गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको भित्री कथाः आयोजना छनोटदेखि डीपीआरसम्म

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको भित्री कथाः आयोजना छनोटदेखि डीपीआरसम्म


इन्जिनियर्स नेपाल |  पुस १४, २०७६, चितवन


#
engineersnepal.com

#

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको रामपुरमा बनाउन लागेको प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएसँगै निर्माणकार्य सुरु भएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको रामपुरको २२ बिघा १७ कट्ठा जमिनमा बन्न लागेको रंगशालाको  चौतर्फी चर्चा छ । धुर्मुस सुन्तली फाउन्डेसनलाई देश तथा विदेशबाट रंगशाला निर्माणका लागि आर्थिक सहयोग प्राप्त भइरहेको छ ।
तर रंगशाला निर्माणसँग सम्बन्धित आन्तरिक पाटो भने धेरैलाई थाहा छैन । जग्गा छनोट, आर्थिक संकलन, निर्माण लागतसँगै डीपीआर कसरी बन्यो भन्ने विषयमा रहेको आमसर्वसाधारणको चासो मेटाउन हामीले विशेष रिपोर्ट तयार पारेका छौँ । साथमा डीपीआरका केही झलकसमेत यहाँ उल्लेख गर्दै छौँ । 

नमूना नेपालबाट क्रिकेट रंगशालातर्फ
धुर्मुस सुन्तली फाउन्डेसनले २०७४ जेठमा पाँच अर्ब रुपैयाँ लागतमा ‘नमूना नेपाल’ नामक एक महत्वपूर्ण परियोजना अगाडि सारेको थियो । युरोप र भारतको अक्षरधाम शैलीमा सो परियोजना निर्माण गर्न लागिएको जानकारी फाउन्डेसनले सार्वजनिक कार्यक्रममार्फत नै दिएको थियो ।
पुनर्निर्माण, पर्यटन प्रवद्र्धन, सामाजिक सद्भावको कडी र राष्ट्रिय एकताको प्रतीकको रुपमा रहने फाउन्डेसनका संस्थापक सीताराम कट्टेल (धुर्मुस)ले बताएका थिए । जहाँ सबै जातजाति र भाषाका मानिसको बसोबास रहने उनको भनाइ थियो । जहाँ मिनी रेल, सांस्कृतिक संग्रहालय, स्टेडियम, प्रतीकात्मक हिमाल, लुम्बिनी, मुक्तिनाथ, भ्यू टावरसहितको धरहरा, पशुपति, बौद्धनाथ आदि सांस्कृतिक तथा धार्मिक महत्वका स्थलहरु नमूना नेपालमा रहने योजना अघि सारिएको थियो ।
यसका लागि ललितपुरको लेलेमा जग्गासमेत हेरिएको थियो । डीपीआरका लागि नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए)को कार्यालयमा धुर्मुस पुगे । त्यहाँ उनको तत्कालीन नेइए उपमहासचिव रवि भूषण झासँग चिनजान भयो । रविले सामाजिक कार्यमा सहयोग गर्न चाहिरहेका थिए । दुवैलाई ढुङ्गा खोज्दा देउता पाएजस्तो भयो ।
झाले आफ्नो कार्यालय जियोकम इन्टरनेसनल प्रालिबाट केही कर्मचारी पठाएर निःशुल्करुपमा सर्भे गर्ने व्यवस्था मिलाइदिए ।
२०७४ चैतको कुरा हो । नमूना नेपाल निर्माणका लागि धुर्मुस र उनकी श्रीमती कुञ्जना घिमिरे (सुन्तली)ले पहल गरिरहेकै थिए । त्यति नै बेला नेपालका लागि एउटा खुसी थपियो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलमा एक दिवसीय क्रिकेटको मान्यता पायो । नेपाली टोली नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेर्नलायक दृश्य देखियो । हजारौँ नेपाली खेलाडीको समर्थनमा त्यहाँ पुगे । सामाजिक सञ्जालमा पनि त्यस्तै लहर थियो ।
तर, पूर्वाधार ? पूर्वाधारका हिसाबले नेपालको अवस्था निकै दयनीय थियो । धुर्मुसले त्यति नै बेला विचार गरे, ‘खेलाडीहरुले क्रिकेटमा यति राम्रो गरिरहँदा हामीसँग अन्तर्राष्ट्रियस्तरको विशेष खालको कुनै रंगशाला छैन ।’
त्यसपछि धुर्मुस सुन्तली फाउन्डेसनलाई नमूना नेपालभन्दा पहिला देशमा क्रिकेट रंगशाला आवश्यक छ भन्ने लाग्यो । उनले सामाजिक सञ्जालमा एउटा स्टाटस राखे, ‘पहिला क्रिकेट रंगशाला कि नमूना नेपाल ?’
धेरैले क्रिकेट रंगशालाको पक्षमा कमेन्ट गरे । र, धुर्मुसले अब रंगशाला बनाउने निधो गरे । 


