कोरोना महामारीमा इन्जिनियरको परिचालन

कोरोना महामारीमा इन्जिनियरको परिचालन



engineersnepal.com

सांकेतिक तस्वीर


बढ्दो महामारीसँगै अक्सिजन र बेडको अभावको कारण हाम्रै आँखा अगाडि थुप्रैले छटपटिएर अकालमै ज्यान गुमाइरहनुपरेको छ । यस्तो देख्दा प्रविधिको प्रयोगमार्फत दैनिक जीवनका सामान्य र जटिल समस्याहरूको समाधान गर्न अभ्यास गर्ने प्राविधिक जनशक्तिहरू अझ बढी मर्माहत भएको अनुभव गरिरहेका छौँ ।

समस्या त धेरै नै होलान् तर देश यसरी रोइरहेको बेला प्राविधिक इन्जिनियरहरूसँग भएको ज्ञान, सीप, दक्षता र क्षमताको प्रयोग गर्दै हामी पनि देशलाई सहयोग गर्न अग्रसर हुन सक्ने विकल्प अझै बाँकी छ ।


ADVERTISEMENT

बढ्दो कोभिड महामारीसँगै उपलब्ध अस्पतालहरू पर्याप्त नभएको दिनहुँजसो समाचारहरू आइरहेका छन् । भएका अस्पतालमा पनि बेडको अभाव छ । देशभरि अक्सिजनको अभाव त कहीं सिलिन्डरको अभाव । अक्सिजनको अपुग उत्पादन र व्यबस्थित भण्डारण नहुँदा अस्पतालमा अक्सिजनको मागलाई पूरा गर्न नसकिरहेको यथार्थ छ ।

पर्याप्त सिलिन्डर उपलब्ध नहुँदा उत्पादित अक्सिजन पनि चाँडै अस्पतालसम्म पु¥याउन नसकिएको अवस्था छ । यस्तो अवस्थामा मतृकको सङ्ख्या बढिरहेको र अझै बढ्ने देखिन्छ । यस्तो अवस्थालाई सबै तह र क्षेत्रका जनशक्तिहरू मिलेर समाधानको बाटो खोज्न नसके समस्याले झन् विकराल रूप लिन सक्नेछ ।

इन्जिनियरिङ समुदायको भूमिका
कुनै पनि महामारीसँग लड्न पहिले त्यसका समस्याहरू के के हुन खुट्याउनुपर्छ । यो महामारीसँग जोडिएका औषधिको समस्या कसैले भन्नु परेन योबाहेक पनि विभिन्न समस्या छन् ।

विरामीको चापअनुसार कम अस्पताल, बेडहरूको अभाव, कम अक्सिजन उत्पादन, उत्पादिन अक्सिजनको भण्डारण र वितरणमा समस्या, भएका उपकरणको सञ्चालन र मर्मत नहुनु सञ्चालनका लागि आवश्यक जनशक्तिको अभाव हालको महामारीको मुख्य समस्याहरू हुन् ।

यसको समाधानका लागि इन्जिनियरिङ समदुायसँग भएको ज्ञान, सीप, दक्षता र क्षमताको प्रयोग गरी राज्यले यो कोरोनाविरुद्धको लडाइँमा आफ्नो उपस्थितिलाई अब्बल बनाउन सक्छ । यस महामारीविरुद्धको लडाइँमा विज्ञहरूलाई सहभागी गराउन सरकारले पनि तत्परता देखाउनुपर्छ ।

उनीहरूबाट आवश्यक सल्लाह सुझाब लिने वातावरण सरकारले निर्माण गर्नुपर्छ । यस सन्दर्भमा सरकारले इन्जिनियरिङ क्षेत्र र विषयसँग सम्बन्धित जनशक्तिलाई इमर्जेन्सी अस्पतालको निर्माण र सञ्चालन, अक्सिजन प्लान्ट स्थापना, सञ्चालन र मर्मत, अक्सिजनको भण्डारण, वितरण, आपूर्ति साङ्लो व्यवस्थापनमा सहयोग लिन सक्छ । तर यसका लागि सम्बन्धित निकाय, संस्था र सङ्गठनहरूले सरकारसँग समन्वय गरेर विभिन्न इन्जिनियरिङ क्याम्पसहरू र अन्य संस्थाका ल्याब र उपकरण प्रयोग गर्दै यी जनशक्तिको परिचालन गर्न सक्छ । यसबारे सरकारले संवेदनशील भएर अग्रसरता लिनु आवश्यक देखिन्छ । यसबेला वायोमेडिकल इञ्जिनियर तथा इन्जिनियरिङका अन्य विज्ञले वायोमेडिकल उपकरणको स्थापना, सञ्चालन र मर्मतजस्ता कार्यमा सहभागी भएर सहयोग गर्न सक्छन् ।

अक्सिजन प्लान्टको स्थापना, सञ्चालन, मर्मत कार्यमा मेकानिकल, औद्योगिक, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकललगायतका इन्जिनियरहरूले आवश्यक भूमिका खेल्न सक्छन् । अस्थायी अस्पतालको निर्माणका लागि सिभिल इन्जिनियहरूले सहयोग पु¥याउन सक्छन् ।

उत्पादित अक्सिजनको भण्डारण र वितरणमा देखा परेका सिलिन्डरको अभावजस्ता समस्याहरूलाई सम्बोधन गर्न मेकानिकल इन्जिनियरहरूले अक्सिजन सिलिन्डर जस्तै अन्य भण्डारण र सञ्चालन उपकरणको डिजाइनजस्ता कार्यहरूमा सहयोग गर्न सक्छन् ।

