आर्किटेक्चरमा छात्रभन्दा छात्रा धेरै : काम गर्न सजिलो, सहजै जागिर !

आर्किटेक्चरमा छात्रभन्दा छात्रा धेरै : काम गर्न सजिलो, सहजै जागिर !

'सिभिलमा बढी फिल्डमा जानुपर्छ तर आर्किटेक्चरमा भने अफिसमा बसेर काम गर्न सकिन्छ'


इन्जिनियर्स नेपाल |  भदौ २४, २०७६, काठमाडौं


engineersnepal.com

काठमाडौं इन्जिनियरिङ कलेजका आर्किटेक्चर बिभागका छात्रा


आर्किटेक्चर कला र विज्ञानको सम्मिश्रण हो । आर्किटेक्चर इन्जिनियरिङको माध्यमबाट रचनात्मक काम गरिन्छ । रचनात्मक र वैज्ञानिक तवरले भवन, जमिन र अन्य भौतिक संरचना डिजाइन गरिन्छ ।

नेपालमा २०५२ सालबाट आर्किटेक्चर विषय पढाइ हुनथालेको हो । स्थापनाकालमा २४ जना विद्यार्थीबाट सुरु भएको आर्किटेक्चर विषय अध्ययन गर्ने जम्मा चार जना छात्रा थिए । पछिल्लो समय इन्जिनियरिङको अन्य विषय अध्ययन गर्ने छात्राभन्दा आर्किटेक्चर पढ्नेको संख्या बढ्दो छ । 

हाल केन्द्रीय क्याम्पस पुल्चोकमा आर्किटेक्चर पढ्ने छात्राको संख्या १ सय २० रहेको आर्किटेक्चर विभागकी प्रमुख सुधा श्रेष्ठ बताउँछिन् । उनका अनुसार क्याम्पस सिभिल ८८, कम्प्युटर ३३, इलेक्ट्रिकल ३१, इलेक्ट्रोनिक्स ३२ र मेकानिकल इन्जिनियरिङ पढ्ने छात्राको संख्या १५ रहेको छ । यो तथ्यांकलाई हेर्दा आर्किटेक्चर विषयमा छात्राको आकर्षण बढिरहेको देखिन्छ । 

त्यस्तै, नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएका आर्किटेक्टमा पनि पुरुष भन्दा महिलाको संख्या बढी पाइएको छ । त्यहाँ आठ सय २१ पुरुष छन् भने १२ सय ४३ महिला दर्ता छन् ।  

छात्रा आकर्षित

आर्किटेक्चरिङ कलात्मक काम भएकाले छात्राको आकर्षण बढिरहेको छ । अधिकांश छात्राहरुले आफूलाई सानैदेखि चित्र बनाउन मन पर्ने भएका कारण यो विषय रोजाइमा परेको बताउँछन् । 
संघीयता कार्यान्वयनसँगैे नगरपालिका, गाउँपालिका लगायत स्थानीय तहमा पनि आर्किटेक्टले गर्ने कामको धेरै मात्रामा सृजना भयो । साथै २०७२ सालको भूकम्पपछि निर्माणका कामहरु पनि धेरै भए । महिलालाई अफिसियल काम सहज भएका कारण पनि छात्राहरुको आकर्षण बढेको जानकारहरु बताउँछन् ।

पुल्चोक क्याम्पसकी विभागीय उपप्रमुख रामलक्ष्मी ताम्राकार २०५६ सालदेखिको अध्यापनका क्रममा आर्किटेक्चर पढ्ने छात्राहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको बताउँछिन् । ‘म २०३९ सालमा ब्याचलर पढ्दा पनि आर्किटेक्चर पढ्ने छात्राहरुको संख्या कम थिएन’, उनी भन्छिन्, ‘त्यतिबेला आर्किटेक्चर पढ्ने विद्यार्थी जागिरको खोजीमा भौँतारिनुपर्ने अवस्था थिएन र अहिले पनि त्यो अवस्था देखिँदैन ।’

उनका अनुसार सहजै जागिर पाइने भएका कारण पनि आकर्षण बढेको हो । ताम्राकार आफू पनि मानविकी पढेका दिदीहरुले जागिर नपाएर भौँतारिएको देखेर आर्किटेक्चर पढेको बताउँछिन् ।
काठमाडौं इन्जिनियरिङ कलेजका आर्किटेक्चर विभागीय प्रमुख कैलाश श्रेष्ठले अन्य इन्जिनियरिङका कामहरु दुर्गम क्षेत्रमा गएर गर्दा महिलाहरुका लागि समस्या हुने भएकाले आर्किटेक्चरमा आकर्षित भएको बताउँछन् । उनी भन्छन्, ‘नर्मल डिजाइनको कुरामा महिलाहरु राम्रो देखाउने कुरामा अगाडि नै छन् ।’

रोचक त के छ भने पुल्चोक क्याम्पसमा आर्किटेक्चर विषय पढाउने प्राध्यापक पनि धेरैजसो महिला छन् । इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकमध्ये १२ जना महिला प्राध्यापक छन् । एक जनाले भने अवकाश लिइसकेकी छिन् ।

