३ वर्षमा बढे १६ हजार इन्जिनियर

३ वर्षमा बढे १६ हजार इन्जिनियर

सिभिल इन्जिनियरको संख्या ४४ प्रतिशत


इन्जिनियर्स नेपाल |  साउन ५, २०७९,


engineersnepal.com

नेपाल इन्जिनियरिङ परिषद्को पछिल्लो (२०७९ साल जेठ) को तथ्याङ्क अनुसार नेपालमा ७० हजार ७२२ जना इन्जिनियर छन् । 


यो तथ्याङ्क पछिल्ला केही वर्षको तुलना गर्ने हो भने पनि निकै बढेको छ । तीन बर्ष अगाडि २०७६ मा ५५ हजार इन्जिनियर दर्ता थिए । यो तीन बर्षमा करिब १६ हजार इन्जिनियर बढेको छ । 


ADVERTISEMENT


वार्षिक रुपमा थपिए पनि ३० प्रतिशत भन्दा बढी इन्जिनियर देश बाहिरै रहेको बिभिन्न औपचारिक अनौपचारिक तथ्याङ्क रहेको छ । स्वदेशमा रोजगारीको व्यवस्था नहुँदा झन्डै आधाजसो इन्जिनियर पलायन भएका छन् ।

राज्य निर्माणका लागि दक्ष जनशक्ति मानिने इन्जिनियरिङ अध्ययनमा युवा रुचि बढे पनि कामको खोजीमा उनीहरु विदेसिन बाध्य भएका हुन् । ३० प्रतिशत इन्जिनियर अध्ययन सकेर बाहिरिएको सरकारी तथ्यांक छ ।

महिला इन्जिनियर : १२ प्रतिशत मात्रै

परिषद्को पछिल्लो तथ्याङ्क अनुसार महिला इन्जिनियरहरु निकै कम रहेका छन् । ८ हजार ७४८ महिला इन्जिनियर छन् भने पुरुष इन्जिनियर ६१ हजार ९७४ रहेका छन् । 


समग्रमा हेर्दा महिला इन्जिनियरको उपस्थिति १२ प्रतिशत मात्रै छ । तुलनात्मक रुपमा विगतका वर्षहरुमा भन्दा इन्जिनियरिङ पढ्ने महिलाको संख्या क्रमश बढ्दै गएको बताइन्छ् । तर, इन्जिनियर बढे पनि कामकाजी महिला इन्जिनियरको संख्या त्यही अनुपातमा बढ्न सकेको छैन । 


महिला भएकाले पारिवारिक रुपमा समेत गरेर दोहोरो जिम्मेवारी पूरा गर्नुपर्ने बाध्यता नेपाली समाजमा रहेकाले पनि समस्या भएको बताइन्छ । 

सबैभन्दा बढी सिभिल इन्जिनियर

हाल नेपालमा ३१ हजार ९० जना सिभिल इन्जिनियर छन् । कुल ७० हजार ७२२ मा यो ४४ प्रतिशत हो । 
लोकसेवा आयोगले माग्ने विज्ञापनमा ९० प्रतिशत सिभिल इन्जिनियरहरु रहेका छन् । मन्त्रालय र मन्त्रालय अन्तर्गतका विभागहरूमा सिभिल इन्जिनियरहरुको दरबन्दी रहेको छ । 


 



Your Comments