आइओईका परीक्षा बैकल्पिक विधिमा गर्न छलफल, अनलाइनबाट हुने सम्भावना न्युन

आइओईका परीक्षा बैकल्पिक विधिमा गर्न छलफल, अनलाइनबाट हुने सम्भावना न्युन

रोकिएका परीक्षा सञ्चालनका विषयमा जेठ अन्तिमसम्म निर्णय हुनसक्छ : सहायक डीन थापा


इन्जिनियर्स नेपाल |  जेठ १७, २०७८,


engineersnepal.com

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई)ले परीक्षाहरु बैकल्पिक विधिबाट गर्न छलफल गरिहेको भए पनि अनलाइन माध्यमबाट गर्ने सम्भावना भने न्युन रहेको जनाएको छ । 

अहिले आइओईको टाउको दुखाइको विषय रहेको पश्चिमाञ्चल क्याम्पस पोखराको परिक्षाका रोकिएको लागि यही जेठ अन्तिमसम्ममा निर्णय गर्ने गरी आइओई नियमित छलफलमा रहेको छ । 


ADVERTISEMENT

तर, परीक्षा क्यालेन्डर अनुसार नियमित परिक्षा भने आगामी साउनदेखि हुने भएको र अहिलेको कोभिडको परिस्थिति पनि साम्य भइ निषेधाज्ञा हट्न सक्ने अपेक्षामा आइओई डीन कार्यालय रहेको छ । 

यद्यपी परीक्षा लिन सकिने विभिन्न ४ विधामा भने आइओई तयारी गरिरहेको इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ)का सहायक डीन डा.ज्ञानबहादुर थापाले जानकारी दिए । 

उनले बैकल्पिक परिक्षाका विषयमा सोचिरहेको भए पनि अनलाइन माध्यमबाट परिक्षा लिने भन्ने विषय सोच नबनाएको इन्जिनियर्स नेपाललाई बताए । 

‘किनभने पहिला अनलाइन परिक्षा लिएका पूर्वाञ्चल, पोखरा जस्ता विश्वविद्यालयहरुको अनुभवका आधारमा यसरी लिने परिक्षा गणस्तरीय नहुने र नाम मात्रैको परीक्षा हुने गरेको देखिएको छ,’ थापाले भने, ‘हाम्रोमा अनलाइन क्लास राम्रोसँग हुन सकेको छैन भने परिक्षाका लागि २० हजारदेखि २५ हजारसम्म ठूलो मासमा विद्यार्थीहरु भएकाले अनलाइनबाट परिक्षा लिन सम्भव देखिदैन ।’

यद्यपी बैकल्पिक विधिहरु के के हुन्छन् भन्ने विषयमा छलफल गरिएको र ४ वटा विधिहरु तयार भएको उनले बताए । 

यसमध्ये गत वर्ष जस्तै भौतिक दुरी कायम राखेर नै परिक्षा लिएकोले अहिले पनि यही विधिमा जानेकी भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । 

एक डेढ महिना पर्खेर भए पनि यो विधिमा जान सकिने सम्भावना छ । विद्यार्थीहरुबाट पनि यस्तो माग आएको छ । परिक्षा विधिमा केही गल्ती भएमा आइओईको गरिमा नै गुम्न सक्ने जोखिम भएको भन्दै थापाले बैकल्पिक विधिहरुमा छलफल भइरहेको र यही जेठ अन्तीमसम्ममा केही निर्णय आइसक्ने बताए । 

चैतमा पश्चिमाञ्चल क्याम्पस पोखरामा हुने परीक्षा रोकिएको र यसको समाधानका लागि नियमित छलफलमा रहेको उनले जनाए । 

त्यही परीक्षाका लागि विहिवारसम्म छलफल भएकाले यो हप्ता पनि कुनै निर्णय हुँदैन भने जेठ अन्तीमसम्ममा केही टुंंगो लाग्ने उनले जानकारी दिए । 

यो जाँच नहुँदासम्म अरु कुनै जाँच नहुने पनि उनले स्पष्ट पारे ।

कोरोना भाइरसका कारण अहिले नियमित अध्ययन पनि हुन सकेको छैन । अनलाइन कक्षाहरुमार्फत पठनपाठन केही क्याम्पसहरुमा भने भइरहेको छ । लामो समयदेखि निषेधाज्ञा जारी हुँदा चैतमा पश्चिमाञ्चल क्याम्पस पोखरामा हुनुपर्ने परीक्षा रोकिएको थियो र यसले निकै समस्या पारेको उनले बताए । 

अरु नियमित परीक्षाका लागि भने सोच्ने समय अझै रहेको भन्दै थापाले भने– परिक्षा क्यालेन्डरअनुसार आगामी साउनमा जाँच हुने सेड्युल रहेको छ, भने यो परीक्षा धेरै पछि धकेलिदैन, बढिमा १ महिमा ढिलो भए पनि समयमै गर्ने योजना छ ।

कतिपय क्याम्पसहरुमा अनलाइन कक्षाहरु पनि नभएकोले नियमित परीक्षाका लागि १ महिना ढिला हुनसक्ने सम्भावना देखिएको उनको भनाइ छ । यद्यपी यो विषयमा कुनै निर्णय भने भएको छैन । अहिलेको परिस्थिति सामान्य भएमा नियमित परीक्षाहरुका लागि समस्या नहुने उनले जनाए ।

गत मंसिरमा पास आउट हुनुपर्ने अन्तिम बर्षका विद्यार्थीको नियमित परिक्षा भएको भए गत भदौमा जाँच हुने थियो । तर, उनीहरुको जाँच चैतमा भएको थियो भने अहिलेसम्म नतिजा प्रकाशन भएको छैन । 

अझै उक्त ब्याजका विद्यार्थीको ४० प्रतिशत कपी वितरण गर्नै बाँकी छ, भने कपी परिक्षण भएर आउँदासम्म अझै समय लाग्ने देखिएको छ । 

यसैगरी केही दिनअघि नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पस इकाइ समितिले प्रेस विज्ञप्ती जारी गर्दै बैकल्पिक माध्यमबाट परिक्षा गर्न सकिन्छ भन्ने तर कुनै स्पष्ट जानकारी हालसम्म पनि नआउँदा समस्या समाधान हुन नसकेको जनाएको थियो । 

विज्ञप्तीमा भनिएको छ, ‘रोकिएका परिक्षाहरु बैकल्पिक माध्यमबाट सञ्चालन गर्न माग गरिदैं आएको छ, यसका लागि त्रिविबाटै मान्यता पाउनुपर्छ भन्ने प्रशासनबाट जानकारी दिए पनि हालसम्म कुै स्पष्ट जानकारी आएको छैन ।’ 

चौथो वर्षका विद्यार्थीहरुको अन्तमी २ वटा परिक्षा मात्रै बाँकी रहदा पास आउट भइसक्नुपर्ने बेलामा परिक्षाको सूचना कुरेर बस्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको सभापति शंकर रिजालले बताए । 

उनले बैकल्पिक परिक्षाका लागि बाटो खुलिसकेको हुँदा अब इन्जिनियरिङ अध्ययन संस्थान (इअसं)ले विद्यार्थीबीचको अन्योलता हटाइ उचित विकल्प दिन माग गरे । यस्तै रोकिएका परिक्षा बारेमा एउटा नमुना बैकल्पिक ढाँचा प्रस्तुत गर्न पनि माग गरिएको छ । 



Your Comments