काठमाडौं  उपत्यकामा १ लाख २० रोपनी क्षेत्रमा ३ नयाँ सहर बन्दै

काठमाडौं  उपत्यकामा १ लाख २० रोपनी क्षेत्रमा ३ नयाँ सहर बन्दै


इन्जिनियर्स नेपाल |  फागुन १८, २०७७,


engineersnepal.com

काठमाडौं उपत्यकामा ३ वटा नयाँ शहर निर्माणको भौतिक योजना मन्त्रिपरिषदमा पेश हुने भएको छ । उपत्यका विकास प्राधिकरणले तयार पारेको योजना सहरी विकास मन्त्रालयले अध्ययन गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको हो । 

सरकारले काठमाडौंको चारै दिशामा चार नयाँ सहर निर्माण गर्ने योजना अघि सारेपनि ललितपुरको खोकनाका स्थानियले सहमति नजनाउँदा ३ वटा मात्रै प्रस्ताव अघि बढेको हो । 


ADVERTISEMENT

 काठमाडौंको उत्तर पूर्वी क्षेत्रमा १ लाख रोपनी, पूर्वी–दक्षिणमा आग्नेय र उत्तरमा १०–१० हजार रोपनीमा नयाँ सहर निर्माण  गरिने प्रस्ताव पेश गरिएको छ । 

प्राधिकरणले गत कार्तिकमै डीपीआरसहितको योजना सहरी विकास मन्त्रालयमा पेश गरे पनि मन्त्रालयले छलफल आवश्यक रहेको भन्दै योजना मन्त्रिपरिषदमा पेश गरेको छैन।

प्राधिकरण  डीपीआर स्वीकृत  गरीसकेकाे छ। प्राधिकरणले पहिला डीपीआर स्वीकृत गर्ने भनेर मन्त्रालय पेश गरेको थियो। डीपीआर मन्त्रिपरिषदले स्वीकृत गर्दा पछि अप्ठ्यारो पर्ने भएकाले भौतिक पूर्वाधार योजना मात्रै पास गर्ने तयारी भएको मन्त्रालयले जानकारी गराएको छ। 

भौतिक योजनामा ब्लक निर्धारण गरिएको छ। शैक्षिक क्षेत्र, पर्यापर्यटन क्षेत्र, औद्योगिक क्षेत्र, सांस्कृतिक गाउँ, संरक्षण क्षेत्र, जंगल क्षेत्र, आवस क्षेत्र, मुख्य सहर भनी ब्लक निर्धारण गरेको छ।मन्त्रिपरिषदले उक्त योजना पास गरेपछि जग्गा प्राप्ति र पूर्वाधार निर्माणको काम सुरु हुनेछ।

‘भइरहेको सहरलाई व्यवस्थित बनाउन नयाँ सहरको योजना बनाएका हौँ’, तिवारीले भने, ‘अहिले यो योजना अघि नबढाउने हो भने केही वर्षमा काठमाडौंमा खुल्ला ठाउँ हुँदैन।’

काठमाडौंमा साना पोखरी छन्, ताल छैनन्। नयाँ बन्ने सहरमा ४–५ सय रोपनीका तालसहित खुल्ला क्षेत्र, फराकिलो बाटोसहित मनोहरा करिडोर निर्माण हुने  छन् । 
तीन ठुला सहर मध्ये उत्तर पूर्वमा पर्ने ईशान सहरको लागत २ खर्ब ८६ अर्व रहेको छ ।  नयाँ शहरमा काठमाडौंको मनोहरा नगरपालिका, संखरापुर र भक्तपुरको चाँगुनारायण नगरपालिका, मध्यपुर ठिमी लगाएको क्षेत्र ओगट्छ । 

‘सहर निर्माणमा स्थानीयको जग्गा लिन्छौँ। स्थानीयलाई ठूला पूर्वाधारसहित फिर्ता गर्छौँ’, सहरी विकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंहले भने, ‘अहिले स्थानीयले ३७ प्रतिशत जग्गा योगदान गरे पनि पछि स्थानीयको जग्गाको भ्यालु बढ्छ।’

पूर्वी–दक्षिणमा आग्नेयका स्थानियले ३५ प्रतिशत जग्गा योगदान गर्नुपर्ने छ । जसको लागत २३ अर्व २५ करोड रहेको छ । त्यसैगरी  उत्तरको हरीयाली  सहरको निर्माणका लागि त्यहाँका स्थानियले ३२.८७ प्रतिशत योगदान गर्नुपर्ने छ । यसको लागत २५ अर्व ८३ करोड रहेको छ । आग्नेय र उत्तरको सहर निर्माण ५ वर्षमा सकिने अनुमान गरिएको छ । 

 आग्नेय सहरले भक्तपुरको कुटुन्जे, दधीकोट, गुड्डु, सिरुकोट, बालकोट क्षेत्र रहेको छ भने उत्तरको हरियाली काठमाडौ जिल्ला भित्र पर्छ । जसमा तारकेश्वर, टोखा  क्षेत्रपर्छ । 

 सचिव सिहले नयाँ सहर निर्माणको लागि स्थानीयसँगको छलफलपछि मात्रै योजना अघि बढाएको बताएका छन्।

‘अहिले हामी घनीभूत छलफलमा रहेका छौँ। त्यसपछि सहरी विकासमन्त्री अध्यक्ष रहने भौतिक विकास समितिमा आउँछ। त्यहाँबाट पास भएपछि मन्त्रिपरिषदमा जान्छ’, सिंहले भने,‘मन्त्रिपरिषदले ब्लक निर्धारण गर्छ। त्यसपछि त्यहाँ आयोजना व्यवस्थापन समिति बन्छ। समितिले ब्लकभित्रको प्रत्येक व्यक्तिको जग्गा एकीन गरी पूर्वाधार निर्माणसँगै जग्गा फिर्ता गर्छ।’

उनले भौतिक योजना मन्त्रिपरिषदले पास गर्दा सबै निकाय मान्न बाध्य हुने भएकाले मन्त्रिपरिषदमा पेश गर्नुपर्ने आवश्यकता रहेको बताए।

 
 



Your Comments