कहिले चढ्ने होला २२ तले धरहरा ?

कहिले चढ्ने होला २२ तले धरहरा ?

धरहरा पुनर्निर्माणका लागि प्रयोग हुने ९० प्रतिशत नेपालमै उत्पादित सामग्री रहनेछन् ।


इन्जिनियर्स नेपाल |  माघ २०, २०७६, काठमाडौं


#
engineersnepal.com

वि.सं. १८३२ मा भीमसेन थापाले निर्माण गरेको ऐतिहासिक धरहरा वि.सं. १९९० सालको भूकम्पले भत्कायो । सुरुमा धरहरा ११ तलाको थियो । दुई तला भत्किएपछि ९ तलमा सीमित रहन पुग्यो । वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले धरहराको सबै संरचना ध्वस्त पारिदियो । पछिल्लो भूकम्पअघिको नौतले धरहरा नयाँ संरचनाअनुसार २२ तलाको बन्दै छ ।

धरहराको नयाँ स्वरुप बाहिरबाट हेर्दा सुरुवातमा बनेको जस्तै ११ तलाकै देखिए पनि भित्रबाट २२ तलाको हुनेछ । बाहिरबाट हेर्दा डिजाइन पनि पुरानै देखिनेछ । तर, भित्र भने सुविधासम्पन्न तवरले डिजाइन गरिनेछ । धरहराको उचाइ ७२ मिटर र ४८ फिट हुनेछ ।


ADVERTISEMENT

पार्कदेखि, म्युजियमसम्म
धरहराको नयाँ संरचनाअनुसार सर्वसाधारणका लागि दुईतर्फी लिफ्टको व्यवस्था हुनेछ । एउटा परम्परागत भ¥याङ पनि हुनेछ । लिफ्ट र भ¥याङ दुवैै माध्यमबाट धरहरा चढ्न सकिनेछ । ४२ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्युजियम, पार्क, थिएटर, वाटर फाउन्टेन, रेस्टुरेन्ट, प्रदर्शनी हल, पसल, पार्किङलगायतका सुविधा हुनेछ ।

त्यहाँ बस्न चाहने, ध्यान गर्न चाहने र धरहरा चढ्न चाहनेका लागि छुट्टाछुट्टै व्यवस्था हुनेछ । हाल गुह्येश्वरी हुलाक भएको स्थानलाई खाली गरेर सो स्थानमा पार्क निर्माण गरिनेछ । पार्कमा बस्ने ठाउँ, ढुङ्गेधारा, चमेना गृह र फूल तथा बोटबिरुवा हुनेछन् ।

केज र एमआरबी एसोसिएट्स जेभीले धरहराको अन्तिम ‘ड्रइङ एन्ड डिजाइन’ तयार पारे । जसको डिजाइन लागत ७७ लाख ८४ हजार थियो । पछि पुनर्निर्माण प्राधिकरणले त्यसकै आधारमा धरहराको अन्तिम डिजाइन सार्वजनिक गरेको थियो । 

त्यस्तै, म्युजियममा टक्सारका पुराना मेसिन, छापिएका मुद्रा र गोश्वार हुलाकका टिकटलगायतका ऐतिहासिक सामग्री राखिनेछ ।

म्युजियम जाने बाटोमा ५० फिट अग्लो फाउन्टेन हुनेछ । नेपालको मौलिकता झल्किने हस्तकलाका सामग्रीको बिक्री कक्षमा राखिनेछ । ०७२ सालको भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’का रुपमा सिसाको फ्रेमभित्र सजाएर राखिनेछ । अर्थात्, नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको बचेको भाग पनि हेर्न पाउनेछन् । 

वृद्धवृद्धा, बालबालिका तथा अपांगमैत्री धरहरा परिसरमा आउने अवलोकनकर्ताका लागि पार्किङको कुनै समस्या हुनेछैन । तीन सय ५० गाडी र ६ हजार मोटरसाइकल पार्किङ गर्न मिल्नेछ । धरहराको निर्माणपछि हाल सुन्धारा, रत्नपार्क र न्युरोड क्षेत्रमा देखिएको पार्किङ समस्या पनि हल हुने विश्वास लिइएको छ ।

धरहराबाट काठमाडौंको सबै भाग देखिनेछ । एकै पटकमा ४५ जनाले धरहराको टुप्पोबाट काठमाडौं चिहाउन पाउनेछन् । टुप्पोमा पहिलेकै जस्तो गजुर र बार्दली हुनेछ । गजुर ६१.२ मिटर अग्लो हुनेछ । नयाँ धरहरा पुरानोभन्दा शहीद गेटतर्फ १० मिटर अगाडि बन्नेछ । प्रवेशद्वार भने हाल रहेको गोश्वार हुलाकको कार्यालय अगाडि रहनेछ । 
    
तीन अर्ब ४८ करोड बजेट, दैनिक डेढ सय कामदार
हाल धरहराको जमिनमुनि (अन्डरग्राउन्ड)को दुई तल्ला र जमिनमाथिको दुई तल्ला ढलान कार्य सकिएको छ । प्रत्येक १५ दिनमा एक तल्ला ढलान गर्ने ठेकेदार कम्पनी जीआईईटीसी–रमन जेभीले जनाएको छ ।

