इन्जिनियरिङ अध्ययन संस्थानलाई खुलापत्र

इन्जिनियरिङ अध्ययन संस्थानलाई खुलापत्र


ई.नीरज अधिकारी |  जेठ २३, २०७८,


engineersnepal.com

परीक्षा के का निम्ति हो ? के परीक्षा सधैँ तिन घण्टे नै हुनुपर्छ ? कोरोना महामारी बिच परीक्षा गराउने कुनै वैकल्पिक उपाय नै नभएको हो ? वा यो महामारीले हामीलाई नयाँ ढङ्ग बाट अगाडि बढ्न प्रेरित गरिरहेको छ? या कहिँकतै सम्बन्धित निकाय नयाँ ढङ्ग बाट अगाडि जान आलटाल पो गरिरहेको छ ? वा अहिलेको परीक्षा प्रणाली नै सबैभन्दा उत्तम हो ? यो र यस्ता खालका प्रश्नहरू  अहिले समयमा आमरूपमा उठिरहेको छ। 

मैले बुझे सम्म परीक्षा विद्यार्थीको सिकाइको मापन गर्ने एउटा माध्यम हो। विद्यार्थीले कुनै पनि विषयमा जान्नुपर्ने अनि बुज्नुपर्ने ज्ञान हासिल गरे गरेनन् , कुनै पनि विषयमा दिनुपर्ने समय दिए दिएनन् ,मेहनत गरे कि गरेनन् वा कति बढी ज्ञान हासिल गर्न सफल रहे भन्ने मापन हो।


ADVERTISEMENT

यो मापन गर्ने तरिका अहिले सम्म तिन घण्टे परीक्षा बाट हुँदै आएको छ। अहिलेको समयमा यो परीक्षा प्रणाली स्नातक तह वा त्यो भन्दा माथिको तहमा मात्र होइन माध्यमिक तहमा पनि असफल भइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन्।

अहिलेको परिस्थितिमा भोलि लकडाउन खुल्छ अनि पर्सी पुरानै विधि बाट लिइरहेको परीक्षाको रुटिन सार्वजनिक गर्छु अनि देख्यौँ हामीले त व्यापक रूपमा परीक्षा गर्न सफल भयौँ भन्नु सम्बन्धित निकायको सफलता/असफलता के मान्ने ?

केही दिन अघि पोखरा विश्वविद्यालयले वैकल्पिक तरिका बाट विद्यार्थीको मूल्याङ्कन गर्नका निम्ति निर्देशिका जारी गरेको छ। समग्र रूप हेर्दा उक्त २० पृष्ठ लामो  निर्देशिकाले नयाँ सिराबाट अघि बढ्न खोजेको मान्न सकिन्छ ।

त्रिभुवन विश्वविद्यालयले भने अहिले सम्म केही पहल गरेको देखिन्न। प्राविधिक इन्जिनियरिङ ज्ञान दिने देशकै अग्रणी इन्जिनियरिङ संस्था यति बेला कानमा तेल हालेर अझ दु ख लाग्दो कुरा हो ।

समग्र देशलाई अहिलेको महामारीको समयमा कुन अनि कस्तो प्राविधिक तरिकाले अध्ययन अध्यापन गराउँदा समग्र शिक्षा क्षेत्रलाई महामारीको प्रकोप बाट टाढा राख्न सकिन्छ भनेर सिकाउनु पर्ने संस्था नै मस्त निन्द्रामा हुनु निक्कै नै दुर्भाग्य हो।  

हुन त शिशुकक्षामा अनलाइन कक्षा सञ्चालन गरिसक्दा नि अघिल्लो बन्दाबन्दीमा इन्जिनियरिङ अध्ययन संस्थान (इ.अ.स) अनलाइन कक्षा उपयुक्त नहोला भन्दै मस्त निन्द्रा मा थियो। यो चिन्तन बाट अघि बढिरहेको इअसको ब्यबस्थापन टिम बाट केही राम्रो समाधान आउला भन्ने न्युन आशा रहेको छ ।

पहिलो लकडाउनको एक महिना पछि विधार्थीहरुबाट अनलाइन कक्षाको माग भए पनि त्यसको तिन/चार महिना पछि भाद्र एक बाट अनलाइन कक्षा सुरु गर्ने निर्णय इ.अ.स ले  गर्‍यो। कम तयारी बिच सुरु भएको अनलाइन कक्षा कति सफल भयो वा भएन यो विद्यार्थीले मुल्यांकन गर्ने कुरा रह्यो ।

