ख्वपको अब्बल अभ्यास : स्थानीय सरकारका लागि नमूना

ख्वपको अब्बल अभ्यास : स्थानीय सरकारका लागि नमूना


इन्जिनियर्स नेपाल |  भदौ १५, २०७६,


engineersnepal.com

प्रशंग २०५४ सालतिरको हो । स्थानीय तहको चुनाव हुने पक्कापक्की भएपछि मुलुकमा एकाएक राजनीतिक सरगर्मी सुरु भयो । मुलधारको राजनीतिमा क्रियाशिल सबैजसो राजनीतिक दलहरु चुनावी घोषणा पत्र निर्माणमा व्यस्त थिए । घोषणा पत्र बनाउने क्रममा सबैभन्दा सक्रिय थिए राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने दलहरु । र, यस्तै चटारोमा थियो भक्तपुरमा सक्रिय नेपाल मजदुर किसान पार्टी पनि । 

चुनावी घोषणा पत्रमा धेरैजसो दलको प्राथमिकता उस्तैजस्तो देखिन्थ्यो । उही सडक, पुल, धारा निर्माणदेखि रोजगारीको सिर्जना गर्नेसम्म । यी घोषणा चुनाव हार्ने दलले नतिजा आएको भालिपल्टै बिर्सन्थे भने जितेकाले भाषण गर्दा घोषणा पत्रका कुराहरु दोहो¥याइरहन्थे । भाषणमा जति फलाके पनि उनीहरुको कार्यान्वयन पक्ष भने निकै कमजोर हुने गथ्र्यो । 


ADVERTISEMENT

तर घोषण पत्र बनाउँदै गर्दा विशेषत भक्तपुर जिल्लामै बढी क्रियासिल नेपाल मजदुर किसान पार्टीले भने अन्य दलले भन्दा फरक पाटोलाई समायो, ‘आफूले चुनाव जितेको खण्डमा आफ्नै व्यवस्थापनमा नगरपालिकाभित्र शैक्षिक संस्था सञ्चालन गर्ने र गरिब तथा जेहेन्दार जनताका छोराछोरीलाइ सस्तो शुल्कमा स्तरिय शिक्षा दिने ।’  

यही घोषणापत्र लिएर उक्त पार्टी भक्तपुर नगरपालिकाको चुनावमा होमियो । प्रतिपक्षि दललाई भारी मत अन्तरले हराउँदै नगरपालिकाको मेयरमा निर्वाचित भए, प्रेम सुवाल । चुनावअघि गरेका वाचाअनुसार भक्तपुर नगरपालिकाले मुलुकमै पहिलो पटक स्थानीय तहको व्यवस्थापन हुनेगरी २०५६ सालमा ख्वप सेकेण्डरी स्कुलको नामबाट शैक्षिक संस्था सञ्चालन सुरु ग¥यो ।

त्यसपछि २०५८ सालमा नगरपालिकाकै व्यवस्थापनमा ख्वप इन्जिनियरिङ कलेजको नामबाट अर्को शैक्षिक संस्था खुल्यो । यो कलेजले पहिलो चरणमा पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा इन्जिनियरिङका विभिन्न विधाका पढाइहरु सञ्चालन गर्न थाल्यो । 

यी कामले एकातर्फ किसान पार्टीले चुनावी घोषणा पत्रमा उल्लेख गरेका वाचा पुरा गरेको ठहरियो भने अर्कोतर्फ स्थानीय तहले पनि शैक्षिक संस्थालाई आफ्नै व्यवस्थापनमा सञ्चालन गर्न सक्छ भन्ने उदाहरण नगरपालिकाले पस्क्या । इन्जिनियरिङ कलेजले अहिले पूर्वाञ्चल विश्वविद्यालयसंगको सम्बन्धनमा सिभिल, आर्किटेक्चर र कम्प्युटर इन्जिनियरिङको पढाई सञ्चालन गरिरहेको छ । 