सोसाइटी अफ नेपाली आर्किटेक्ट (सोना)की अध्यक्ष समेत रहेकी अन्जु मल्ल महिलाले घरायसी समस्या समाधानका लागि अफिसियल काम खोज्ने र त्यो अवसर आर्किटेक्चरले प्रदान गरेको बताउँछिन् ।
‘छोरीलाई फिल्डको काममा किन पठाउने ? बरु आर्किटेक्चर पढे भने अफिसमा काम गर्नसक्ने भए भन्ने मानसिकता भएका अविभावकहरु पनि छन्’, उनी भन्छिन्, ‘फिल्डमा काम गर्ने केटाहरु देखिए पनि भित्र अफिसमा बसेर आर्किटेक्टको काम गर्ने ९० प्रतिशत महिला छन् ।’

किन बढ्यो आकर्षण ?
काठमाडौं इन्जिनियरिङ कलेजमा पाँचौँ वर्षमा अध्ययनरत छात्रा सुवेक्षा पाण्डे आफूलाई बच्चैदेखि डिजाइनिङमा रुचि भएकाले यो विषय रोजेको बताउँछिन् । उनलाई रुम डिजाइन गर्न खुबै मनपर्ने रहेछ । भन्छिन्, ‘महिलाले डिजाइन गरेको राम्रो देखिन्छ । त्यति मात्र नभएर भूकम्पपछि नेपालमा आर्किटेक्चरको स्कोप पनि एकदमै राम्रो छ ।’

भूकम्पपछि मानिसहरुमा इन्जिनियरलाई नदेखाई घर नबनाउने मानसिकताको विकास भएको छ । सरकारले पनि इन्जिनियरबाट स्वीकृत गराएर मात्र घर निर्माण गर्नुपर्ने नियम ल्याएकाले सिभिल इन्जिनियर संगै आर्किटेक्कको पनि माग बढेको जानकारहरु बताउँछन् ।

काठमाडौं इन्जिनियरिङ कलेजका प्राध्यापक सुवास फुयाल इन्जिनियरिङको अन्य विषय पढ्न प्रवेश परिक्षामा विद्यार्थीको योग्यता क्रम नपुगेका कारण पनि यो विषय रोज्ने गरेको बताउँछन् । उनले विद्यार्थीहरुको ¥याङ्किङ कम आएका कारण पनि आर्किटेक्चर रोज्ने गरेको बताए । 

पुल्चोक क्याम्पसमा चौँथो वर्षमा अध्ययनरत छात्राहरु पढ्दापढ्दै जागिर पाउने भएका कारण यो विषय रोजेको बताउँछन् । छात्रा श्रेया कोइराला आफूलाई फिल्डमा हिँड्न असहज हुने भएकाले आर्किटेक्चर विषय रोजेको बताउँछिन् । उनी भन्छिन्, ‘सिभिलमा बढी फिल्डमा जानुपर्छ तर आर्किटेक्चरमा भने अफिसमा बसेर काम गर्न सकिन्छ । सुरुबाट क्रिएटिभ काम गर्न पाइन्छ । अन्य विषयमा पास आउट भएपछि मात्र काम गर्न पाइन्छ तर, यसमा काम गर्दै पढ्दै गर्न पनि पाइन्छ । त्यसैले मैले यही विषय रोजेँ ।’

पुल्चोकमै चौँथो वर्षमा अध्ययनरत छात्रा रस्मिता सुवेदीको व्यथा पनि उही छ । उनले अफिसमा बसेर गर्ने काम भएकाले यो विषय रोजेको बताउँछिन् । आर्किटेक्चर पढ्ने विद्यार्थीहरुले स्कुल, अस्पताल, सिनेमा हल, रेस्टुरेन्ट, सरकारी निर्माण क्षेत्र, बस स्टेसन, एयरपोर्टलगायतका क्षेत्रमा डिजाइनका कामहरु पाउँछन् ।

आर्किटेक्चरमा धेरै अवसरहरु छन् । त्यसमा पनि छात्राले आर्किटेक्ट रोज्नुका पछाडि विभिन्न कारणहरु रहेको प्रमुख श्रेष्ठ बताउँछिन् । उनले छात्राहरुमा शान्त भएर काम गर्ने, कडा मिहिनेत, ‘लजिक’ लगाउने र समयमा काम सक्ने विशेषता हुने बताउँछिन् । महिला आर्किटेक्चरहरुले संस्कृतिलाई पनि महत्व दिने भएकाले संस्कृति झल्किने डिजाइन गर्न सक्छन् । 

बजारमा माग 
आर्किटेक्चर समय र पैसाका हिसाबले खर्चिलो भए पनि यसको बजारमा ठूलो माग छ । बजारको मागअनुसार विद्यार्थी उत्तीर्ण हुनसकेका छैनन् । सिभिल इन्जिनियरिङ पढ्दा सबै क्षेत्रमा काम गर्न सकिन्छ । जलविद्युत्, सडक, जियोलोजिकललगायत सबै क्षेत्रमा जान सकिन्छ । तर, सिभिल पढ्ने विद्यार्थी स्पेसियलिष्ट भने हुँदैन । प्राध्यापक सुवास फुयाल भन्छन्, ‘आर्किटेक्ट एउटा यस्तो विषय हो जसमा स्नातक स्तरमै थेसिस गरिन्छ ।’ 
रोजगारीको सम्भावना पनि एकदमै राम्रो छ । विद्यार्थीले पढ्दापढ्दै रोजगारी पाएका छन् । ब्याचलर चौँथो वर्षमा इन्टर्नसिपको रुपमा काम गर्न पनि पाइन्छ । पढाई सकिनेबित्तिकै काम पाउने सम्भावना शतप्रतिशत रहन्छ ।



Your Comments