नयाँ तरिका बाट कक्षा सञ्चालन हुँदै गर्दा कतिपय शिक्षक अनि विद्यार्थीलाई असहज भएको थियो। यस बिचमा अध्ययन अध्यापनलाई निरन्तरता दिन र विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा अग्रसर गराउन, अलि सहज परिस्थितिमा प्रयोगशाला गराई अध्यापन गराउन भने इ.अ.स केही सफलता मान्न सकिन्छ । सँगसँगै विद्यार्थी तथा शिक्षकहरूसँग कसरी अनलाइन कक्षालाई अझै प्रभावकारी बनाउन सकिन्छ भनेर प्रयाप्त छलफल भएन ।

प्रयाप्त छलफल भएको भए त्यसबाट आएको निष्कर्ष बाट अनलाइन कक्षालाई थप प्रभावकारी बनाउन सकिन्थ्यो । माइक्रोसफट् टिम चलाउन दिइएको तालिम बाहेक अन्य कुनै पनि थप तालिम शिक्षक लाई नदिनु र अनलाइन कक्षा सञ्चालन का निम्ति के कस्ता थप स्रोतहरू जुटाउन पर्छ भन्ने नसोच्नु कमजोरी देखिन्छ।

दुई महिने लामो परीक्षा गराउँदा इ.अ.स. प्रशासन निकै खुसी देखिन्थ्यो भने विद्यार्थीहरू निराश। पक्कै पनि कोरोनाको डर बिचको परीक्षा अनि दुई महिना लामो, धेरै विद्यार्थी बाट मानसिक तनावको अनुभव सुनिएको थियो।

इ.अ.स. प्रशासन अझै पनि त्यही खुसीमा मस्त छ र त अहिले सम्म केही विकल्प बारे शब्द पनि उच्चारण गर्न खोज्दैन। आर्को तर्फ विद्यार्थी आफ्नो भविष्य अनि उसको मनोविज्ञानमा पर्न सक्ने असर देख्दै निराश छ। 

अहिले गरिएका कमी कमजोरीहरूको असर विद्यार्थी, शिक्षक ले त भोग्दै जाने छन् नै, भोलिको दिनमा इ.अ.स. प्रशासन पनि यस बाट अछुतो भने हुने छैन। आफ्नो कार्यकाल सकिएको २, ४ दिन पछि अवकाश  लिने नै हो भनेर डिन सर गैरजिम्मेवार बन्न खोज्नु भएको हो भन्ने नलागेता पनि  यस खाले निन्द्रामा थप रहिरहँदा भोलि कुनै दिन विद्यार्थी तथा शिक्षकले त्यो अनुभूति नगर्लान् भन्न सकिदैन।

अतः धेरै नै ढिला भैसकेको छ। इ.अ.स. प्रशासन तथा कलेज प्रशासन आफ्नो निन्द्रा बाट तुरुन्त उठेर सबै सरोकार वाला पक्ष सँग गहन छलफल गरेर यस अन्योलको अवस्थाबाट सबैलाई एउटा सफल भविष्य तर्फ डोर्याउन मार्गदर्शक बनेर आउनु हुनेछ भन्ने अपेक्षा रहेको छ। 

अनलाइन कक्षाको प्रभावकारिता बारे विधार्थीहरुबाट अनि शिक्षकहरूबाट प्रतिक्रिया लिएर अघि बढ्नु पर्ने देखिन्छ। उक्त  प्रतिक्रियाबाट आएका राम्रा कुराहरू लाई प्रोत्साहन गर्दै जाने अनि कमजोरीहरूलाई नयाँ उपाय प्रयोग बाट सुधार गर्दै जानु पर्ने हुन्छ।

अनलाइन कक्षालाई थप प्रभावकारी बनाउन अनलाइन कक्षा बारे निर्देशिका जारी गरी अघि बढ्नु राम्रो हुन्छ। हुन त धेरै लाई लाग्न सक्छ अहिले आएर अनलाइन कक्षा बारे निर्देशिका जारी गर्नु तार्किक होला ?

