भूकम्पका साढे छवर्ष, सात लाखभन्दा बढी घर पुनः निर्माण

भूकम्पका साढे छवर्ष, सात लाखभन्दा बढी घर पुनः निर्माण


इन्जिनियर्स नेपाल |  असोज २१, २०७८,


engineersnepal.com

भूकम्पमा क्षतिग्रस्त भएका सात लाखभन्दा बढी घरको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पको साँढे छ वर्ष बित्दा कूल लाभग्राहीमध्ये झण्डै ८५ प्रतिशतले घर सम्पन्न गरेर पूरा किस्ता लिइसकेका छन् । भूकम्पपछिको पुनःनिर्माणका लागि सरकारले गठन गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सबैभन्दा पहिले निजी आवास निर्माणमा लागेको थियो । अरु सार्वजनिक संरचनाको पुनःनिर्माणभन्दा निजी आवासमा प्रगति बढी देखिएको छ ।

सरकारले भूकम्प प्रभावित भनी सूचीकृत गरेका ३२ जिल्लामा जम्मा लाभग्राही आठ लाख ६६ हजार १६० रहेका छन् । तीमध्ये आठ लाख २९ हजार ६६७ सँग अनुदान सम्झौता भएको थियो । प्राधिकरणले एक हजार १०२ सम्भावित बस्तीलाई जोखिमयुक्त बस्तीका रुपमा सूचीकृत गरेको थियो । तीमध्ये ६८ बस्तीका चार हजार ७२० घरका लागि जग्गा व्यवस्थापन गरिसकेको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवलीले बताए ।


ADVERTISEMENT

उनले भने, “जोखिमयुक्त बस्ती स्थानान्तरणको काम सम्पन्न हुने चरणमा छ ।” यो अवधिमा १२ हजार ७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माणको सुनिश्चितता गरिएको छ । कूल १२० एकीकृत बस्ती निर्माण तथा सुधार गर्नुपर्नेमा जम्मा ६८ सम्पन्न भइसकेको छ भने ५२ निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणले जनाएको छ ।

सुरक्षित घर निमाणसम्बन्धी प्रविधिको विकास र जनस्तरमा हस्तान्तरण भएको प्राधिकरणले जनाएको छ । स्थानीय निर्माण सामग्रीबाट बनेका घरका लागि समेत प्रबलीकरण प्रविधिको विकास र कार्यान्वयन भएको प्रमुख कार्यकारी अधिकृत ज्ञवलीले बताए ।

सुरक्षित निर्माणका लागि ठूलो जनशक्ति उत्पादन भएको उनले बताए । उनले भने, “झण्डै एक लाख डकर्मी र सिकर्मी तथा छ हजार प्राविधिक उत्पादन भएको छ ।” प्राधिकरणले निर्माणाधीन संरचनाको पुनःनिर्माण र पुनःस्थापनाका बाँकी काम संशोधित पुनःनिर्माण तथा पुनःस्थापना योजना बनाएर सो कामको जिम्मेवारी सम्बन्धित मन्त्रालय र निकायमा दिइएको छ । ती मन्त्रालयले पुनःनिर्माणसम्बन्धी बाँकी रहेका काम सम्पादन गर्ने गरी अस्थायी संस्थागत संरचना र कर्मचारी गर्ने गरी अर्थ मन्त्रालयसँग बजेटका लागि सहमति मागिएको उनले बताए ।

निर्देशक समितिको बैठकले पुनःनिर्माणको बाँकी काम सम्पन्न गर्न कति जनशक्ति चाहिन्छ भनी निर्णय गरेको थियो । भूकम्पका समयमा धेरै संरचनामा एकै पटक क्षति पुगेपनि कुन पहिले गर्न आवश्यक छ भनी हेरेर प्राथमिकतामा छुट्टा्याइएको प्रमुख कार्यकारी निर्देशक ज्ञवलीले बताए । 

भूकम्पका समयमा एक हजार १६४ स्वास्थ्य संस्था क्षतिग्रस्त भएका थिए । तीमध्ये अहिलेसम्म ७५१ निर्माण सम्पन्न भइसकेको छ भने ५९ निर्माणाधीन अवस्थामा छन् । अरु सरकारी भवनमा ४१४ भवन क्षतिग्रस्त रहेकामा ३८८ सम्पन्न भएको छ । अझैसम्म २० भवन निर्माणाधीन रहेको प्राधिकरणको तथ्याङ्क छ ।

सरकारी निकायका भवनमा २१६ मध्ये सबै सम्पन्न भइसकेको छ । पुरातात्विक सम्पदामध्ये ९२० पुनःनिर्माण गर्नुपर्नेमा ५८६ सम्पन्न भइसकेको छ । अहिलेसम्म १९५ निर्माणधीन रहेको र ११५ सुरु हुनबाँकी रहको प्राधिकरणको तथ्याङ्क छ । देशभरमा ७६४ किमी सडक र १५ पुल पुनःनिर्माण गर्नुपर्नेमा अहिलेसम्म ६५७ किमी सडक र नौ पुलको निर्माण सम्पन्न भइसकेको छ । १०७ किमी सडक र छ पुल निर्माणाधीन अवस्थामा रहेका छन् । १०६ बस्तीमध्ये ६२ सम्पन्न भइसकेको र ४४ निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणले जनाएको छ । 

पुनःनिर्माणमा अरु संरचनाभन्दा गुम्बामा प्रगति कम देखिएको छ । देशभरका एक हजार २९७ गुम्बामध्ये हालसम्म ३७३ गुम्बाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । अझै १०७ गुम्बा निर्माणाधीन अवस्थामा रहेको र ६५८ सुरु भइनसकेको जनाइएको छ । रासस
 



Your Comments