ADVERTISEMENT

ठाउँको खोजी
लगत्तै धुर्मुस सुन्तली फाउन्डेसन रंगशाला निर्माणका लागि ठाउँको खोजीमा लाग्यो । ठाउँ–ठाउँबाट यहाँ आउनुस् भन्दै उनलाई फोन आउन थाल्यो । सोही बेला भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले फोन गरेर चितवनमा रंगशाला बनाएको खण्डमा आवश्यक जग्गा र एक करोड रुपैयाँ महानगरले सहयोग गर्ने आश्वासन दिइन् । 
राष्ट्रिय टोलीका खेलाडी, विज्ञ र प्राविधिकसहितको टोलीलाई लिएर धुर्मुस सुन्तली फाउन्डेसनले क्रिकेट रंगशालाका लागि सम्भावित स्थानको खोजी गरिरहेको थियो । पोखरा, भैरहवा, बुटवल, भरतपुर, हेटौँडा, गोदावरीलगायतका स्थानमा टोलीले अध्ययन ग¥यो । सबैभन्दा उपयुक्त भरतपुर देखियो । 
तर, भरतपुर महानगरसँग भएको जग्गा रंगशालाका लागि उपयुक्त भएन । धुर्मुस सुन्तली फाउन्डेसनका प्राविधिक सल्लाहकार रवि भूषण झाका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट रंगशालाको ग्राउन्डका लागि करिब १२ बिघा जग्गा आवश्यक पर्ने विज्ञहरुको सुझाव थियो । अर्थात्, भौतिक संरचनासमेत निर्माण गर्दा झण्डै २० बिघा जग्गा चाहिने भयो ।
महानगरपालिकासँग आफ्नो स्वामित्वमा एकै ठाउँमा जग्गा रहेछ । तर लम्बाइ पुग्ने चौडाइ नपुग्ने । महानगरले सो जग्गाको चौडाइ बढाउन एक महिना प्रयास ग¥यो । तर सफल भएन । महानगरले फेरि अर्को ठाउँमा जग्गा खोज्न थाल्यो । रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको जग्गा रहेछ । महानगरले विश्वविद्यालयलाई अन्यत्र सोही क्षेत्रफलमा जग्गा उपलब्ध गराउने शर्तमा सो जग्गा लियो र धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तर ग¥यो ।

