स्थापनाको २ दशकदेखि भाडामा बसेको नेपाल इन्जिनियरिङ परिषद्को अब आफ्नै भवन

स्थापनाको २ दशकदेखि भाडामा बसेको नेपाल इन्जिनियरिङ परिषद्को अब आफ्नै भवन

कुल लागतको ५० प्रतिशत सरकारले व्यहोर्ने


इन्जिनियर्स नेपाल |  बैशाख १३, २०७८,


engineersnepal.com

स्थापनाको २ दशकपछि अर्थात् २२ वर्षमा नेपाल इन्जिनियरिङ परिषद् (एनइसी)ले आफ्नै भवन बनाउन ठेक्का सम्झौता गरि शिलन्यास समेत गरेको छ । २०५६ मा स्थापना भएको परिषद् अहिले काठमाडौंको नक्साल स्थीति भाडाको भवनबाट प्रशासनिक कार्यहरु गर्दै आएको छ ।  

नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ मा रहेर स्थापना भएको परिषद्ले १० करोड २४ लाख रुपैयाँको लगातमा भवन बनाउने ठेक्का सम्झौता गरेपछि बैशाख ११ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले भवनको शिलन्यास गरेका हुन् । 


ADVERTISEMENT

सडक विभाग अन्तर्गतको हेभी इक्युपमेन्ट डिभिजन बानेश्वर परिसरभित्र १ रोपनी ४ आना जग्गामा भवन निर्माण हुने भएको छ । मन्त्रिपरिषद्को २०७६ असार ८ गतेको निर्णयअनुसार परिषद्लाई यो जग्गा उपलब्ध भएको हो ।

आधुनिक डिजाइनमा मिनभवनमा बन्ने योे भवनमा तुलसीभक्त कन्स्ट्रक्सन प्रा.लि.ले अबको १८ महिना अर्थात् २०७९ कात्तिकसम्ममा सम्पन्न गर्नेछ । त्यसपछि अहिले नक्सालमा भाडामा बस्दै आएको परिषद् आफ्नै भवनबाट कार्यसम्पादन गर्न सक्षम हुनेछ । गत चैत १६ गते परिषद् र कम्पनीबीच ठेक्का सम्झौता भएको थियो । 

परिषद्का अध्यक्ष ई. डिल्लीरमण निरौलाले अहिले वार्षिक १ लाख रुपैयाँ भाडा तिर्दै आएको बताए । उक्त भवन निर्माणका लागि सरकार र परिषद् आफ्नै आन्तरिक स्रोतबाट लगानी जुटाएको निरौलाले जानकारी दिए ।

‘शिलन्यास कार्यक्रममा माननीय मन्त्रीज्युले ५० प्रतिशत रकम सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ,’ उनले भने, ‘त्यसबाहेकको रकम हामीले नविकरण शुल्क, इन्जिनियरिङ कलेज मनिटरिङ गर्दा लिने शुल्कलगायतबाट बाँकी रकम जुटाउने तयारी गरेका छौं ।’

लामो समयदेखि भवन बनाउने सोच रहेको र त्यसका लागि विगत वर्षहरुदेखि केही बचत पनि परिषद्ले गर्दै आएकाले लगानी जुटाउन समस्या नभएको उनको भनाइ छ ।

यस्तै उनका अनुसार सरकारले परिषद् सञ्चालन खर्च भन्दै चालू आर्थिक वर्ष २०७७÷७८ देखि ५० लाख रुपैयाँ दिदैं आएकोले पनि यसबाट समेत केही प्रतिशत रकम भवन निर्माणका लागि लगानी हुनेछ । 



Your Comments