नगरपालिकाको शैक्षिक यात्रा र सफलता

भक्तपुर नगरपालिकाकै व्यवस्थापनमा २०६० सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी) को सम्बन्धनमा ख्वप पोलिटेक्निकल इन्स्टिचयुटको स्थापना भयो । यसपछि पनि शैक्षिक संस्था खुल्ने क्रम रोकिएन ।

२०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङको नामबाट अर्को पनि इन्जिनियरिङ कलेज सञ्चालनमा आयो । यो कलेजले भने त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा इन्जिनिरिङकै सिभिल, इलेक्ट्रिकल र कम्प्युटर इन्जिनियरिङको पढाई सञ्चालन गरिरहेको छ ।

सस्तो शुल्कमा स्तरिय शिक्षा दिने पवित्र उद्देश्य राखेर स्थापित यी संस्थाले अहिले नागरिकलाई शिक्षा मात्र दिइरहेका छैनन्, मुलुककै लागि एक अग्रणी र उदाहरणीय  शैक्षिक संस्थाको रुपमा आफ्नो पहिचान पनि बनाउन सफल भएका छन् । 

ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इन्जिनियर सुनिल दुवाल भन्छन्, ‘सस्तो शुल्क, उत्कृष्ट नतिजा, सन्तुष्ट विद्यार्थी, अभिभावक, शिक्षक र कर्मचारी नै हाम्रो शैक्षिक यात्रामा सफलताका सुत्राधार हुन् । हामी अब्बल छौँ भन्ने प्रमाण उहाँहरुको सन्तुष्टि नै हो ।’

दुवालले भनेजस्तै ख्वप कलेज इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) अन्तर्गत सञ्चालित कलेजहरुमध्ये नतिजाको हिसावले पुल्चोक क्याम्पसपछि दोस्रो स्थानमा छ । पुर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित अर्को कलेज पनि हरेक वर्ष नतिजाको हिसावले प्रथम स्थानमै पर्ने गरेको छ । 

दुवाल भन्छन्, ‘नतिजामा कुनै वर्ष अन्य कलेजको तुलनामा एक दुई स्थान तल माथि पर्ला । तर उत्कृष्ट दश भन्दा तल कहिल्यै जानु परेका छैन ।’ आइएको पढाइ पनि उत्कृष्ट छ । मुलुकभरको नतजासँग तुलना गर्दा उत्कृष्ट दशभित्र सधै पर्ने गरेको छ । 

मुलुककै नमूना 
सफलताको कथा इन्जिनियरिङ कलेजमा मात्र सिमित छैन । भक्तपुर नगरपालिकाले सञ्चालन गरेका अन्य शैक्षिक संस्थाको प्रगति पनि यस्तै लोभलाग्दो छ ।  यस नगरपालिकाले दुई वटा इन्जिनियरिङ कलेजबाहेक आफ्नै व्यवस्थापनमा ख्वप कलेज, शारदा क्याम्पस, ख्वप पोलिटेक्निकल इन्स्टिच्युट तथा ख्वप माध्यमिक विद्यालय पनि सञ्चालन गरिरहेको छ । यीमध्ये ख्वप कलेजमा उच्च तहको हरेक विधाको पढाई हुन्छ । शारदा क्याम्पसमा शिक्षा शास्त्र सङ्कायको मात्र पढाई हुन्छ भने ख्वप माध्यमिक विद्यालयमा कक्षा एघार र बाह्रमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषयको पढाई हुन्छ ।

त्यसबाहेक पोलिटेक्निकल कलेजमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी) को सम्बन्धनमा नर्सिङ र डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाई भइरहेको छ । 

