन्जिनियर्स एसोसियसन इन्सिच्युट कै रुपमा छ । त्यहिँबाट ट्रेनिङ दिइन्छ । तर, हाम्रोमा एनजिओजस्तो भयो । बनाउनुपर्ने हाम्रोमा पनि एसोसियसनलाई इन्स्टीच्युट जस्तै हो । त्यो गर्न नसकेपछि स्टाफ क्याम्पस खोल्ने भन्ने कुरा भएको हो । 

नेइए प्रदेश संरचनामा पनि अभ्यासरत छ । यसको काम कारबाहीलाई कुन रुपमा हेरिरहनुभएको छ ?

नेइए प्रदेश संरचनामा गएको छ । यसका कतिपय राम्रा÷नराम्रा पक्षमा कुरा भएका होलान । मेरो बुझाईमा यसको प्रदेश संरचना नै चाहिँदैन । विकेन्द्रिकृत गर्ने हो भने स्थानीय तह र केन्द्र भए पुग्छ । प्रदेश संरचनाका लागि अलि हतारमा निर्णय गरेको जस्तो लाग्छ । 

इन्जिनियरिङ काउन्सीलको कामको पनि थोरै समिक्षा गरौं न । कस्तो काम गरिरहेको छ ?

इन्जिनियरिङ काउन्सीलले क्याम्पसहरुको अनुगमन गर्ने हो । कसलाई सम्बन्धन दिन हुने÷नहुने, सम्बन्धन दिएकाहरुको अवस्था के छ भनेर हेर्ने हो । क्याम्पसहरुका भौतिक संरचनाहरुको अवस्था कस्तो छ भनेर अनुगमन गर्ने र आवश्यक कारबाहिका लागि सम्बन्धित विश्वविद्यालयलाई सिफारिस गर्ने हो । यो काम काउन्सीलले गरिरहेको त छ तर, जति गर्नुपर्ने हो त्यति गरेको छैन । 

कुनै क्याम्पसले एउटै भवनमा दुई वटा फरक कार्यक्रम चलाइरहेको हुन्छ । काउन्सीलले आफ्नो धारणा दिँदैन । म पहिले काउन्सील सदस्य हुँदा नै मैले भनेको थिएँ, समुदायमा आधारित क्याम्पस खोल्नेमा नियमै लाग्दैन भनिदिउँ न । म त्यसमा सकारात्मक छु । यहाँ त नियम एउटा छ, कार्यान्वयन अर्कै हुन्छ । एउटा क्याम्पस खोल्न १० रोपनी जग्गा चाहिन्छ । संस्था दुई वटा भएपछि २० रोपनी चाहियो कि चाहिएन ? एउटै पुर्वाधार देखाएर दुई वटा क्याम्पसको सम्बन्धन लिन त भएन नि । यहाँ त सरकारी, सामुदायिक र नीजि क्याम्पसहरुलाई हेर्ने दृष्ट्रिकोण फरक भएजस्तो लाग्छ । कि नियम नै फरक–फरक बनाउनुपर्यो होइन भने नियम कार्यान्वयन सबैलाई एउटै हुनुपर्यो ।

आइओइले पाठ्यक्रम परिवर्तन गरेर इलोक्ट्रोनिक्स कम्युनिकेशन इन्फरमेसन इन्जिनियर थपेको छ । यसलाई कसरी लिनुहुन्छ ?

आइओइले पाठ्यक्रम परिवर्तन गरेर इलोक्ट्रोनिक्स कम्युनिकेशन इन्फरमेसन इन्जिनियर भनेर थपेको छ । पाठ्यक्रमको विषयमा के गर्ने भन्ने आइओइको अधिकार हो तर, उसको निर्णय पाठ्यक्रमअनुसार छ वा छैन भनेर हेर्ने चाहीँ काउन्सीलले हो । अहिलेको जमाना सूचनाको हो र सूचनालाई पाठ्याक्रममा जोडनुपर्ने थियो जोडियो । 

इन्जिनियरलाई आवश्यक सफ्टवयरका ट्रेनिङ पाठ्यक्रममा राख्न मिल्छ कि मिल्दैन ? जुन कुरा सिक्न अहिले विद्यार्थी इन्सिच्युट धाउन बाध्य छन् ?

केही विषय पाठ्यक्रममा राख्न सकिँदैनजस्तो लाग्छ । पाठ्यक्रममा नै नभए पनि केही सफ्टवेयरको ट्रेनिङ क्याम्पसले आफ्नो पहलमा दिँदै आएको छ । सिकेको कुरामा आत्मविश्वास नबढेकाहरु इन्च्यिुटमा जाने गर्छन् । धेरै विद्यार्थीहरुले यसलाई सकारात्मक रुपमा लिएका छन् । ‘JAVA’ जस्ता विषयहरु पाठ्यक्रममा राख्न मिल्दैन । तर यस्ता आवश्यक बिषयहरुको ट्रेनिङ कक्षा संचालन गरिराखेका छौं । भर्खरै मात्रै जाभा ट्रेनिङमा ४० जनाका लागि कक्षा सञ्चालन गरी ट्रेनिङ दिईसकेका छौं । यसका साथ साथै SAP, Auto CAD, Civil 3D , को पनि ट्रेनिङ दिइरहेका छौं ।

इलोक्ट्रोनिक्स इन्जिनियरिङमा विद्यार्थीका रुची नदेखएको कि देखाउन नसकिएको ?

