बहसमा इन्जिनियर्स एशोसिएसनको अनलाइन मतदान

बहसमा इन्जिनियर्स एशोसिएसनको अनलाइन मतदान


ई. कैलाश कार्की |  कात्तिक १६, २०७७,


engineersnepal.com

सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासले मानव जीवनमा गरिने हरेक क्रियाकलापमा वदलाव आएको सर्वविदितै छ । स्टिम इञ्जिन ,विद्युुतको आविष्कारदेखि अहिले कृत्रिम बौद्धिकता, थ्रीडि प्रिन्टिंङजस्ता प्रविधिको माझमा हामी छांै ।

नविनतम प्रविधिलाई उपयोग गर्दै हरेक क्षेत्रले डिजिटल रुपान्तरणको नीति अवलम्बन गरिरहेको बेला नेपाल इन्जिनियर्स एशोसिएनको आगामी चुनावमा अनलाईन भोटिङ प्रयोगमा ल्याईनुपर्ने वहस सतहमा आएको छ । वर्तमान कार्यसमितिको अबधि आउँदो मंसिरमा सकिदैछ । तर  कोभिड–१९ का कारण सिर्जित विषम परिस्थितिले गर्दा अघिल्ला वर्षहरूको जस्तो परम्परागत भोटिङ सम्भव नदेखिदा विकल्पमा अनलाईन भोटिङको मुद्दाले  प्रवेश पाएको हो । नेपाल इन्जिनियर्स एशोसिएसन आफैमा प्राविधिकहरूको संस्था भएको नाताले नवितम प्रविधिलाई आत्मसात् गर्नुपर्छ भन्नेमा दुईमत छैन । तर अनलाईन भोटिङको हकमा भने यसका सकारात्मक पक्ष, नकारात्मक पक्षदेखि लिएर प्रविधिको प्रयोगमा हाम्रो वर्तमान स्थिति र हामीले गर्नुपर्ने पुर्वतयारीका विषयमा व्यापक गृहकार्य हुन जरुरी छ । 
नेपाल इन्जिनियर्स एशोसिएसनको अघिल्लो चुनावमा करिब सत्र हजार सदस्य मतदाता नामावलीमा थिए । त्यतिबेला ७५ प्रतिशतमात्रै  मत खसेको थियो ।  आउँदो चुनावमा भने यो संख्या केही बढ्ने निश्चित नै छ ।    


ADVERTISEMENT

अर्काेतिर निर्वाचन प्रक्रियालाई अनलाइन बनाउन सकियो भने ा ठूलो संख्यामा प्रवासमा रहेका नेपाली इन्जिनियरलाई समेत मतदानमा सहभागी गराउन सकिन्छ जुन निकै सकारात्मक पक्ष पनि हो । एशोसिएसनमा केन्द्रिय कार्यकारिणी समितिको लागि १ हजार ८ सय, ्र  सदस्य र प्रत्येकक  प्रदेश कार्यसमितिको लागि १६  सदस्य निर्वाचन मार्फत्चुनिनुपर्ने व्यवस्था   छ । 


इन्टरनेट  मतदानको को इतिहास केलाउँदा ईस्टोनिया अग्रस्थानमा आउँछ । करिब सवैजसो सार्वजनिक सेवाहरू डिजिटल माध्यमबाट वितरण गर्दै आएको युरोपियन मुलको यो देशले सन् २००५ मा भएको आम निर्वाचनमा देशभरि भोट हाल्ने व्यवस्थालाई इन्टरनेटमा आधारित बनाएर इतिहास रच्यो । 

करिब ४४ प्रतिशत ईस्टोनियन जनताले इन्टरनेटमार्फत् अफ्नो अभिमत दिने गरेको तथ्यांकले देखाउँछ । संयुक्त राज्य अमेरिकामा सन् २००० मा नै केहि स्थानमा अनलाईन भोटिङको अभ्यास गरिएता पनि विश्वमा पहिलोपटक राष्ट्रव्यापी  सबै तहको  चुनावमा अनलाईन भोटिङको व्यवस्था गर्नेमा इस्टोनिया विश्वमा एकमात्र राष्ट्र हो ।

