निषेधाज्ञाकोबीच करिब हजार जना नारायणगढ–बुटवल सडकखण्डमा काम गर्दै

निषेधाज्ञाकोबीच करिब हजार जना नारायणगढ–बुटवल सडकखण्डमा काम गर्दै


इन्जिनियर्स नेपाल |  बैशाख २१, २०७८,


engineersnepal.com

निषेधाज्ञाकोबीच पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम भैरहेको छ।

विभिन्न कानुनी जटिलतामा फसेको आयोजना सबै समस्या समाधान गर्दै सडक विस्तारलाई तिब्रता दिएको हो। वन तथा निकुञ्ज क्षेत्रमा जग्गा अधिग्रहण, रुख कटानलगायतका काम अगाडि बढाउन लामो समय खर्चिनु परेको थियो।


ADVERTISEMENT

नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजनाले अब कुनै पनि कानुनी अवरोध नभएकाले राजमार्ग विस्तारको काम तिब्रगतिमा अघि बढ्ने जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार गर्ने भन्दै २०७५ चैत ८ गते राजमार्गको सो खण्डको विस्तार कार्यको शिलान्यास गरेका थिए ।

तर हालसम्म जम्मा ७ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। आयोजनाका अनुसार अहिलेसम्म रुख कटानको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । निकुञ्ज क्षेत्रमा शतप्रतिशत रुख कटान सम्पन्न भइसकेको छ भने वन क्षेत्रमा १० प्रतिशत कटानको काम बाँकी छ ।

कोरोना महामारीबीच स्वास्थ्य मापदण्ड अपनाएर राजमार्ग विस्तार कार्यमा दैनिक एक हजारभन्दा बढी जनशक्ति कार्यरत रहेको आयोजनाले जानकारी दिएको छ। राजमार्ग अन्तर्गत गैँडाकोट क्षेत्रका पाँच स्थानमा अस्थायी मार्ग परिवर्तन गरी १२ वटा ठूला पुल निर्माण कार्य अगाडि बढिरहेको छ ।

निर्माणाधीन पुलहरूको ‘पाइलिङ’को काम सम्पन्न भई फाउन्डेसनको काम भइसके छ। राजमार्ग विस्तारका क्रममा कुल १२ वटा ठूला पुल र २२ वटा साना पुल निर्माण हुनेछन्। ११३ किलोमिटर खण्डको सडक विस्तार दुई ‘प्याकेज’मा भैरहेको छ।

गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.५ किलोमिटर र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर गरी विस्तार भैरहेको छ। सडकको लागत करिब १७ अर्ब रुपियाँ रहेको छ।



Your Comments