त्यसपछि डीपीआरको काम
जग्गा हातमा आएपछि डीपीआरको काम सुरु गर्ने तयारी थियो । तर जग्गा रंगशाला र पार्किङका लागि मात्र पुग्ने देखियो । धुर्मुस सुन्तली फाउन्डेसन भने त्यहाँ सानो फुटबल मैदान, स्विमिङ पुल पनि बनाउन चाहन्थ्यो ।
डीपीआरका लागि कम्पनी छनोट गर्ने काम भयो । सबै अध्ययन गरेपछि डीपीआर तयार पार्ने जिम्मा क्रिएटिभ डिजाइन आर्किटेक प्रालि (सेडा) ले पायो । सोहीअनुसार डीपीआर तयार गर्न लगाइयो । उसले यसै कात्तिकमा सहमतिपत्रमा हस्ताक्षर भएको ९ महिना २० दिनपछि डीपीआर बुझाएको छ ।
डीपीआरलगायतका विषयमा सल्लाह÷सुझाव दिने ठूलै प्राविधिकको टोली छ । पुरातत्वविद् सुदर्शन तिवारी, आईओईका पूर्वडिन जीवराज पोखरेल, टेलिस्कोप इन्जिनियर सञ्जीव रेग्मीलगायतका अन्य विज्ञहरु पनि टोलीमा छन् ।
डीपीआरमा ३० हजार दर्शक अटाउने क्षमता रहेको रंगशाला निर्माणका लागि भ्याटबाहेक दुई अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान छ । रंगशाला कमलको फूलको आकारमा सजिएको हुनेछ । समग्रमा रंगशालामा मल्लकालीन वास्तुकलाको मिश्रण रहनेछ ।
क्रिकेट मैदान ६० मिटर रेडियसको हुनेछ । जसमा पाँचवटा पिच हुनेछन् । भारतीय कम्पनी र अमेरिकी विज्ञहरुको सहयोगमा सन् २०१७ पछि भारतमा बनेका क्रिकेट रंगशाला हेरेर डीपीआर तयार पारिएको क्रिकेट रंगशाला निर्माण टोलीका सहप्रबन्धकसमेत रहेका झा बताउँछन् ।
सेडाले तीनवटा मोडलमा रंगशाला बनाउन सकिने गरी डीपीआर तयार पारेको थियो । धुर्मुस सुन्तली फाउन्डेसनले लागतसमेत हेरेर एउटा छनोट ग¥यो । केही परिवर्तनहरु पनि भए । अत्यावश्यक चीजबाहेकका संरचना तत्काललाई नबनाउने निर्णय भयो ।
डीपीआर बनेपछि पनि केही समय काम सुरु भएन । रंगशालाको तारबार भत्काउने काम भयो । काममा राजनीतीकरण भयो । त्यसपछि केही समय काम रोकियो ।

कहिले बन्छ रंगशाला ?
धुर्मुस सुन्तली फाउन्डेसनले यतिबेला क्रिकेट रंगशाला निर्माणको काम थालेको छ । डीपीआर तयार भएको दुई वर्षमा क्रिकेट रंगशाला निर्माण गर्ने लक्ष्य धुर्मुस सुन्तली फाउन्डेसनको थियो । सोहीअनुसार हाल ग्राउन्डको काम भइरहेको छ ।
ग्राउन्डमा घाँस जमाउने काम भइरहेको छ । हालमा दैनिक सयभन्दा धेरै श्रमिकहरुले ग्राउन्डको काम गरिरहेका छन् । तर, समस्या अर्कै छ ।
धुर्मुस सुन्तली फाउन्डेसनसँग पैसा छैन । रंगशाला निर्माणमा झण्डै तीन अर्बको लागत देखिए पनि चन्दा संकलनबाट ७ करोड रुपैयाँभन्दा धेरै रकम उठेको छैन । सो रकमले जतिसम्म काम सकिन्छ त्यति अगाडि बढाउँदै लैजाने योजनामा फाउन्डेसन छ । त्यसपछि जनताको सहयोग माग्ने वा डीपीआर भरतपुर महानगरलाई बुझाउने भन्ने निर्णय फाउन्डेसनले लिनेछ ।
धुर्मुसलाई एउटा आशा पनि छ, ग्राउन्डको काम राम्रोसँग सकियो भने ५० प्रतिशत नेपालीले प्रतिव्यक्ति सय रुपैयाँ सहयोग गर्ने हो भने पनि रंगशाला बन्न सम्भव हुनेछ ।

 

इन्जिनियर्स नेपाल म्यागेजिनबाट ।



Your Comments