राष्ट्रव्यापी रुपमा नभएपनि कुनै न कुनै तहमा विश्वका करिब पन्ध्र देशले इन्टरनेटमा आधारित मतदानको   अभ्यास गरेको पाइन्छ । जसमध्य हाम्रो छिमेकी देश भारत पनि एक हो ।  

नेपालको सन्दर्भमा कुरा गर्दा गत वर्ष जनकपुरमा  सम्पन्न अधिवेशनमा  विवेकशील नेपाली दलले अनलाइन मतदानको अभ्यास गरेको थियो जुन सम्भवत नेपालको लागि प्रथम अभ्यास हो । अर्कोतर्फ, नेपाल सरकारले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेश बाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने मिलाउन लागिएको बताएपनि यसको ढाँचा इन्टरनेटमा आधारित हो वा अन्य हो, स्पष्ट रुपमा खुलिसकेको छैन ।  


चुनौतिहरू 

सुरक्षा , गोपनियता सहि भण्डारण र  गणना स्वतन्त्र तथा निष्पक्ष चुनावका प्रतिक हुन ।  यिनै तीन पक्षलाई लिएर अनलाइन निर्वाचन प्रणालीमाथि प्रश्न चिन्ह खडा हुने गरेका छन । क्यानडाको साइबर सुरक्षा एजेन्सीले बताएअनुसार सन् २०१८ मा चुनाव सम्पन्न गरेका विकशित देश मध्य आधाले कुनै न कुनै किसिमको साइबर आक्रमण सामना गर्नु परेको थियो जुन सन् २०१५ को तुलनामा तिन गुणाले बढि  हो ।

अनलाइन मतदानलाई लिएर साइबर सुरक्षाबिज्ञहरु मुख्य गरि दुई चुनौतिऔल्याउछन् । जसमध्य पहिलो हो मतदाताले मतदानमा प्रयोग गर्ने व्यक्तिगत उपकरण लक्षित साइबर आक्रमण “एन्टी फिसिंग वर्किङ्ग  गु्रप” ले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वका करिब एक तिहाई कम्प्युटर कुनै न कुनै प्रकारको मालवेयरबाट ग्रसित छन् ।

यसरी कम सुरक्षित तथा संवेदनशील उपकरण मतदानको बेला मालवेयर आक्रमणमा पर्ने जोखिम रहन्छ ।  मतदाता अनलाइन मतदान प्रक्रियामा सहभागी भइरहदा यस्ता मालवेयर पृष्ठभूमिमा  रही गोप्य कोड रेकर्ड गर्ने गर्दछन जसको फलस्वरूप सोहि कोडलाइ प्रयोग गरि वास्तविक मतलाई परिवर्तन र ओभरराइट गर्न सक्ने क्षमता राख्दछन ।

दोस्रो चुनौति भनेको निर्वाचन प्रणालीको सर्भरमा आक्रमण हो जसले समग्र नतिजा नै परिवर्तन गर्दिन सक्ने हैसियत राख्दछ । सुरुमा मतदाताको मत इनक्रिप्टेड रुपमा सर्भरमा राखिन्छ जसलाई गणना गर्ने क्रममा डिक्रिप्ट गर्नुपर्ने हुन्छ ।  

डिक्रिप्सन को दौरानमा आक्रमणकारीद्वारा निर्देशित सफ्टवयर सक्रिय हुन्छन र उनीहरूले चयन गरेको उमेद्धारको पक्षमा काम गर्दछन ।  यसबाहेक सर्भरमा “डिस्ट्रिब्युटेड डिनायल  अफ  सर्भिस” हमला पनि हुन सक्छ जसमा कृत्रिम ट्राफिक सिर्जना गरि सर्भर अति व्यस्त बनाइन्छ । यसरी व्यक्तिगत उपकरणमा हुन सक्ने हमला र सर्भरमा हुने आक्रमणको अलवा मतदाता प्रमाणिकरणको चुनौतिपनि देखिन्छ ।  
                 
