एरोस्पेस इन्जिनियरिङ र नेपालमा यसको अध्ययन

एरोस्पेस इन्जिनियरिङ र नेपालमा यसको अध्ययन

अन्य देशको तुलनामा पुल्चोक क्याम्पसमा एरोस्पेस इन्जिनियरिङको पढाइ सस्तो छ


ई.कमल दर्लामी |  माघ ३, २०७६, काठमाडौं


#
engineersnepal.com

एरोस्पेस इन्जिनियरिङ मेकानिकल इन्जिनियरिङको विशेष फिल्ड हो । यो एरो (हवाइ) र स्पेस (अन्तरिक्ष) दुई शब्द मिलेर बनेको छ । सामान्यतः यसले हवाइ क्षेत्रसँग सम्बन्धित विषयको अध्ययन गर्छ । तर, यो अध्ययनको मल्टि–डिसिप्लिनरी विषय हो ।

पृथ्वीको एट्मोस्फेयरभित्र उड्ने वस्तुबारे ‘एरोनोटिकल इन्जिनियरिङ’ले अध्ययन गर्छ । एरोस्पेसले त्योभन्दा पनि अझ ठूलो डोमेनमा एट्मोस्फेयरभन्दा बाहिर समेत अध्ययन गर्छ । समग्रमा एरोस्पेस इन्जिनियरिङले हावा कसरी बग्छ र हावाको चालसँगै वस्तुहरु कसरी चलायमान हुन्छन् भन्नेबारे अध्ययन गर्छ ।


ADVERTISEMENT

आमरुपमा यो विषय हवाइजहाजसँग मात्रै सम्बन्धित छ भन्ने बुझाइ छ । तर, हवाइजहाज मात्रै नभएर गुड्ने रेसिङ कारदेखि तैरिने पानी जहाज र उड्ने रकेट वा स्याटेलाइट आदिको अध्ययन यसअन्तर्गतको अनुसन्धानमा पर्छ ।

कार्यक्षेत्र
एरोस्पेस इन्जिनियरले आफूलाई अनुसन्धानको फिल्डमा बढी खटाउनुपर्ने हुन्छ । खासगरी नेपालको सन्दर्भमा एयरपोर्टको फिल्डमा रिसर्च गर्न सकिन्छ । हामीकहाँ यो क्षेत्रमा धेरै कुराहरु रिसर्च गर्नुपर्ने आवश्यक छ र त्यसखालको जनशक्तिको ठूलो खाँचोसमेत छ ।

हवाइजहाजको स्ट्रक्चर, त्यसमा प्रयोग हुने सरसामग्री आदिको अध्ययन, इन्जिनबारे अनुसन्धान, एयर ट्राफिक कन्ट्रोल, एयरक्राफ्टभित्रको कम्युनिकेसन सिस्टम, नेभिगेसन सिस्टम, मेन्टिनेन्स आदिमा काम गर्न सकिन्छ । यसले सामान्यजस्ता लाग्ने मोबाइलमा प्रयोग हुने सिसा (गोरिल्ला ग्लास) देखि बायोमेडिकलसम्म वा हाम्रो शरीरमा मस्तिष्कको गतिविधिदेखि अन्तरिक्षमा रकेट प्रक्षेपणसम्म अध्ययन गर्दछ ।

यो क्षेत्रका जनशक्ति नेपालभन्दा विदेशमा बढी माग हुने गरेको छ । विदेशमा धेरै फिल्डमा काम पाउने सम्भावना रहन्छ ।

एरोस्पेस राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय पनि हो । त्यसैले नासामा प्रायः विदेशीलाई काम दिइँदैन । तर हाम्रो स्याटेलाइट विदेशीले नै परिचालन गरिरहेका छन् । त्यसले गर्दा हाम्रा कैयौँ राष्ट्रिय गोपनीयता उनीहरुको हातमा पुग्ने गरेको छ ।