खासगरी औद्योगिक इन्जिनियरहरूले उपलब्ध स्वास्थ्य क्षेत्रका संरचना, स्रोत र साधनहरू जस्तै अस्पताल, बेड, ठाउँ, औषधि र अन्य मेसिन तथा उपकरण, स्वास्थ्य जनशक्ति, आर्थिक स्रोत आदि जस्ता सीमित स्रोत साधनलाई उच्चतम प्रयोग गर्दै प्रविधिको प्रयोगमार्फत उपलब्ध स्रोत साधनको प्रभावकारी परिचालन गरी स्वास्थ्य सेवालाई अधिकतम सेवा दिन सक्छन् ।

उपलब्ध अक्सिजन प्लान्टहरूको प्रभावकारिता सुधारमा सहयोग गर्न सक्छन् । यस्तैगरी विभिन्न तथ्याङ्कहरूसँग सम्बन्धित डाटा विश्लेषण, प्रेसेसिङ इस्टिमेसन, प्रक्षेपण आदि जस्ता कार्यहरू औद्योगिक इन्जिनियरहरू मार्फत गराउन सकिन्छ, जसले कार्ययोजना बनाएर स्रोतसाधनको प्रभावकारी परिचालन गर्न ठूलो सहयोग पग्ुनसक्छ । भएका अस्पतालको सीमित ठाउँलाई स्पेस युटिलाइजेसन प्रिन्सिपल प्रयोग गरी अधिकतम प्रयोग गर्न सक्ने समाधान निकाल्न सक्छन् ।

अक्सिजन उत्पादन गर्ने प्लान्टका कार्यहरूमा ठूलो भूमिका खेल्न सक्छन् । अक्सिजनको उत्पादन, भण्डारण, वितरण प्रणाली र आपूर्ति साङ्लो व्यवस्थापनजस्ता क्षेत्रमा महŒवपूर्ण भूमिका खेल्न सक्छन् । त्यस्तैगरी कार्यक्षेत्रको स्वास्थ्य र सुरक्षासँग सम्बन्धित समस्याहरूको न्यूनीकरण र समाधान गर्न पनि यी जनशक्तिहरूको अहं भूमिका रहन्छ ।

विभिन्न अस्पतालमा जडित सफ्टवेयर, नेटवर्किङ र सम्बन्धित अन्य क्षेत्रका समस्या समाधानका लागि कम्प्युटर र इलेक्ट्रोनिक्ससँग सम्बन्धित इन्जिनियरहरू परिचालन गरेर कसरी सहज ढङ्गले प्रभावकारी सेवा उपलब्ध गराउन सकिन्छ भनेर हिसाब गर्न सकिन्छ ।

अहिले के गर्ने ?

हाल विभिन्न विश्वविद्यालय अन्तर्गतका विभिन्न प्रयोगशालामा वर्कसप, मेसिन, इक्वीपमेन्टस प्रयोग विहीन अवस्थामा छन् । त्यस्तै निजी क्षेत्रका वर्कसपहरूमा पनि यस्ता सामग्रीहरू छन् । तिनलाई यसबेला ‘फेब्रिकेसन’ का लागि प्रयोग गर्न सकिन्छ ।

यसमा एक अस्पतालमा भएका प्लान्टहरूको मर्मत गरी पुनः सञ्चालन गर्ने, त्यसमा भइरहेका जनशक्तिलाई तत्काल छोटो तालिम दिएर नयाँ प्रकारले सञ्चालन गर्न सकिन्छ । आवश्यक्ताको आधारमा नयाँ जनशक्ति पनि प्रयोग गर्ने, वर्कसपबाटै बेडहरू बनाएर अस्पतालमा बेडको अभाव कम गर्ने, निर्माणको लागि बेड र अन्य मेटल फेब्रिकेसन गरेर नयाँ अस्पतालहरू निर्माण गर्न सकिन्छ ।

हाल उपलब्ध सीमित स्रोत साधानलाई परिचालन गरी अक्सिजन उत्पादनको उपलब्धता बढाउन इन्डस्ट्रियल इन्जिनियरहरूबाट सल्लाह लिएर सप्लाइ चेन (साङ्लो) को व्यवस्थापन गर्न सकिन्छ । अक्सिजन सिलिन्डरको अभाव समाधान गर्न प्रयोग विहीन भएका ल्याव, उपकरण र जनशक्तिलाई प्रयोग गरी भण्डारण र व्यवस्थापनका विकल्पहरू पत्ता लगाउन सकिन्छ । राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय गरी अध्ययन अनुसन्धान कार्य अगाडि बढाउन सकिन्छ ।

संस्थागत पहलको खाँचो
राज्यले यो महामारी नियन्त्रणमा इन्जिनियरिङ क्षेत्रका प्राविधिक जनशक्ति परिचालनमा चासो नदेखाउनु दुःखद छ । त्यसमा संस्थागत पहल कदमीको अभाव पनि देखिन्छ । सरकारले पेसागत हकहितका लागि काम गरिरहेका संस्थाहरूसँग सहकार्य र सुझावका लागि पहल गर्न आवश्यक छ ।

उदाहरणार्थ विभिन्न विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ क्षेत्रका शैक्षिक संस्था र तिनीहरू मातहत रहेका संस्थाहरू, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, विभिन्न सरकारी प्रयोगशाला, नेपाल इन्जिनियरिङ काउन्सिल, नेपाल इन्जिनियर एसोसियसन – यी सबैसँग सरकारले आवश्यक सल्लाह लिने र यी संस्थाहरूले पनि आवश्यक पहल कदमी लिए हालको महामारीमा ठूलो योगदान मिल्नेछ । गोरखापत्रबाट 

 



औद्योगिक इन्जिनियर

Your Comments