एशोसिएसनले पहिल्याउनु पर्ने बाटो 

प्रथमतः विपत्तिको बेला मात्र प्रविधिलाई सम्झनु गलत हो ।  सामान्य अवस्थामा पनि प्रविधिको अधिकतम प्रयोग गरि बढी भन्दा बढी इन्जिनियरहरूलाई मतदान प्रक्रियामा सामेल गराउनु आवश्यक छ ।  

सूचना प्रविधि विज्ञहरू इन्टरनेट सञ्जालमा आवद्ध जुनसुकै उपकरण र प्रणाली ह्याक हुने सम्भावनालाई नकार्न नसकिने बताउँदछन् तर यसो भन्दैमा अनलाइन निर्वाचन प्रणाली अपनाउन नसकिने चाँहि पक्कै हैन ।

विडम्बना त चुनावको पूर्वसन्ध्यामा मात्र इन्जिनियर्स एशोसिएसनमा इन्टरनेट भोटिङको  छलफलले ग्राह्यता पाउनु हो । प्रविधिकै क्षेत्रमा काम गर्ने जनशक्तिको नेतृत्व गर्ने संस्थाले प्रविधिको प्रयोग गर्दै राज्यलाई नै यसतर्फ डो¥याउनु सक्नुपर्छ ।

पक्कै पनि अधिकांश इन्जिनियरहरू व्यक्तिगत रुपमा अनलाइनमार्फत् मत हाल्न सक्ने दक्षता राख्दछन् जुन हाम्रो लागि निकै सुखद पक्ष हो । अनलाइन निर्वाचनको  मुख्य पाटो मतदाताको प्रमाणीकरण कसरी गर्ने भन्ने हो । इन्टरनेट मतदानको  अभ्यास गरिएको देशमा राष्ट्रिय परिचयपत्र र डिजिटल हस्ताक्षरलाई मतदाता प्रमाणीकरणका लागि प्रयोगमा ल्याएको पाइन्छ ।  

यसैगरी भारतीय निर्वाचन आयोगले आधारकार्ड सहित इमेज म्याचिङ्ग र भ्वाइस बायोमेट्रिकलाई आधार बनाउदै रिमोट भोटरलाई प्रमाणीकरण गर्ने प्रस्ताव गरेको छ । यता सन् २०१९ मा सम्पन्न भएको गैह्र आवासीय नेपाली संघ अष्ट्रेलियाको चुनावमा भने इमेल र मोबाइलमा पठाइने एसएमएस कोडद्वारा मतदाता प्रमाणीकरण गरिएको थियो, जसमा एकचोटी मतदान गरेपछि पुनः आफ्नो मत परिवर्तन गर्न नपाइने व्यवस्था रहेको पाइएको छ । ने

पाल इन्जिनियर्स एशोसिएसनले वितरण गरेको परिचय पत्र मतदाता  प्रमाणीकरणको लागि पक्कै पनि पर्याप्त नभएको हुनाले सर्वप्रथम हामीले प्रमाणीकरणको आधार सुनिश्चित गर्नुपर्ने हुन्छ । यसका साथै निर्वाचनको समयमा मतदाताले व्यक्तिगत रुपमा अपनाउनुपर्ने साइबर सुरक्षाका विषयमा पनि ध्यान दिनु आवश्यक छ ।  प्रमाणीकरणका साथसाथै निर्वाचन प्रणालीका समग्र पक्षलाई व्यवस्थित गर्न एशोसिएसन तत्काल सबै पक्षलाई समेटी अगाडि बढ्नु आवश्यक छ । 

पर्याप्त पूर्व तयारीका साथ अगाडि बढेमा करिब सत्र हजार मतदाता रहेको एशोसिएसनले अनलाइन निर्वाचन प्रणाली कार्यान्वयनमा ल्याउन सक्दछ ।  तर चुनावको पूर्वसन्ध्यामा ठोस तयारीबिना अनलाइन प्रणालीमा गए निर्वाचन नतिजा सर्वमान्य नहुन सक्ने सम्भावना समेत रहन्छ । सचेत मतदाता र सुरक्षित तथा भरपर्दो प्रणाली नै अनलाइन मतदानको को मुख्य आधार हो ।  
 



उपप्राध्यापक, नेपाल इन्जिनियरिङ कलेज

Your Comments