राष्ट्रको आवश्यकता
नेपालजस्तो विकासोन्मुख देशका लागि एरोस्पेससँग सम्बन्धित जनशक्तिको ठूलो खाँचो छ । हामीले विकसित देशको जस्तै नयाँ टेक्नोलोजी बनाउन नसके पनि उनीहरुको टेक्नोलोजीलाई बुझ्न सक्यौँ भने मात्रै पनि धेरै प्रभावकारी हुनेछ । कुनै संस्थालाई मात्रै नभएर राष्ट्रकै भविष्यका लागि यो विषय महत्वपूर्ण छ । 

नेपालले आफ्नो स्याटेलाइट बनाउन सक्यो भनेमात्रै पनि हाम्रो राष्ट्रिय सुरक्षा कायम रहन्छ । अहिले हाम्रो आन्तरिक डाटाहरु विदेशीले पाउने गरेका छन् । स्याटेलाइटको माध्यमबाट यसको कन्ट्रोल छिमेकी देशहरुले गरेका छन् ।

हामीकहाँ एयरक्राफ्टसम्बन्धी कुनै काम गर्नुप¥यो भने विदेशबाट जनशक्ति ल्याएर गराउनुपर्ने बाध्यता छ । यो फिल्डमा देशभित्रको जनशक्ति अत्यन्तै कम छन् । यस कारण कैयौँ झन्झट व्यहोर्नुपर्ने बाध्यताका साथै लागत पनि बढी पर्न जाने समस्या छ । यदि देशभित्रै यस्तो जनशक्ति पर्याप्त उत्पादन हुने हो भने हवाइ यातायातको विकासमा हामीलाई धेरै मद्दत पुग्ने थियो ।

अध्ययन
नेपालमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा एरोस्पेस इन्जिनियरिङको अध्ययन हुन्छ । गत वर्षदेखि अध्यापन सुरु भएको यस विषयमा प्रथम र दोश्रो वर्षगरी ९६ जना विद्यार्थीले यस विषयमा अध्ययन गरिरहेका छन् । तीमध्ये २४ जना पूर्ण छात्रवृत्तिमा अध्ययनरत छन् । 

अन्य देशको तुलनामा पुल्चोक क्याम्पसमा एरोस्पेस इन्जिनियरिङको पढाइ सस्तो छ । यहाँ करिब छ लाख रुपैयाँमा पढ्न सकिन्छ । जब कि विदेशमा ४०–५० लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । यो विषय अध्यापनका लागि पुल्चोक क्याम्पसमा अहिले चार जना उपप्राध्यापकहरु मेकानिकल डिपार्टमेन्टअन्तर्गत कार्यरत छौं । 

यसअघि देशभित्र यो विषय नभएकाले जनशक्ति यो फिल्डमा छैनन् । उपर्युक्त चारै शिक्षकहरुले पनि देश बाहिरबाटै पढेर आएका हुन् ।

पहिलो वर्षमा इन्जिनियरिङका अन्य फिल्डमा अध्यापन हुने कोर्ष नै यसमा पनि अध्यापन हुन्छ । त्यसकारण क्याम्पसमा कायम जनशक्ति हालका लागि पर्याप्त छ । तर, दोस्रो वर्षदेखि अन्य इन्जिनियरिङ फिल्डभन्दा विषय फरक पर्दै जाने र चौँथो वर्षमा कोर्सको ‘स्पेसियलाइजेसन’ हुने भएकाले यसमा थप जनशक्ति आवश्यक हुन्छ । 

अहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसले नेपाल वायुसेवा निगम र नेपाली सेनासँग समन्वय गरेर प्रयोगशाला ल्याब सञ्चालन गरिरहेको छ । 
क्याम्पसका लागि इन्जिनियरिङ क्षेत्रमा काम आउने २५ थान स्पेशल कम्प्युटर खरिद गरिएको छ भने एरो डाइनामिक सल्याबका लागि विन्ड टनेल उपलब्ध छ । त्यसैले तत्कालका लागि ल्याबको खासै समस्या छैन ।
 



उप-प्राध्यापक

इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस  

Your Comments