अबका दिनहरूमा अनलाइन कक्षा हाम्रो शिक्षाको एउटा पाटो बनेर अघि बढ्छ चाहे महामारी को समय होस् वा अरू सामान्य समय। कोरोनाको महामारीले शिक्षा क्षेत्रमा निकै ठुलो क्षति  गरेको छ त छ नै सँगसँगै नयाँ तरिकाले प्रविधिको प्रयोग सँगै शिक्षा क्षेत्रमा गुणात्मक परिवर्तन गर्न सकिन्छ भन्ने कुरा पनि पुष्टि गरेको छ।

अहिलेको परीक्षा प्रणालीमा कुनै एक विषयलाई १०० अङ्कको भार छ जसमा २० अङ्क आन्तरिक, विषय शिक्षकबाट विद्यार्थीले प्राप्त गर्छन् भने ८० अङ्क का निम्ति सेमेस्टरको अन्त्यमा ३ घण्टे परीक्षा दिनु पर्ने हुन्छ।

सुरुमा छलफल गरौँ १०० अङ्कको यो विभाजन कत्तिको सही छ? विद्यार्थीलाई सबै भन्दा बढी चिन्ने उसको विषय शिक्षकले हो र उसले गर्ने मापनको भार अझै बढाउन सकिन्छ ।

सामान्यतः २० अङ्क विद्यार्थीलाई दिँदै गर्दा विषय शिक्षकले बढीमा दुइटा आन्तरिक परीक्षा लिने गर्छन् अनि त्यसको आधारमा विद्यार्थीले आफ्नो आन्तरिक मूल्याङ्कन पाउने गर्छन्।

आन्तरिक मूल्याङ्कनको भार बढाउदै गर्दा विद्यार्थी कक्षामा थप अनुशासित हुने र शिक्षकले पनि अन्य शैक्षिक गतिविधि थप गर्न सक्छन् । जस्तै विषय अनुसारको साना प्रोजेक्टहरू गराउने, सामूहिक रूपमा विभिन्न कार्यहरू गराउने, प्रस्तुतीकरण गराउने तथा समाजमा रहेका विषय सँग आधारित समस्या समाधानहरूमा केस स्टडी जस्ता विभिन्न क्रियाकलाप थप गर्न सक्छन्।

यस्तो प्रयोगले विद्यार्थीहरू किताबी ज्ञानमा मात्र सीमित नभएर व्यवहारिक ज्ञान हासिल गर्न सफल हुने छन् नै शिक्षकहरूलाई पनि विषय सम्बन्धित ज्ञान थप गर्न सहयोग हुने छ।

यसको कार्यान्वयनका निम्ति इ.अ.स. बाट थप खाका प्रस्तुत गर्नु पर्ने हुन्छ जसले आन्तरिक मूल्याङ्कन सम्पूर्ण कलेजहरूमा समान गर्न सहजीकरण गर्ने छ। 

पोखरा विश्वविद्यालयले जारी गरेको निर्देशिका जस्तै अनलाइन अन्तर्वार्ताका निम्ति विभाग प्रमुख, विषय शिक्षक तथा बाह्य परीक्षकको कमिटीबाट बढीमा १५ अङ्क प्राप्त गर्ने र थप ५० अङ्क मध्ये  १५ अङ्क बहु विकल्प प्रश्न बाट र ३५ अङ्क खुला किताब परीक्षाबाट विद्यार्थीले पाउने खाका बनाउँदा उपर्युक्त देखिन्छ।

यो लेख लेख्नुको पछाडि कसैमाथि दोष थुपार्नु भन्दा पनि इ.अ.स. प्रशासन अझै निन्द्रामै बस्न मिल्दैन भन्ने हो।

इन्जिनियरिङ अध्ययन संस्थानले यो महामारी बिच आफ्नो मातहतका इन्जिनियरिङ कलेज मात्र होइन समग्र देशको शिक्षा नीतिको नेतृत्व लिएर अगाडि बढेको देख्न चाहान्छौं । र इ.अ.स. प्रशासन देशको समग्र शिक्षा नीतिको नेतृत्व लिन योग्य तथा सक्षम छ।



 उप-प्राध्यापक,

इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस 

3 Comments

Thaneswar Upadhaya

June 7, 2021, 12:01 p.m.

Dear sir namaste, I fully agree with your views. Our Institution of great repute and National pride must update itself in the present situation and do something to help our talented youth to continue their education and research work which will be dedicated to the overall development of our Nation.

Purna bahadur budha

June 6, 2021, 10:19 p.m.

Sabi student ko marma hujur la khulaunu vaiyo sir. I solute you

Roshan Pandey

June 6, 2021, 9:36 p.m.

Good initiative on current issue 😎

Your Comments