स्थानीय तहबाट सञ्चालित भएर स्तरिय नतिजा, उत्कृष्ट व्यवस्थापन लगायतका कारण यी संस्था मुलुकका अन्य स्थानीय सरकारका लागिसमेत नमूना सावित भएका छन् । 
नगरपालिकाको व्यवस्थापनमा सबै संस्थामा ७ हजार भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । इन्जिनियरिङ विधामा मात्र दुई हजारको हाराहारीमा विद्यार्थीले पढिरहेका छन् । यहाँबाट उत्पादित इन्जिनियरको रोजगारी दर ९५ प्रतिशत भन्दा बढी रहेको नगरपालिकाको दाबी छ । हरेक शैक्षिक संस्थाको व्यवस्थापन समितिका अध्यक्ष नगरपालिकाका मेयर हुन्छन् । 

अन्य नगरपालिका तथा गाउँपालिकाका मेयर तथा अध्यक्षहरु अहिले यी शैक्षिक संस्थाका सफलताका कथाहर सुन्न र हेर्न आउने गरेका छन् । प्राचार्य दुवालका अनुसार स्थानीय तहको चुनावपछि अवलोकन भ्रमणमा आउनेको संख्यामा वृद्धि भएको छ । एक वर्षको अवधिमा दुई दर्जन भन्दा बढी नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्षले नगरपालिकाको अवलोकन गरिसकेका छन् ।

अवलोकनमा आउनेहरुको एउटा मात्र उद्देश्य हुन्छ, आफूहरुको क्षेत्रमा पनि यस्तै नविन काम गर्न सकिन्छ कि भन्ने । भ्रमणमा आएकामध्ये सबैजसो शैक्षिक क्षेत्रमा नगरपालिकाले गरेको प्रगतिबाट अचम्म मान्दै फर्कने गरेका छन् । 

पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक भन्छन्, ‘भ्रमणमा आउनेमध्ये हाम्रो प्रगतिबाट नलोभिने कोही पनि भेटिदैन ।’

प्रेम सुवालपछि अहिले सुनिल प्रजापति नगरपालिकाका मेयर छन् । सुनिलले पनि नेमकिपाबाटै चुनाव जितेका हुन् । मेयरमा निर्वाचित हुनुअघि पनि प्रजापति सबै शैक्षिक संस्था व्यवस्थापन समितिका उपाध्यक्ष थिए । 

कसरी बन्यो अब्बल ?

सामान्यतया निजी कलेजमा इजिनियरिङको जुनसुकै विधा पढ्दा न्युनतम नौ लाखदेखि एघार लाख रुपैयाँ शुल्क कलेजलाई बुझाउनुपर्छ । तर यस कलेजमा पढ्नेले अधिकतम साढे ६ लाख देखि पौने सात लाख रुपैयाँमा सबै विधाको पढाई सम्पन्न गर्छन् । यस हिसाबले यो संस्थाको हरेक विषयमा विद्यार्थी आकर्षण अत्यन्त उच्च छ । 

नाफरहित उद्देश्यले खोलिएका कारण संस्थामा विद्यार्थीबाट जति पैसा उठ्छ, त्यो सबै शिक्षक–कर्मचारीको तलब र कलेजको भौतिक संरचना, प्रयोगशाला, पुस्तकालय निर्माणमै खर्च हुन्छ । शैक्षिक गतिविधिमै धेरै पैसा खर्च हुने भएपछि विद्यार्थीलाई प्रयोगशालादेखि पुस्तकालयमा समेत कुनै सामग्रीको अभाव हुँदैन । ख्वपका विद्यार्थीबाट उत्कृष्ट नतिजा आउनुको मुख्य कारण यो पनि हो । 

त्यससँगै शिक्षकहरुको लगनशिलता र मेहेनत अर्को महत्वपूर्ण पक्ष भएको माक बताउँछन् । यहाँ काम गर्ने सबै शिक्षक पूर्णकालिन छन् । उनीहरु अन्य निजी कलेजमा जस्तो एक ठाउँमा एक पिरियड पढाएर अर्को कलेजमा दौड्नुपर्ने बाध्यतामा छैनन् ।

