इलेक्ट्रोनिक्स इन्जिनियरिङः आकर्षण कम, ‘स्कोप धेरै’

इलेक्ट्रोनिक्स इन्जिनियरिङः आकर्षण कम, ‘स्कोप धेरै’

यो विधामा विद्यार्थी आकर्षण बढाउन इन्जिनियरिङ अध्ययन संस्थानले नाम नै परिवर्तन गरेको छ ।


इन्जिनियर्स नेपाल |  असोज १, २०७६, काठमाडौं


engineersnepal.com

विद्यार्थी भर्नाका हिसाबले नेपालमा न्यून आकर्षण रहेको विधामा पर्छ इलेक्ट्रिोनिक्स, कम्युनिकेसन तथा इन्फर्मेसन इन्जिनियरिङ । तर यो विधामा रोजगारीको सम्भावना भने प्रशस्त रहेको यस क्षेत्रका जानकारहरू बताउँछन् ।

दैनिक जीवनमा प्रयोग हुने हरेक प्रविधिको सफल सञ्चालनका लागि यो विधाको प्रयोग कुनै न कुनै रुपमा भइरहेको हुन्छ । तर विद्यार्थीहरूमा यी सबै पक्षको पर्याप्त ज्ञान नहुँदा पढाइमा रुचि नदेखिएको पुल्चोक इन्जिनियरिङ क्याम्पसका इलेक्ट्रिोनिक्स, कम्युनिकेसन तथा इन्फर्मेसन इन्जिनियरिङ विभाग प्रमुख डा. सुरेन्द्र श्रेष्ठ बताउँछन् ।

मुलुकभर अहिले ६ वटा विश्वविद्यालयले इन्जिनियरिङ विषयको पढाइ सञ्चालन गरिरहेका छन्  । ती विश्वविद्यालय अन्तर्गत १० वटा आङ्गिक क्याम्पस र ४१ वटा सम्बन्धन प्राप्त कलेजहरूले इन्जिनियरिङको पढाइ सञ्चालन गरिरहेका छन् ।

इन्जिनियरिङ अन्तर्गत अहिले नेपालमा विभिन्न २३ वटा विधाको पढाइ भइरहेको छ । तर सबैभन्दा धेरै आकर्षण हरेक वर्ष सिभिल इन्जिनियरिङमा हुन्छ । इन्जिनियरिङ अध्ययन संस्थानका अनुसार इलेक्ट्रोनिक्स इन्जिनियरिङमा मुलुकभरका कलेजमा रहेको कुल भर्ना सिटमध्ये ५० प्रतिशतभन्दा बढी हरेक वर्ष रिक्त रहन्छ ।

आकर्षण किन छैन ?

सानेपास्थित सगरमाथा इन्जिनियरिब कलेजका प्राचार्य तथा मुलुकभरका इन्जिनियरिङ सम्बन्धी कलेज सञ्चालकको छाता संगठन एकोनका महासचिव रमेश श्रेष्ठ भन्छन्, ‘विद्यार्थी र अभिभावकमा पर्याप्त ज्ञानको अभावमा यस्तो भइरहेको छ ।’ एसोसिएसन अफ इन्जिनियरिङ कलेज अफ नेपाल (एकोन)का अनुसार इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत रहेका चारवटा पुराना क्याम्पसबाहेक अन्यमा विद्यार्थी भर्ना न्यून छ ।

सामान्यतया यो विधा पढाउन एउटा क्याम्पसमा ४८ जना विद्यार्थी कोटा तोकिएको छ । पुल्चोक क्याम्पसमा ५० प्रतिशत छात्रवृत्ति र ५० प्रतिशत शुल्क तिरेर र अन्य आङ्गिक क्याम्पसमा २५ प्रतिशत छात्रवृत्ति र ७५ प्रतिशत शुल्क तिरेर पढ्न पाउने व्यवस्था गरिएको हुन्छ । यस हिसाबले सरकारी क्याम्पसमा विद्यार्थी कोटा पूर्णरुपमा भरिन्छ ।

कतिपय निजी क्याम्पसमा भने ४८ जनाको कोटामा ५/६ जना मात्र पढाएर पनि चित्त बुझाउनुपरेको छ । संख्या जति नै भए पनि उनीहरूका लागि प्रयोगशाला, उपकरण, जनशक्ति खर्च गर्नुपर्ने भएकाले खर्च धान्न धौधौ परेको कलेज सञ्चालक बताउँछन् ।