इलोक्टोनिक्समा स्कोप देखाउन सकिएन  । त्यसकारण यसतर्फ आर्कषण कम छ । राष्ट्रले नै  अहिलेको जमानामा चार वटा चीज एआई, रोबटिक्स, ड्रोन र इडब्लुसीमा जान सक्नुपर्छ भनेर बुझाउनुपर्छ । अहिले नै यी विषयलाई माथि लान सकेनौं भने इगर्भमेन्सको कुरा कसरी अगाडि बढ्छ ? यसका लागि इन्जिनियरले घरमा बसेर धेरै काम गर्न सक्ने वातावरण हुनुप¥यो । त्यसका लागि हाई स्पीडको इन्टरनेट चाहियो । 
२० वर्ष अगाडि सिभिल इन्जिनियरिङ नभई सबै इलोक्ट्रोनिक्स पढ्थे । अहिले आएर इलोक्ट्रोनिक्समा कम आकर्षण छ । यी चार वटा विषयलाई प्राथमिकता दिइएन भने नेपालमा इलेक्ट्रोनिक्सको स्कोप घट्नुको साथै यसले देश विकासमा पनि ठूलो असर पार्नेछ । मान्छेलाई काम गर्न भन्दा रोबटिक्सले काम गर्दा सहज हुन्छ । तर, त्यो बनाउने मान्छे चाहियो नि । त्यसका लागि इलोक्टोनिक्स इन्जिनियर चाहिएन र ? कम्युटर चाहिएन र ? सबै चाहिन्छ । तर, वातावरण बनाउन पहल गरिएको छैन । 

समस्या कहाँनेर छ त ?

इन्जिनियरहरु पास हुने वित्तिकै अमेरिका र अष्ट्रेलिया जाने तयारी गर्छन् र जान्छन् पनि  । समस्या यहाँनेर पनि छ । त्यसकारण राज्यले नेपालमै काम गर्ने वातावरण तयार गर्नुप¥यो । वातावरण तयार भयो भने विदेश पढ्न गएपनि काम गर्न आफ्नै देश फर्किन सक्छन् । 

स्वदेशमै राम्रा कन्सल्ट्यान्ट हुँदा हुँदै विदेशी ल्याउने गरिन्छ । किन ? यस्ता कुरामा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । 

आइओइको प्रवेश परीक्षाकै विषयमा पनि प्रश्न उठ्ने गरेको छ । पाटन उच्च अदालतले एकै दिनमा परीक्षा गर्नु भन्ने आदेश दिए पनि त्यसो हुन सकेको छैन । यसमा तपाईंको धारणा के छ ?

आइओइको प्रवेश परीक्षा सुरुका दिनमा पेपरमा टिक लगाउन लगाएर लिइन्थ्यो भने हाल कम्युटरमार्फत लिइन्छ । कम्युटरबाट जाँच गर्दा एकै दिनमा पनि सकिन्छ । त्यसका लागि कम्प्युटर बढाउनुपर्ने हुन्छ । यस्तो हुँदा सबै विद्यार्थीलाई एउटै प्रश्न हुन्छ । त्यस्तै नीजि क्याम्पसलाई पनि विश्वास गर्नुपर्छ । उनीहरुको ल्याब प्रयोग गरेर एकै दिनमा पनि परीक्षा सम्पन्न गर्न सकिन्छ । 

अदालतको निर्देशनको विषयमा राम्रो–नराम्रो भनेर अहिले केही नभनौं । किनभने अदालतको निर्देशनको विपक्षमा अआइओइले सर्वोच्चमा मुद्वा दर्ता गरेको छ । अन्तिम फैसला हुन अझै बाँकी छ ।

यहाँँ फेल भए विदेश गएर पढ्ने प्रचलन पनि छ । यसलाई कसरी लिनुभएको छ ? 

यो समस्या समाधानका लागि कक्षा १२ पास भइसकेपछि उनीहरुलाई पास–फेल गर्न हुँदैन । ¥याङिकङ गर्नुपर्छ । किनभने यहाँ ६ हजार जति आइओइ इन्ट्रान्समा पास भए भने दुई हजारले पढ्दै पढ्दैन । विद्यार्थी नै नपुगेपछि धेरै क्याम्पसहरु खाली भएका छन् । यहाँको प्रवेश परीक्षामा फेल भएको त्यहि विद्यार्थी भारतमा गएर डिस्टिङ्सन लिएर आउँछ । भारतमा वर्षमा १५ लाख इन्जिनियरहरु उत्पादन हुन्छन् भने त्यसमध्ये १२ लाखले काम पाउँछन् । यहाँ फेल हुने तर उता गएर सजिलैसँग पास भएर आउने जनशक्ति हामीलाई काम लाग्छ ? यसतर्फ सम्बन्धित पक्षले ध्यान दिनुपर्छ ।

अहिलेका इन्जिनियरहरुलाई तपाईंको सुझाव के छ ?

अहिलेका इन्जिनियरहरुमा जागिर खाने मनोवृत्ति छ । इन्जिनियरले जागिरमात्र खाने होइन उधमी बन्नुपर्छ । रोजगारी सृजना गर्नतिर लाग्नु पर्छ । - इन्जिनियर्स नेपाल मासिक पत्रिकाबाट

 



Your Comments