उनीहरुलाई योग्यताअनुसारको सुविधा दिइएको छ । बिहानदेखि बेलुकासम्म उनीहरु कलेजमै विताउँछन् । फुर्सदको समयमा पनि कलेजको स्तरोन्नतिको विषयमा छलफल गर्छन् । हरेक शिक्षक र कर्मचारी कलेज आफ्नै हो भन्ने भावनाबाट प्रेरित छन् । जुन भावनाले अहिले संस्था र व्यक्ति दुवैलाई लाभान्वित तुल्याएको छ । 

नगरपालिकाका मेयर व्यवस्थापन समितिका अध्यक्ष भएपनि उनले यी शैक्षिक संस्थाबाट कुनै पनि सुविधा लिदैनन् । संस्थामा उनको विशेष रेखदेख हुन्छ । 
विद्यार्थीलाई पढाई सकेपछि रोजगारीमा जान सहज होस् भनेर छुट्टै परामर्श सेवा दिइन्छ । कलेजले जापान, चीन, अमेरिका, इटालीलगायतका मुलुकका विश्वविद्यालयसँग सहकार्य गरेर शैक्षिक आदान–प्रदान गरिरहेको छ । साथै, विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै संलग्न गराइन्छ ।

छुदैन बन्द हड्तालले

राजधानीका अधिकांश शैक्षिक संस्थाहरुमा बन्द र हड्तालको हल्ला आयो भने पनि पढाई ठप्प हुन्छ । कतिपय स्कुल क्याम्पस प्रशासनले त आफै सूचना निकालेरै विद्यार्थीलाई पढाई बन्द हुने जानकारी गराउँछन् । तर भक्तपुर नगरपालिकाले व्यवस्थापना गरेका यी शैक्षिक संस्थामा बन्द र हड्तालको असर कहिल्यै पर्दैन ।

सरकारले नै घोषणा गरेका सार्वजनिक विदाबाहेक यहाँ कुनै पनि प्रकारको कार्यक्रमले पढाईलाई प्रभावित पार्दैन । कतिपय अवस्थामा सार्वजनिक विदाका दिन पनि पढाई हुने गरेको छ । जसको सकारात्मक प्रभाव विद्यार्थीको वार्षिक परीक्षाको नतिजामा देखिएको छ ।
 
भक्तपुरेलाई विशेष आरक्षण
भक्तपुर जिल्ला भित्र रहेको र नगरपालिकाले नै चलाएको हुनाले यी शैक्षिक संस्थामा नगरपालिका र जिल्लाका वासिन्दालाई विशेष आरक्षणको व्यवस्था गरिएको छ । जसअनुसार हरेक शैक्षिक संस्थामा कुल भर्ना क्षमताको ३० प्रतिशत सिट भक्तपुर नगरपालिकाका नागरिकलाई छुट्टयाइएको छ । 

त्यसबाहेक भक्तपुर जिल्लाबासीलाइ २५ प्रतिशत सिट आरक्षण गरिएको छ । दुर्गम भेगका नागरिकलाई ५ प्रतिशत सिट उपलब्ध गराइन्छ भने बाँकी ४० प्रतिशत सिटमा भने खुल्ला प्रतिस्पर्धाको आधारमा भर्ना गरिन्छ । खुल्ला प्रतिस्पर्धामा भर्ना भएकामध्ये यहाँका शैक्षिक संस्थामा ७६ जिल्लाका विद्यार्थीले पढिसकेका छन् । 

‘ख्वप इन्जिनियरिङ कलेजमा ७६ जिल्लाका विद्यार्थी छन् । अर्कोमा मनाङ र धनकुटा जिल्लाबाहेकका विद्यार्थी पढ्छन् । हरेक वर्ष केहि जिल्ला थपघट भइरहन्छ’ प्राचार्य दुवाल भन्छन्, ‘अहिले ६५ जिल्लाका विद्यार्थी पढिरहेका छन् ।’



Your Comments