आगामी वर्षको असोजसम्ममा पुनर्निर्माण कार्य सम्पन्न गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र ठेकेदार कम्पनीबीच सम्झौता भएको छ । प्राधिकरणका सीईओ सुशील ज्ञवाली अबको एक वर्षमा सर्वसाधारणले धरहरा चढ्न पाउने बताउँछन् । हालसम्म लगभग ४० प्रतिशत काम सकिएको छ भने एक अर्ब रुपैयाँ खर्च भएको छ ।

निर्माण कम्पनीले मोबिलाइजेसन रकमस्वरुप प्रारम्भमा ६१ करोड रुपैयाँ लिएको छ । धरहरा पुनर्निर्माणका लागि तीन अर्ब ४८ करोड रुपैयाँ छुट्याइएको छ । ‘म बनाउँछु मेरो धरहरा’ पुनर्निर्माण अभियानअन्तर्गत २४ करोड रुपैयाँ संकलन भएको थियो । 

धरहरा पुनर्निर्माणका लागि नेपाली र भारतीय गरेर दैनिक एक सय ५० कामदार खटिएका छन् । पुनर्निर्माणका लागि प्रयोग हुने ९० प्रतिशत नेपालमै उत्पादित सामग्री रहनेछन् ।

भूकम्प गएको तीन वर्षपछि निर्माणकार्य सुरु गरिएको धरहरा पुनर्निर्माणका लागि नेपाली र भारतीय गरेर दैनिक एक सय ५० कामदार खटिएका छन् । पुनर्निर्माणका लागि प्रयोग हुने ९० प्रतिशत नेपालमै उत्पादित निर्माण सामग्री रहनेछन् । धरहरामा २७० वटा पाइरिङ पिलर रहनेछन् ।

प्राविधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरका अनुसार पहिलो चरणमा धरहरा निर्माण भएपछि दोस्रो चरणमा सुन्धाराको संरक्षण गरिनेछ । 

धरहराको पुनर्निर्माणको कार्ययोजना र समय स्पष्ट तोकिएकाले आगामी वर्षको कात्तिकसम्ममा काम सम्पन्न हुने प्राधिकरणका उपसचिव तथा सहप्रवक्ता मनोहर घिमिरेले इन्जिनियर्स नेपाललाई जानकारी दिए । 

२०७३ असार २९ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयममा धरहरा पुनर्निर्माणको जिम्मा नेपाल टेलिकमलाई दिएको थियो ।

टेलिकमले धरहरा व्यावसायिकरुपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि विभाग र स्थानीयले विरोध जनाएका थिए । त्यसपछि धरहरा पुनर्निर्माणको जिम्मा प्राधिकरणले पाएको थियो । उसले टेन्डर आह्वान गरेपछि रमनले प्रतिस्पर्धाका आधारमा ठेक्का पाएर पुनर्निर्माणकार्य सुरु गरेको हो ।

उसले दुई वर्षभित्र काम सक्ने गरी ०७५ कात्तिकदेखि काम सुरु गरेको थियो । धरहराको अन्डरग्राउन्ड बनाउन लामो समय लागेका कारण केही ढिलाइ भए पनि त्यसपछिको निर्माणकार्य भने चुस्त गतिमा भइरहेको छ । 

कसरी बन्यो डिजाइन ?
धरहराको प्रारम्भिक डिजाइन २०७३ साउनमै सम्पन्न भएको हो । पुरातत्व विभागले केज कन्सल्ट र एमआरबी एसोसिएट जेभीलाई डिजाइनको जिम्मा दिएको थियो । सो अवधिमा डिजाइन सम्पन्न गरेर एक कार्यक्रमका बीच इन्जिनियर विष्णु पन्थीले नयाँ डिजाइनको खाका प्रस्तुत गरेका थिए । सो डिजाइनअनुसार धरहरा निर्माणकार्य सम्पन्न गर्न तीन अर्ब रुपैयाँ र तीन वर्ष समय लाग्ने बताइएको थियो ।

८ रेक्टरसम्मको भूकम्प धान्न सक्ने गरी धरहराको डिजाइन गरिएको थियो ।

पछि त्यसलाई केही मात्रामा हेरफेर गरेर केज र एमआरबी एसोसिएट्स जेभीले धरहराको अन्तिम ‘ड्रइङ एन्ड डिजाइन’ तयार पारे । जसको डिजाइन लागत ७७ लाख ८४ हजार थियो । पछि पुनर्निर्माण प्राधिकरणले त्यसैलाई धरहराको अन्तिम डिजाइनको रुपमा सार्वजनिक गरेको हो । 

जसअनुसार ०७३ सालको लागत खर्च तीन अर्बबाट बढेर चार अर्ब २७ करोड लाग्ने आँकलन गरियो । ठेक्का आह्वान गरेपछि रमनले धरहरा निर्माणको लागत अनुमानभन्दा ३० प्रतिशत कम अर्थात् तीन अर्ब ४८ करोडमा ठेक्का कबोल गरेको थियो । प्राधिकरणले आह्वान गरेको ग्लोबल टेन्डरमा ६ वटा कम्पनीले धरहरा निर्माणमा रुचि देखाएका थिए ।

त्यसमध्ये प्राधिकरणले ५ वटा कम्पनीलाई छनोट गरेको थियो । जसबाट सबैभन्दा सस्तोमा काम गर्ने भएपछि रमनलाई ठेक्का दिइयो । 

इन्जिनियर्स नेपाल मासिक पत्रिकाबाट 



Your Comments