११ वटा जटिल भीर फोडेर हुम्ला पुग्यो कर्णाली करिडोर

११ वटा जटिल भीर फोडेर हुम्ला पुग्यो कर्णाली करिडोर


इन्जिनियर्स नेपाल |  जेठ १४, २०७८,


engineersnepal.com

एघारवटा जटिल भीर पार गर्दै पाँच वर्षमा कर्णाली करिडोर हुम्ला पुगेको छ ।असजिला र बढी चट्टानी भाग कोरोनाकालमै चिर्न सफलता प्राप्त भएको हो ।

हुम्लाको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ल अपत्यारिला भीरबाट हुम्लामा सडक पुगेको कुरा सपनाजस्तो लागेको बताउछन् । “यति असजिलो भीरमा पनि सडक बन्छ भन्ने कुरा पत्यार थिएन तर सफल भयो । देशभर कोरोनाका कारण विकास निर्माण ठप्प हुँदा पनि हुम्लामा सडक पु¥याउन काम रोकिएन,” मल्लको भनाइ छ । 


ADVERTISEMENT

पाँच वर्षअघि कर्णाली करिडोरको जिम्मा नेपाली सेनाले पाएपछि काममा तीव्रता पाएको उनले उल्लेख गरे । सो सडकको हुम्ला खण्डमा कवाडीदेखि सलीसल्लासम्मको ३९ किलो मिटर क्षेत्रमा २०७३ चैत ९ गतेबाट सेनाले काम सुरु गरेको थियो । 

कोरोना सङ्क्रमण सुरु भएयता सेनाले सडक निर्माण कार्यलाई झनै तीव्रता दिएको थियो । 

नेपाली सेनाको सो सडक निर्माण दलका प्रमुख मिलन कार्की यो चट्टानी भीरमा सडक निर्माण देशकै सम्भवतः सबैभन्दा कठिन काम आफूलाई लागेको बताए । 

सेनाले हुम्ला खण्डको सडक निर्माणको दूरी छोटो भए पनि कडा चट्टानी भाग र असजिला ११ वटा भीर छिचोलेर पूरा गरेको उनको भनाइ छ । 

खुलालु, लैफु कवाडी हुँदै सलीसल्ला खण्ड कति जटिल हो भन्ने कुरा स्थानीयवासीलाई मात्र राम्रो जानकारी छ, उनले भने ।

यसका लागि आधा दर्जन मेसिन प्रयोग र दुई टन विस्फोटक पदार्थ सेनाले खर्च गरेर सडक निर्माण कार्य पूरा गरेको उनले जानकारी दिए । काम पहिलेबाटै सुरु भएपछि अप्ठ्यारा र असजिला भीरमा कोरोना सङ्क्रमण अवधिमै काम बढी भएको योजना प्रमुख कार्कीले जानकारी दिए । 

सेनाको सडक निर्माण दलले हुम्ला खण्डमा छिचोलेका भीरहरूमा तीर्थ सेना भीर डेढ सय मिटर, हल्गाडे दुई सय मिटर, काने भीर ढाई सय मिटर, चङ्खेला भीर डेढ सय मिटर, बालुकुना गौडा भीर दुई सय मिटर, लहरे भीर डेढ सय मिटर, खच्चा भीर दुई सय मिटर, नेरघाट भीर चार सय मिटर, बाँदर खोला भीर दुई सय मिटर र सलीसल्ला भीर एक किलो मिटर लम्बाइका रहेको उनले जानकारी दिए ।

सलीसल्ला भीर सबैभन्दा असजिलो भएका कारण सेनाले डोरी बाँधेर समेत होल खोप्ने कार्य सम्पन्न गरेको थियो । यसका लागि सेना र सर्वसाधारण गरी साढे पाँच सय कामदार सडक निर्माणमा संलग्न रहेको थियो । गोरखापत्र दैनिकबाट



Your Comments