सामान्यतया त्रिविको मापदण्डअनुसार एउटा विधाको इन्जिनियरिङ पढाउँदा शिक्षक मात्रै न्यूनतम ४० जना हुनुपर्छ । कर्मचारी संख्या पनि पर्याप्त हुनुपर्छ । विद्यार्थी कम भए पनि शिक्षक–कर्मचारीका लागि लगानी बढाउनुपर्ने भएकाले आफूहरू समस्यामा परेको उनीहरूको गुनासो छ ।

श्रेष्ठका अनुसार छिमेकी मुलुक भारतमा समेत यो विधाको इन्जिनियरिङ पढेका जनशक्तिको माग उच्च छ । तर नेपालमा भने यहाँको बजारलाई मात्र हेरेर रोजगारीको सम्भावना छैन भन्दै पढाइ नै उपेक्षा गर्ने चलन छ ।
सम्भावना र अवसर

सामान्यतया अहिले भर्ना भएका विद्यार्थी बजारमा जान अर्को चार वर्ष लाग्छ । तर, पछिल्लो समय सूचना प्रविधि र डिजिटल डिभाइसको विकासका कारण यो क्षेत्रमा जनशक्तिको माग बढिरहेको छ । स्वदेशमा मात्र नभएर छिमेकी मुलुकमा समेत रोजगारीमा जाने विकल्प रहेको सगरमाथाका प्राचार्य श्रेष्ठ दाबी गर्छन् ।

विभाग प्रमुख श्रेष्ठ पनि यो विषय पढेका विद्यार्थीहरू बेरोजगार नरहेको बताउँछन् । डिजिटल प्रविधिका साथै इन्जिनियरिङका अन्य विधाहरू सिभिल, इलेक्ट्रिकल, आर्किटेक्चर लगायतका क्षेत्रमा पनि यो विधाको भूमिका महत्वपूर्ण हुने जानकारहरूको भनाइ छ ।

पत्रपत्रिका छाप्ने मेसिनदेखि होम अप्लाएन्स, एफएम रेडियो, टेलिभिजनलगायत हरेक प्रकारको अटोमेटिक डिभाइसमा यो विधाको इन्जिनियरिङ ज्ञान आवश्यक पर्छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा पनि यसको प्रयोग बढिरहेको छ । इन्टरनेट बैंकिङ, एक बैंकबाट अर्को बैंकमा पैसा पठाउने प्रविधिदेखि पछिल्ला दिनहरूमा लोकप्रिय बन्दै गएका इ–सेवा, खल्ती डटकम, पठाओ, टुटुललगायतका संस्थाहरूमा पनि यो विधा पढेर आर्जन गरेको ज्ञानलाई सदुपयोग गर्न सकिन्छ ।

त्यति मात्र होइन, राज्यले अघि सारेको स्मार्टसिटीको अवधारणालाई सफल बनाउन पनि अब यो विधाको इन्जिनियरिङको आवश्यकता छ ।

विद्यार्थीको विदेशिने मोह

अहिले हरेक वर्ष सयौँ विद्यार्थीहरू इन्जिनियरिङका विभिन्न विषय अध्ययन गर्ने नाममा विदेशिने गरेका छन् । ती विद्यार्थीले नेपालबाट लाखौँ रुपैयाँ अध्ययनका नाममा विदेश लैजान्छन् । तर, नेपालमै रहेको इन्जिनियरिङका कोटाहरू रिक्त रहँदा पनि उनीहरूलाई यतै रोक्न नसक्नु विडम्बना हो ।

नेपाली विद्यार्थीहरू विशेषगरी भारत, मलेसियालगायत युरोप, अष्ट्रेलिया, अमेरिकातिर समेत महंगो शुल्क तिरेर यो विषय पढ्न जान्छन् । मुख्य कुरा यो विधाको इन्जिनियरिङ किन पढ्ने र भविष्यमा कस्तो रोजगारी पाइन्छ भन्नेबारे विद्यार्थीले चासो नदिएका कारण यस्तो समस्या आएको हो ।

यो विधामा विद्यार्थी आकर्षण बढाउन इन्जिनियरिङ अध्ययन संस्थानले नाम नै परिवर्तन गरेको छ । पुराना पाठ्यक्रमलाई पनि परिमार्जन गरेर सूचना प्रविधिसँग जोड्ने प्रयास पाठ्यक्रमले गरेको छ । अहिलेको पाठ्यक्रमले नेपाली बजारमा प्रयोग हुँदै आएको सूचना प्रविधि सम्बन्धी सञ्जालको माग पूरा गर्ने जनशक्ति समेट्ने आइओइको  भनाइ छ ।



Your Comments